म महिला हुँ तर कमजोर छैन

म एक पत्रकारिता जगतमा लामो वर्षदेखि रमाइरहेकी महिला । राज्यको चौथो अङ्गको रूपमा रहेको ‘पत्रकारिता’ पेसा निकै जोखिमपूर्ण पेसा हो । ता पनि जोखिम मोल्दै र चुनौतीका चाङ्हरू हटाउँदै हिंडिरहेकी महिला हुँ । मलाई यसैमा आनन्द छ ।
त्यसमा पनि महिलाको सवालमा यो पेसा निकै चुनौतीपूर्ण नै छ । हाम्रो समाजमा महिलाहरूले यो पेसा अपनाउन निकैै ठूलो हिम्मत गर्नु पर्दछ ।

घरपरिवार र समाजलाई सम्झाउदै हरेक पाइला पाइलामा देखिने जोखिम मोल्दै हिंडिरहेकी छु ।
पुरुषहरूको निम्ति यो पेसा जति जोखिमपूर्ण छ महिलाको निम्ति त्यति नै खतरनाक र कठिन छ । त्यसमा पनि सामाज, संस्कार र कु–संस्कृतिको चपेटोमा जेलिएका नेपाली समाजका महिलाहरूलाई यो पेसा फलामे गेट तोड्नु बराबरको कठिन छ ।
हुन त केही महिलाहरूले हिम्मत गरेर आफू पनि पुरुषसरह नै काम गर्न सक्छु भन्ने विश्वासका साथ फलामे गेटलाई तोडेर पकारिताको प्रवाहमा हेलिएका छन् ।

सङ्कुचित सोच भएका व्यक्तिहरूका आरोपहरू जस्तै महिला हो, ऊ कमजोर हुन्छ, उसले केही गर्न सक्दैन भन्ने कुरालाई चिरफार पार्न पनि सफल भएका छन् । ।
छोरी भएर जन्मिए निकै होइन औधी खुसी छु । आँटेको र सोचेको काम पूरा गर्न सक्छु । जीवनमा आई परेका समस्या सजिलै पार गर्न सक्छु ।  यस्तो मैले सोच्छु ।
तर विडम्बना, छोरी भएर जन्मिस, धेरै दुःख पाउने भइस, अर्कोको घरमा जानु पर्छ, उनीहरूले जे भन्यो त्यो मान्नु पर्छ, चर्को स्वरले बोल्नु हुन्न , छोटो कपडा लाउनु हुन्न, बस्दा खेरी उप्पर खुट्टी लगाएर बस्नु हुन्न, घरको काम बाहेक अरू काम गर्नु हुन्न यो चाहिं समाजका ठूला बडा मान्छेको उपदेशमूलक भनाइ ।

अहँ, यो त म मान्दै मान्दिन । छोरी घरको गहना हाे, छोरीले घरलाई मन्दिर बनाई दिन्छे, बुहारीले घरलाई स्वर्ग बनाई दिन्छे । अब तपाई आफै भन्नु होस् त महिला कहाँनेर कमजोर छन् ?
म सृष्टिको सिर्जनामा महिला त्यसपछि भने कसैकी छोरी, श्रीमती, बुहारी, नातिनी, आमा, दिदी बहिनी, माइजू, भाउजू, काकी, फुपू, सानिमा, भदैनी, छिमेकी, साथी, सासू आदि । साथै म एक सामाजिक प्राणी महिला, म मा ज्ञान, बुद्धि, चेतना र विवेक छ त्यसैले म अरू भन्दा भिन्न छु । जति समय बाँच्छु यी सम्पूर्ण सम्बन्धहरूलाई निभाउदै यसैभित्र रमाउँछु ।
अब मैले यति भनिरहँदा दाहोराउनु पर्दैन होला, तपाईहरूले थाहा पाउनु भयो म हुँ एक दृढ सङ्कल्प र अठोट बेकेकी महिला ।
अब अर्को कुरा थाहा पाउनुहोस् मेरो समाजको अगाडि मैले छोटा लुगा लगाए नक्कली÷उत्ताउली हुन्छु, २÷४ जना केटा साथीसँग हाँसे,बोंले र हिंडडुल गरे म बेश्या हुन्छु, म धेरै बोले फ्याउरी हुन्छु, बोल्दै नबोले घुसघुसे हुन्छु , श्रीमान्ले अलिकति फोहोर लुगा लगाए म अल्छि बन्न पुग्छु । दिनभरि काम गरेर राति ढिला घर आए छाडा हुन्छु । राति ढिला सुतेर बिहान ढिला उठें म ठग वा लबस्तरी हुन्छु । अब केही कुरा जानेर अघि बढ्न खोजे कति जान्ने भएकी भन्छन् । चिन्नु भो नि हो म त्यही महिला हो अलि मिठो मसिनो खान खोजे सहरियाको संज्ञा पाउँछु ।
यो सब मेरो समाजले मलाई दिएको एक उपहार हो , जसलाई मैले माया, ममता र सद्भाव सम्झी हासी, खुसी स्वीकार गर्छु । किन कि म एक महिला हुँ । तर आश्चर्यको कुरा तपाईले अझै पनि मलाई चिन्नु भएको छैन । अझ भनौं चिनेर पनि नचिने जस्तो गरिरहनु भएको छ । तर केही छैन म कति पनि हडबडाउदिन मसँग म महिला हुँ , म नारी हुँ भनेर प्रमाणित गर्ने धेरै आधारहरू छन् । बस तपाईले आफ्नो बौद्धिकताले मनन गरिदिनुहोस् । अनि थाहा पाई हाल्नुहुन्छ ।
एक दिनको कुरा हो म घरदेखि अफिस जानको लागि निस्किएकी थिएं । अचानक बाटोमा एउटा बाइकसँग एउटा साइकल ठोकिन पुग्छ । साइकलमा करिब १२ वर्ष उमेरको बालक सवार थिए । उनको आमाले भने छोराको स्कूल झोला समाएर हिंडिरहेकी थिइन् । छोरा लड्यो हात खुट्टामा चोट लाग्यो । दुबैजना आत्तिएर, हडबढाउन लागे । र ती महिलाले भनिन् नानु त्यो अगाडि जाने अंकललाई बोलाई दिनू न । मैले पनि हुन्छ भनेर ४० मिटर पर भएको त्यो अंकललाई बोलाएं । त्यो अंकल उहाँको श्रीमान् हुनुहुँदा रहेछ । अचम्म त यो लाग्यो कि ती महिलाले आफ्नो श्रीमान्लाई बोलाउन कुनै साइनो नै पाइनछिन् र पो मलाई बोलाउन लगाएकी ।
अनि म झस्किए, यो के अचम्म हो । श्रीमतीले आफ्नो श्रीमानलाई सम्बोधन गर्ने कुनै शब्द छैन ? हामी त ठूला–ठूला भाषण गदैं हिंड्छौं त । २१औं शताब्दीमा छौं , महिला पुरुष समान हो,हक, अधिकार बराबर छ । खोई कहाँ छ त ? आज म आफ्नै अगाडि यस्तो अच्चम देख्दैछु ।
हुन त लोग्नेलाई पति , श्रीमान , पोइ भनिन्छ यसका अलावा ए हजुर, रामेका बा ,बुद्धिका बा राधिकाका बा, संगीताका बा जस्ता आधुनिक शब्दले पनि बोलाउने चलन छ । यो बाहेक उपयुक्त ढंगबाट श्रीमान्लाई बोलाउने शब्द नै छैन ।
अब तपाई आफै भन्नुहोस् न पर पुगेको छोरोलाई बोलाउन उसको नाम श्याम, हरि, विनोद, नानी , बाबु , भनेर बोलाइन्छ तर ४० मिटर पर पुगेको श्रीमान्लाई न त म ए श्रीमान, न ए पोई , ए न त ए हजुर न त उसको नाम भनेर बोलाउन सक्छु । यति धेरै शब्दबाट पनि एउटा उपयुक्त शब्द उसको लागि मैले प्रयोग गर्न पाउदिन भने म महिला हुँ कि हैन ? तपाई नै भन्नुहोस त ।
तपाईलाई मनमनै सोंच्दै हुनुहुन्छ होला, अहिलेको जमाना कहाँबाट कहाँ पुगिसक्यो यो भने सत्य युगको कुरा गर्छे । अब तपाई आफै भन्नुहोस् न मैले मेरो श्रीमान्को नाम उच्चाहरण गर्नु पाप हो भन्ने सामाजिक मानसिकताबाट हुर्किएको समाजमा म एकैचोटी ए श्याम , ए हरी , ए सीता जस्ता शब्दले श्रीमानलाई पुकार्न पनि त सक्दिन । यसो गरे भने फेरि भोलिदेखि नै गतिछाडा अर्थात लोग्ने टाढा स्वास्नी छाडा भन्ने नेपाली उखानको संज्ञा पाउँछु । र उखानको उदाहरण बन्न पुग्छु । अब त थाहा पाउनु भो नि म एक महिला हुँ भन्ने कुरा ।
म महिला हुन पाउनुमा निकै गर्व महशुस गर्छु । किन कि हाम्रो समाजमा धेरै महिलाहरू चुनौतीको सामना गरी सफल भएका ज्वलन्त उदाहरण बन्न सफल भएका छन् ।
हो त्यही समाजको एक अठोठ महिला हुँ म । फेरि कहिलेकाहिँ यसो सोंच्छु यो महिला हुनुको गर्वले तातो रापमा पिल्सि रहनु पर्दा र रापिएर कोइला हुनुपर्दा त महिला पहिचानबाटै उन्मुक्ति हुन मन लाग्छ ।
अनि फेरि सम्झन्छु, मलाई प्रकृतिले दिएको यो कोमल हृदय, नारीत्व, बच्चा सिर्जना गर्न सक्ने प्रकृतिक शक्ति , धैर्यता र सहनशीलताका यी अनगिन्ती अवशेषहरू ममा नभएका भए म महिला नभएर अरू केही हुन्थें होला । र म पनि त्यो सहनशक्ति भएर नै होला म एक नारी म एक महिला भएको । अनि सुन्न म बाँचेको धर्ती, मैले टेकेको धरातलबाटै म अझै पनि सिर्फ नारी , महिला नै भएर बाँच्न र जन्मन चाहान्छु । आज म भीरमा बाटो खोज्दै छु, विरुवाहरू उमार्दै छु, भिरालो ठाँउबाट सुन्दर र शान्त स्थान खेजिरहेकी छु । जहाँ बाट जहाँबाट म अघि बढ्ने अनगिन्ती सुझावहरू पाउन सकूँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार