महिला सशक्तिकरण र महिला अधिकार

मानव सभ्यताको सुरुवातसँगसँगै समाजको जन्म भएको पाइन्छ । मानव सभ्यता र सामाजिक संस्कारको विकास एक आपसमा हातेमालो युग हुँदै समाज आज औंलाको टुप्पोमा सारा विश्व ब्रमाण्ड हेर्न र देख्न सकिने भएको छ । समाजको यो अद्भूत परिवर्तन आशातीत थिए वा थिएनन् । यी विषय आफ्नै ठाउँमा छन् तर समाजको यी अद्वितीय परिवर्तनका कारकहरू को को हुन? के साच्चै यी सबै परिवर्तन मानिसभित्रको पुरुष संस्कार पुरुषजीवीहरूले मात्रै गरेका हुन या विश्वको आधा जनसंख्या भन्दा बढी जनसंख्या रहेको महिला समुदायको पनि कुनै भूमिका छ ? यदि छ भने ति महिला समुदायको क्षमता विकासको दायित्व कसको हो ? यी विषय जति सुन्दा सरल लाग्छ त्यति गम्भिर र संवेदनशील छन् ।
हरेक मानिसको जन्म एक महिला रूपी आमाबाट हुन्छ र मात्र उसले यस धर्तीमा अस्तित्व बोध गर्छ । विश्वका हरेक राज्य माथि आफ्ना साम्राज्यवाद जमाउने, इतिहास लेख्ने इतिहासकारको जन्म दिने विश्वको भाग्य कोर्न महामानवहरूको जन्म दिने नै एक महिलाबाट हुन्छ भने के विश्वको यो अद्भुत परिवर्तन पुरुषले मात्रै गरेका हुन् भनेर भन्न कति सही हुन सक्छ । विश्व समुदायमा मार्गेट थ्याचर, एन्जिला मार्केट, जुनको ताइवा, विद्यादेवी भण्डारी, सुशीला कार्की, सपना मल्ल प्रधान, अनुराधा कोइराला, पुष्पा बस्नेत जस्ता युगान्तकारी महिलाहरूको भूमिका के हो त ? यी र यस्तै अदृश्य महिलाहरू मानव सभ्यताको शुरुवातसँगै बेलायती बौद्धिक क्रान्ति, पुनःजागरण काल, अमेरिकी स्वतन्त्रता संग्राम, अक्टोवर क्रान्ति, भारतीय स्वतन्त्रता संग्रामदेखि नेपाल अंग्रेज युद्धको समय र त्यसपछि नेपालको २००७ सालदेखि २०६२÷०६३सम्मका विभिन्न आन्दोलन र वर्तमान परिवेशसम्ममा महिलाहरूको सक्रिय उत्साहपूर्वक र नेतृत्वदायी भूमिकालाई कसरी लिने ? विश्वको हरेक परिवर्तनमा महिलाको भूमिका छ, थियो र हुनेछ । कथित पुरुष वादी चिन्तन र सोंचबाट मुक्त भई संसारका हरेक परिवर्तनका कारणहरू पुरुष र महिला दुबै हुन् भन्ने तथ्य आज स्वयम इतिहासले प्रमाणित गरेको छ ।
विश्व समुदायको कुरा गरांै या नेपालकै सन्दर्भमा कुरा गर्दा परिवर्तनकारी महिला समुदायको अवस्था कस्तो छ ? यो विषय आजको आधुनिक संसारको मुख्य चासोको विषय बनेको छ । विश्व समुदायको पहिलो महिला सरकार प्रमुख राष्ट्रदेखि एक आम महिलाको भूमिका किन अझैपनि इतिहासकार बीच ओझेलमा परेको छ ? विश्व मञ्चमा केही देशहरूले यो विषयलाई मनन् र आत्मसात गरी आफ्नो संविधान, ऐन, र कानुनहरूमा महिलाको अधिकार सुनिश्चित गरेको पाइन्छ । विश्वको इतिहासमा सन् १८९३ नोभेम्बरमा न्यूजील्याण्डका महिलाहरूले पहिलोपटक मतदानको अधिकार प्रयोग गरेका थिए भने हालसम्म पनि भेटिकन सिटीमा महिलाहरू मतदानको अधिकारबाट बञ्चित छन् । नेपालको सन्दर्भमा पहिलो आम चुनाव २०१५ बाट नै महिलालाई मताधिकार प्राप्ति भएको थियो । नेपालमा महिलाहरू हाल राष्ट्रको प्रमुख पद र न्यायापालिकाको सर्वोच्च पदमा पदासिन भै सकेका छन् ।
विश्वमा भएका अनगिन्ती परिवर्तनहरू मानवअधिकारको दस्ताबेज विभिन्न महिला सम्मेलनको अथक प्रयासहरूबाट हिजोआज महिला अधिकार, महिला सशक्तीकरणको विषयले उचित स्थान पाउन थालेका छन् । नेपालको वर्तमान संविधानको प्रस्तावना मा नै लैंगिक विभेदको विषय अन्त्य गरिने उल्लेख छ भने संविधानको धारा १२ ले आमा वा बुबाको नामबाट लैगिंक पहिचान सहितको नागरिकता पाउने विषय उल्लेख छ ।
नेपालको संविधानको धारा ३८ मा मौलिक हकको रूपमा महिलालाई बिना भेदभाव समान वंशीयहक, महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक महिला धार्मिक सामाजिक सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक मानसिक यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक, महिलालाई शिक्षा स्वास्थ्य रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हक जस्ता विषय उल्लेख छन् भने धारा २५२ मा राष्ट्रिय महिला आयोगको व्यवस्था सँगै संविधानमा महिला सम्बन्धी हरेक किसिमका समस्या समाधान गर्दै महिलाको अधिकार पूर्ण रूपमा सुनिश्चित गर्ने प्रयासमा रहेको स्पष्टता हुन्छ । यि सँगै राष्ट्रपति वा उपराष्ट्रपति मध्ये एक महिला, संघीय संसदमा सभामुख र उपसभामुख मध्ये एक महिला स्थानिय निकायमा प्रमुख वा उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष मध्ये एक महिला हुनुपर्ने बाध्यात्मक व्यवस्था रहेकोबाट नेपालको संविधानले महिलालाई सशक्तिकरण तर्फ उन्मूख गराएको पाइन्छ । नेपालको वर्तमान संविधानलाई कार्यान्वयनको तहमा लैजाने क्रममा नेपाल सरकारद्वारा मुलुकी (संहिता) ऐन, २०७४ जारी गरेको छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ मा सम्पत्ति सम्बन्धी कानुनी व्यवस्था अनुसार महिलाले आफ्नो ज्ञान, सीप, दान, बकस, अपुताली, चिठ्ठा,उपहार बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त पारिश्रमिक उपदान, विवाह पूर्व आर्जन गरेको सम्पत्ति महिलालाई पति वा पति तर्फका सबै अंशियाराहरूको मन्जुरीले एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पतिका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति महिलाको निजी सम्पत्ति मानिने व्यहोरा उल्लेख छ । जसले गर्दा महिला आय आर्जनतर्फ बढी भन्दा बढी जागरुक भई आफ्नो जीवन शैलीलाई परिवर्तनतर्फ उन्मूख गराउन सकून भन्ने ऐनले महिलालाई उत्प्रेरित गरेको पाइन्छ ।
नेपालको संविधान र मुलुकी ऐन, एक संवैधानिक दस्ताबेजको रूपमा रहेको छन् भने यसलाई आम जनसमुदाय र वर्ग बीचमा व्यवहारिक कार्यान्वयनको रूपका लागि वास्तविक महिलाको अधिकार स्थापित गर्नको लागि विश्व इतिहास विभिन्न आन्दोलन संविधान ऐन, नियममा उल्लेख भएका विषयहरूलाई हरेक महिलाको पहुँचमा पु¥याउनु आजको अपरिहार्य आवश्यकता हो । महिलाको क्षमता विकासको लागि विभिन्न किसिमका महिला लक्षित कार्यक्रमहरूमार्फत अघि बढाई समाजमा महिलाको नेतृत्वदाई भूमिकालाई स्थापित गर्नु नै महिला सशक्तिकरण हो । महिलालाई संविधान र ऐनमा उल्लेख भएका अधिकारहरूले व्यवहारिक रूपमा सुसजितबाट महिला मैत्री समाजको निर्माण गर्दै सम्पूर्ण नेपाल र समग्र विश्व समुदायलाई नै महिला मैत्री बनाउँदै लैंगिक विभेद सदाको लागि अन्त्यका लागि महिला मात्रको प्रयासबाट नभई महिला र पुरुषको साझा प्रयास र भूमिकाबाट मात्र सम्भव हुन्छ र आजको युगको माग पनि महिला र पुरुषले हातेमालो गर्दै विश्वलाई थप सुन्दर बनाउनु रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार