नेपालमा पर्यटनको विकास

सरकारले यो वर्ष २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । जसको लागि संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालयले यो वर्ष एक सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न ७७ जिल्लाका एक सय स्थान पहिचान गरेको छ । देश भित्र रहेको प्रकृतिक, पुरातात्विक, ऐतिहासिक, संस्कृतिक र धार्मिक स्थलहरू विश्वकै एक पर्यटकीय भएकाले ती स्थलहरूमा पर्यटकहरू पु¥याउनका लागि पूर्वाधार हुनु पर्दछ । सकारले पूर्वाधार विकास गर्न बजेट समेत छुट्टाएको छ । पर्यटनको विकासको लागि यो राम्रो पक्ष हो ।
पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरू पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरू रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौं आयामहरू पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौं । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो संपदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरूको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ ।
नेपाल प्रकृतिको धनी छ । तराई, पहाड र हिमाली भूबनोटकै कारण पनि नेपाल संसारभर चर्चित भएको छ । त्यसमाथि सुन्दर भूबनोटका कारण यस देशलाई सुन्दर भूमिको राजधानी पनि भन्न सकिन्छ । त्यसै कारण यतिखेर हामी पर्यटन व्यवसाय वा पर्यटन उद्योगबाट मुलुकको विकास हुन्छ भन्ने कुरामा आशावादी भएका छौं । पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ र क्रमशः मुलुकको आर्थिक विकास हुन जान्छ । हाम्रो पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचार–प्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ । पर्यटन उद्योगमा लगानी गर्ने प्रमुख क्षेत्रमा सरकारी, निजी र वैदेशिक गरी विभाजन गर्न सकिन्छ ।
प्रचार–प्रसार एवं पूर्वाधारको विकास हुने हो भने काठमाडौं, लुम्बीनी वा पशुपति दर्शनलाई आएका पर्यटकहरूलाई मुलुकको अन्य पर्यटकीय क्षेत्र सगरमाथा आधार शिविर, रारा ताल वा तिलिचो ताल अवलोकनमा पनि पु¥याउन सकिन्छ । जसबाट उनीहरूको बसाइ एवं खर्चमा वृद्धि हुँदै जान्छ । ठूलो संख्यामा पर्यटकहरू मुलुकमा भित्रिँदा पर्यटन उद्योगमा लगानीको साथसाथै रोजगारी पनि बढ्दै जान्छ । परिणाम स्वरूप हाम्रो पर्यटन क्षेत्रले हामीलाई रोजगारको साथसाथै आय आर्जनमा समेत राम्रो प्रतिफल दिन्छ । पर्यटनबाट लाखौं मानिसहरूलाई रोजगारी पनि प्राप्त हुन्छ । त्यसले जनताको जीवन स्तरमा पनि ठूलो अन्तर पार्दछ ।
जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले फडको मार्दछ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस् वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरूमा रकम खर्च गर्नुपर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै देशको आर्थिक उन्नतिमा समेत सहयोग पुराउने गर्दछ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च विन्दुमा राख्नका लागि सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।
नेपाल भित्रिनी पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा पर्यटकको संख्यामा कमि देखिएको छ । जसले गर्दा पर्यटन व्यवसायीहरूको व्यवसाय समेत धरापमा पर्ने गरेको छ । प्राकृतिक विपतबाट हुने जोखिम रोक्न सरकारले पूर्व सुरक्षा अपनाउन नसक्दा पर्यटनहरूमा नकारात्मक प्रभाव पर्ने गर्दछ । त्यस्तै निजी व्यवसायीहरूबाट पर्यटक ठगिनु, विभिन्न व्यक्तिहरूबाट पर्यटकहरू लुटिनुले गर्दा पनि नेपालको पर्यटन क्षेत्र खस्कदै गएको छ । यस्ता समस्यालाई सरकारले कडाइ गर्न सकेमा मात्र पर्यटक संख्यामा वृद्धि हुन सक्छ ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरूको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवस्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ । सरकारले पर्यटन विकासमा लगानी नै गर्न सकेको छैन भन्दा पनि फरक नपर्ला ? किनकी हरेर वर्षमा नेपाली पर्यटकको सख्यालाई नियाल्ने हो भनेपनि खासै प्रगती हुन सकेको छैन ।
प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’, ‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र सख्या बढाउने’ को अवधारणालाई रणनीतिक अभियानकै रूपमा लैजान जरुरी भएको छ । दुर्गम जिल्लामा हवाई सेवाको पहुँच विस्तार गर्नु पर्दछ । पर्यटनको विकास गर्दा केही उच्च हिमशिखर, धार्मिक वा ऐतिहासिक महत्वको स्थानहरू वा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानहरूलाई नै महत्व दिने गरिएको छ । तर पर्यटनको विकासका सन्दर्भमा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यो हो ग्रामीण पर्यटन । यो पक्षलाई विकास गर्न प्रयत्न गरियो भने त्यसले पर्यटनको विकासमा एउटा नयाँ आयाम थप्ने छ । अर्को शब्दमा त्यसले पर्यटनको विकासमा गुणात्मक फड्को नै ल्याउने छ । त्यसबारे देशका पिछडिएका क्षेत्रहरूको विकासमा धेरै मद्धत पुग्नुका साथै जनसाधारणलाई पनि प्रत्यक्ष रूपले धेरै लाभ पुग्नेछ ।
होमस्टेको अवधारणले ग्रामीण क्षेत्रमा पुगेका पर्यटकहरूलाई बसोबासलगायत स्थानीय कलासंस्कृति, रीतिरिवाज तथा परम्परा र रहनसहनको उत्कृष्ठ अनुभव हासिल गर्नसमेत सहज हुने छ । त्यस्तै पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण क्षेत्रमा पु¥याउन, ग्रामीण क्षेत्रका जनतालाई पर्यटन सेवामा सहभागी गराउन, स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्न यसले धेरै सहयोग पुग्ने छ । नेपालको पहिलो पर्यटन गाउँ हो सिरुबारी । यतिखेर नेपालका धेरै जिल्लामा होमस्टे सञ्चालनमा आएका छन् । अर्को तर्फ नेपालीहरूमा पनि घुमफिर गर्ने बानीको विकास भएको छ । यसलाई पर्यटनको विकासमा सकारात्मक पक्ष मान्न सकिन्छ ।
पर्यटक भन्नाले देशभित्र वा बाहिरबाट आउने मानिसहरूलाई नै बुझ्नु पर्दछ । तर त्यससित जोडिएको अर्को आन्तरिक पक्ष पनि छ । त्यो हो ग्रामीण विकास । ग्रामीण पर्यटन र ग्रामीण विकासको आपसमा घनिष्ट सम्बन्ध छ । एकातिर, ग्रामीण विकास नभइकन ग्रामीण पर्यटनको विकास हुन सक्दैन । अर्कोतिर, पर्यटनले ग्रामीण विकासमा मद्दत पु¥याउँछ । त्यसरी पर्यटनसित जोडिएपछि गाउँहरूको विकासको सम्भावना बढेर जान्छ । त्यसको अर्थ यो पनि हुन्छ, नेपालमा ग्रामीण पर्यटनको विकास हुनु भनेको गाउँहरूको पनि विकास हुँनु हो । त्यो अवस्थामा नेपालको केही प्रमुख शहरहरूमा केन्द्रित रहेको विकास गाउँहरूमा विस्तार हुनेछ ।
नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र भेटिएका छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि छ हजारभन्दा बढी छन् । देशभरि गरेको अध्ययनका क्रममा पाँच हजार ३ सय ५८ वटा ताल भेटिएका छन् । संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन् । सबैभन्दा बढी तालतलैया रहेका जिल्लामा हुम्ला, ताप्लेजुङ, कपिलवस्तु, सोलुखुम्बु, रूपन्देही, बाँके, धनुषा र डोल्पा हुन । अधिकांश ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल क्षेत्रलाई सिमसार क्षेत्रका रूपमा पनि चिन्ने गरिन्छ । नेपालका तालतलैयालाई एसियाका ‘वाटर टावर’ पनि भन्ने गरिन्छ । कतिपय हिमनदीका मुल तालबाट फुटेका छन् भने कतिपय हिमालबाट हिमताल बनेका छन् । तुलनात्मकरूपमा विश्वका अन्य महादेशमा पाइनेभन्दा नेपालका तालतलैया स्वच्छ पानीका मानिन्छन् ।
संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरूको कारणले यो १८औं शताब्दीमा विश्वचर्चित भयो । आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् । सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरू जोड्ने अत्याधुनिक रेलमार्गको विकास ग¥यो । त्यसपछि मानिसहरू त्यसबेला रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए । यसपछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरूको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।
चोभारको गल्छी काटेर पोखरीको रूपमा रहेको काठमाडौंलाई मानव बस्ती योग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रूपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । राजकीय भ्रमणबाहेक सन् १९५१ सम्म नेपाल आउन कुनै पनि सर्वसाधारण विदेशीहरूलाई अनुमति थिएन । सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरू ल्याउन पहिलोपटक अनुमति पाएका थिए । बोरिसलाई दिइएको यो अनुमतिसँगै संस्थागत रूपमा नेपालमा विदेशी पर्यटक ल्याउन शुरु गरिएको हो । सन् १९६० मा संसारमा १४ ओटा ८ हजारभन्दा माथिका हिमालहरू छन् र त्यसमध्ये ८ ओटा हिमालहरू नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्यको रूपमा संसारभर चिनिँदै आएको छ ।
सन् १९६० को दशकमा यूरोपेली देशहरूमा लागूपदार्थ ओसारपोसार र सेवनविरुद्धको कानूनहरू ल्याउने लहरै चल्यो तर नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो । यसबीच युद्धविरुद्ध मत जाहेर गर्ने यूरोपेली युवाहरू यूरोपका तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरूमा स्वतन्त्रपूर्वक गाँजा खान आउँथे । यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल÷गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रूपमा पनि चिनियो, हाल नेपाल पर्वतारोहणको केन्द्र भनेर नै चिनिन्छ ।
व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन सगठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गर्नेलाईनै पर्यटक भनिन्छ । नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो । पर्यटनले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्रमा आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउँदै आएको छ । नेपालमा विदेशी पर्यटकहरूको आवागमन शुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्व प्रथम वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना भएको थियो ।
जीवनलाई अनुभवहरूको संगालो पनि भनिन्छ । त्यसैले अनुभवहरूबाट आफ्ना अनुभूतिहरूलाई निखार्दै अगाडि बढ्नका लागि भ्रमण अत्यन्तै महत्वपूर्ण हुनुपर्दछ । अझ आफ्नो मन मिल्ने साथीहरू तथा घरपरिवारका सदस्यहरूसँग गरिएको भ्रमणबाट भने धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन ।
जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरूलाई अरूसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउँदछ । भ्रमणलाई मनोरञ्जनका रूपमा मात्रै लिइनु हुँदैन । कुनै पनि नयाँ नयाँ स्थानहरूमा पुग्नासाथ आफूलाई रुची लागेको क्षेत्रहरूका बारेमा कुनै पनि ऐतिहासिक वा पुरातात्विक महत्वका क्षेत्रहरूका सन्दर्भमा जानकारी लिने र त्यसका बारेमा टिपोटहरू तयार गर्नका लगि समय दिनु पर्दछ । यसरी तयार गरिएका टिपोटहरूबाट यात्रा संस्मरण वा नियात्रा लेख्न पनि सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार