दुई महामानवको स्मरणमा

नेपाल राष्ट्रलाई विश्वको मानचित्रमा सगर्व परिचय दिने नेपाल राष्ट्रका राष्ट्र निर्माता श्री ५ पृृथ्वीनारायण शाह हुन् । उनीबाट थालनी भएको एकीकरण अभियानको सफलताले विश्वमानचित्रमा प्रतिस्थापन गर्न खेलेको भूमिकाकै फलस्वरूप यो देश नेपालको रूपमा परिचित छ । अहिले यो राष्ट्रले आफ्नो राजनीतिक र प्राकृतिक दुवै मानचित्रमा विभिन्न विशेषतायुक्त स्थान बनाएको छ । अनेकौं विशेषतामध्ये यो क्षेत्रको विशेषतामा श्री ५ पृथ्वीनारायण शाहको जन्म हुनु र २० वर्षको कलिलो उमेरमा राजगद्धी आरोहण गरेर राष्ट्रिय एकीकरण अभियानको सक्रिय र सफल नेतृत्व गर्नु एवम् विशाल नेपालको परिकल्पनालाई साकार रूप दिनु प्रमुख युगान्तकारी र अविस्मरणीय घटना हो ।
राजनीतिक इच्छाशक्ति, नेतृत्व दिन सक्ने क्षमता तथा कुशल रणनीतिज्ञ श्री ५ पृथ्वीनारायण शाहलाई सबै चेतन अचेतन प्राणीको स्वतन्त्र अस्तित्वको रक्षा गर्न सक्षम मानिएको छ । उनको गतिशीलता र सफलतामा गोरखनाथ बाबा जस्ता सिद्धयोगीहरूको योगबलको प्रभाव रहेको कुरा अनेकौं किवदन्ती र इतिहासले प्रमाणित गरेको छ । माननीय गुणवत्ताको र आनुवांशिक विशेषताको यथास्थान, यथासंस्कारको रक्षा गर्न समेत उनी जीवनपर्यन्त उद्धत रहे । कर्म राजनीतिज्ञ र अद्धैत वेदान्ति कर्मयोगीका रूपमा पनि पृथ्वी नारायण शाहलाई स्मरण गरिन्छ । उनका सबै कार्यमा सफलता प्राप्त हुनुमा योगबल, धर्म बल र जनबलको सम्मिश्रणले ठूलो सहयोग प्रदान गरेका छन् । पृथ्वीनारायण शाहले एकीकरण गरेका र आफूले आर्जेका देशलाई सगर्व आफ्नो देश नभनेर सबै जातजातिको साझा भूमिको रूपमा चार वर्ण ३६ जातको फूलबारी हो भनेर आफ्नो महानताको परिचय दिए ।
उद्गार आजका लागि मात्र हैन सुदूर भविष्यसम्मका लागि पनि उत्तिकै सान्दर्भिक रहनेछन् । नेपालको, आर्थिक नीतिका बारेमा व्यक्त उद्गारमा भन्नु भन्छन्—‘आफ्नो देशका कपडा बुन्न जान्नेलाई नमुना देखाएर सिकाउनु र बुन्न लगाउनु ।’ ‘खानी भएका ठाउँमा गाउँ भए त्यसलाई अरू ठाउँमा सारेर भए पनि त्यहाँ खानी चलाउनु’ जस्ता अनेकौ महान विचार व्यक्त गरेका छन् ।
यसैगरी कुटनीति, पर्यटन, परराष्ट्र, सामाजिक र सीमा सम्बन्धित उद्गारहरूलाई थोरै मात्र भए पनि हामीले प्रयोग गर्ने बानी बसाल्न सकेको खण्डमा राष्ट्रिय भावनाले परिपोषित योजनाहरू कार्यान्वयन भएर देश आर्थिक विकासको बाटोमा अगाडि बढ्ने थियो । दुर्भाग्य आजसम्म पनि हामीममा त्यस्तो राष्ट्रवादी चेत पलाउन सकेन । यस घरामा यस्तै धेरै सपूतहरूको जन्म होस, कामना गरौं ।
यसैगरी राजवंशमा नै जन्मेर राजतन्त्रकै शितल र विशिष्ट गुणयुक्त छहारीमा हुर्केर युवराजको पदवी धारणा गरिसकेका एक परिपक्व महामानव यो देशको विशेषतामा विश्व शान्ति र अहिंसाका अग्रदूतका रूपमा परिचित छन् । लोककै कल्याणका लागी राजगद्धी र जीवनले उपभोग गर्न पाउने सम्पूर्ण राजर्षी सुखसयललाई परित्याग गर्ने अर्का अद्वितीय महामानव आज भगवानको रूपमा संसारभर पुजित गौतम बुद्ध हुन् ।
उनी पनि पूर्वीय राज परम्परामा अवतरण भएको कुरा विश्व इतिहासमा स्वर्णाक्षरित छ । महात्मा भगवान बुद्धबाट प्रतिपादित धर्म दर्शनले विश्वको कल्याण गर्दै मानव मात्रलाई शान्ति प्रदान गर्दै आएको छ । बुद्ध धर्म र दर्शनले जुन मार्गको निर्देश गरेको छ, त्यो धर्मका विशेषता र त्यो विशेषता अनुकरण गर्ने मार्गको महिमाका करीब २६०० वर्षयता जति गुण गान गरियो अब संसारमा मानव सृष्टिको क्रम रहिरहँदासम्म त्यो धर्मको विशेषता र महिमाको झन् पछि झन् आवश्यकताबोध हुँदै जाने निश्चित नै छ ।
यसरी एउटै क्षेत्रबाट उदाएका यी महामानवले प्रतिपादित गरेका जीवनशैली र पद्धतिका विशेषताले यो राष्ट्रलाई युगौं युगसम्म किर्तिमान कायम राख्ने ऊर्जा प्रदान गरेको छ र गरिरहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार