सहिद दुर्गा बलुः स्थानीय वर्ग संघर्षका प्रेरणदायी योद्धा

म ६६ सालमा नेकपा एमालेको छैटौं जिल्ला अधिवेशनबाट जिल्ला सदस्य बनेपछि तत्कालीन देवदह र केरवानी गाविसको इन्चार्जको जिम्मेवारी पाएँ । ०४७ साल देखि नै विद्यार्थी आन्दोलन, कम्युनिष्ट आन्दोलन, जनवादी क्रान्तिका पक्षमा निरन्तर कलम चलाउँदै आएपनि भूगोलको राजनीतिमा कम्युनिष्ट सिद्धान्त कसरी लागू गरिन्छ भन्ने विषयमा म कलिलो विद्यार्थी जस्तो थिएँ ।
माक्र्सवादी विचार पद्धति अनुसार वर्गीय समाजमा वर्ग संघर्ष चलिरहन्छ । समाज विकासका हरेक युगमा वर्ग संघर्षकै कारण क्रान्ति र परिवर्तनहरु सम्भव हुँदै आएका छन् । सामाजिक द्वन्द्वहरुले परिवर्तनलाई संस्थागत गर्दै जान्छन । माक्र्सवादी अर्थात कम्युनिष्ट राजनीति भनेको ती अन्तरविरोधहरुलाई चिन्नु र त्यसबाट उत्पीडित वर्गलाई संगठित गर्नु मुक्तिको दिशा दिनु हो ।
यो बुझाईका साथ मैले भूगोलको वर्ग संघर्षको अवस्था बुझने प्रयास गरें । जिल्ला कमिटी सदस्य बनेका केही महिनामा नै मैले यी २ गाविसमा वर्ग संघर्षका सवालका मुद्दाहरु पहिचान गरें । ती मध्ये मुख्य गरी धेरै जनतालाई प्रभाव पारिरहेको समस्या थियो ः लालपुर्जा विहीन जनताका समस्या । जसले यी २ गाविसको ७० प्रतिशत जनताको समस्यालाई सम्बोधन गथ्र्यो । यो समस्या समाधान गर्न पार्टीको कुनै वर्गीय आन्दोलन गर्ने मोर्चा वा जनसंगठन थिएन ।
मैले यही सवाललाई वर्ग संघर्षको सवालको रुपमा उठान गर्ने निधो बनाएर पार्टी नेताहरुसँग सल्लाह गरी सरोकारवालाहरुको भेला गरी सुकम्बासी मुक्ति अभियान नामक एक सामाजिक वर्गीय संगठन खोलें ।
देवदहबाट शुरु भएको यो अभियान, केरवानी, मक्रहर, बुटवल हुँदै छिट्टै रामापुर, सालझण्डी, सूर्यपुरा हुँदै रुद्रपुरसम्म फैलियो र जिल्लास्तरीय संगठनको रुपमा विकास भयो । मलाई नै संगठनका साथीहरुले जिल्ला अध्यक्षको रुपमा जिम्मेवारी दिनु भो ।
हामीसँग स्थानीय भूमि सरोकारहरु, गाविस र नगरपालिका, विद्यालय, वन कार्यालय, भूमिपतिहरु, जमिन्दारहरुबाट सताइएका व्यक्तिहरु, माओवादीहरुले झण्डा गाडेका ठाउँका किसानहरुले पाएका दुखकष्टहरु जस्ता सवालहरु संगठनमा मुद्दाका रुपमा आउन थाले । एकदिन देवदहका युवा संघमा संगठित युवाहरुले देवदह वडा नम्बर ३ मा रहेको जमिन्दारको १० बिगाह क्षेत्रफल जग्गा खेतहर मजदुरका रुपमा रहेका मुसहरहरुका घरमा आगो लगाएर केही गुण्डाहरुले लखेटेको, तिनै गुण्डाहरुले स्थानीय विद्यालयको नाउँबाट खोसेर समितिका अध्यक्षका कन्चटमा पिस्तोल तेर्साएर उक्त जग्गा आफ्ना नाममा कागज बनाएर बेची खाएको पीडादायी खबर लिएर आए ।
माओवादीले ६ वर्षदेखि झण्डा गाडेको उक्त जग्गा २ वटा दलका युवा संगठन(युवा संघ र वाईसिएल)का जिम्मेवार नेता मिलेर व्यक्तिहरु मिलेर लुटी खाएको सूचना आएपछि हामीले हाम्रो अभियानको क्षेत्रीय संयोजक(टोलराज विक) र केरवानी अध्यक्ष टेकबहादुर पुलामीको अगुवाईमा एक अध्ययन टोली गठन ग¥यौं । टोलीलाई गुण्डाले तर्साएर जबरजस्ती गराएको सूचना जनताले भन्न नसक्लान भनेर हामी एमाले नेता पूर्व केरवानी गाविस अध्यक्ष निलकण्ठ पौडेलकोसँग गयौं ।
उहाँले उक्त जग्गाको साँगोपाँगो त बताउनु भयो तर उहाँले यो मुद्दालाई स्थानीय वर्ग संघर्षको मुद्दा बनाउने कि नबनाउने भन्ने विषयमा हिच्कीचाउनु भयो । हाम्रो कुराकानी हुँदा स्व.दुर्गा तिवारी बसन्त पौडेल बलु लगायत युवाहरुसँगै थिए । उनले हाम्रो कुराकानी सुनिरहेका थिए । सायद जग्गाकाण्डको विषयमा बलु पहिलेदेखिनै जानकार थिए । उनले बुवाको हिच्कीचाहट देखेर भने “यो मुद्दा राम्रोसँग उठाउनु भयो भने मात्र केरवानी र देवदहमा नेकपा एमालेको राजनीति स्थापित हुन्छ । यस्तो गलत काण्डका विरुद्ध तपाई उभिनु पर्छ र यो संघर्षलाई साथ दिनु पर्छ ।” छोरा बलुको यो सल्लाहपछि निलकण्ठ कमरेडले हामीलाई साथ दिने बचन दिनु भयो । उहाँको सहयोगमा उक्त काण्डको नालीबेली तयार भयो ।
संगठनले देवदह ३ टटेरामै जिल्लाभरका पत्रकार बोलाएर पत्रकार सम्मेलन गरी जग्गा ठगि काण्डको भण्डाफोर गर्यो । यसले एक पटक रुपन्देही क्षेत्र नं १ को राजनीतिमा ठूलै हलचल ल्यायो । त्यो हलचल र वर्ग संघर्ष अहिलेसम्म रोकिएको छैन ।
विडम्बना के भईदियो भने “वर्ग संघर्षको कथा” सुनाउने नेताहरु जनताले शुरु गरेको यो खालको वर्ग संघर्षलाई पहिचान गर्नु, महशुस गर्नुको साटो व्यक्ति हिरो हुन खोजेको जस्ता संकीर्ण आरोप लगाएर पन्छिन खोजे । पछि वाईसिएल, युवा संघ र तरुण दलका अगुवाहरुकै संलग्नतामा बुटवल नेपालगञ्ज रोडमा १२ घर सुकुम्बासी बस्तीमा राती १२ बजे नै बुल्डोजर चलाएर भत्काउने कोशिस गरियो । यो रवैयाको सुकुम्बासी संगठनले जमेर विरोध ग¥यो । तर विडम्बना युवा संघका नेता दुर्गा तिवारी र सरिता श्रीसहरुले आफनै संगठनमा यस्ता कुकृत्यमा संलग्नहरुलाई कारवाही गर्न पार्टी नेतृत्वलाई प्रक्रिया अघि बढाउँदा पार्टी नेताहरुबाटै अडचन खडा गरियो । हामीले बुझनु पर्ने संगीन प्रश्न हो यो “साँच्चीकै हामीले पार्टी कस्तो बनाएछौं ?” ‘किसान मुक्तिका लागि जमिन्दारका जमिनका झण्डा गाड्ने माओवादी आज कहाँ छ ? उसको पक्षधरता कहाँ छ ?’
केरवानीको सुकुम्वासी संगठन, देवदहको संगठन र क्षेत्रीय संगठन, पार्टी गाउँ कमिटीको समन्वयमा यी मुद्दालाई क्रमशः उठान गर्ने, जिल्लाका सरकारी एजेन्सीहरुलाई यसको समाधान गर्न ध्यानाकर्षण गर्ने काममा अगुवाई भयो । जिल्ला प्रशासनमा ठगहरुले लिएको रकम सार्वजनिक कायम भइसकेको जमिन्दार हदबन्दी बढीको उक्त जग्गाको रकम खरिदकर्तालाई फिर्ता गर्ने कागज बुझाए र उन्मुक्ति लिए ।
यो ठगी काण्डमा कुख्यात गुण्डा नाइके बनेका मनोज पुन, सालिकराम चापागाईंसहित पूर्व माओवादीका जिम्मेवार व्यक्तिहरुको संलग्नता थियो । हामीले उठाएका सवालहरुमा युवा शक्तिलाई परिचालित गरी साथ दिएका कमरेड दुर्गा तिवारी र बसन्त पौडेलको ०७३ पुस ४ र ०७४ पुस २१ मा सोही मनोज पुनको निर्देशनमा संगठित गिरोहबाट हत्या ग¥यो ।
त्यतिबेला माओवादीका जिम्मेवार नेताहरु शान्ति प्रक्रियामा आएपछि जमिन्दार जग्गामा गाडिएका भूमिहिन किसानका नाउँमा गर्न भुमिसुधारको आन्दोलन गर्नुको साटो जग्गा दलालहरुसँग मिलिभगत गरी धेरै ठाउँका जग्गा कारोवारमा मुछिएका समेत थिए । यो परिवेशमा संसदीय धारमा रहेको शान्तिपूर्ण प्रतिस्पर्धामा विश्वास राख्ने पार्टीले जोताह किसानको पक्षमा वा अतिक्रमित वा ठगीमा परेको जग्गाको सार्वजनिकरण गर्ने मुद्दा उठाउनु एक अनौठो घटना थियो । श्रमजिवी वर्गको हितको आन्दोलनलाई महत्व नदिएकै कारण नेकपा एमाले पहिलो शक्तिबाट तेश्रो शक्तिमा झरेको निष्कर्ष क्रान्तिकारी बुद्धिजीवीको थियो ।
अनेकौ पटकका बैठकहरुमार्फत हामीले उक्त जग्गा सार्वजनिक गर्न अभियान चलायौं। गाविससँग अन्तरक्रिया, सर्वदलीय बैठक, नेकपा एमाले केरवानी गाउँ कमिटीकै अगुवाईमा लुम्बिनी विश्वविद्यालयलाई जग्गा हस्तान्तरण गर्न पहल जस्ता कामहरु हामीले ग¥यौ । यो संघर्षमा कतिपय स्थानीय तत्कालीन माओवादी कार्यकर्ताको समेत हामीलाई साथ सहयोग रहेको थियो ।
यही क्रममा साविक पटखौली हाल ओमसतिया २ भेलाईमा दुखु अहिरले खरिद गरी जोतभोग गर्दै आएको २ बिगाह जग्गा बेच्ने जमिन्दारले उनका हातबाट खोस्ने , खेती लगाउन नदिने गरेको भन्दै एक निवेदन लिएर पार्टीको बैठकमा आए । उनको निवेदन हेरेपछि र फिल्ड अध्ययन गरेपछि त्यत्रो जनयुद्ध र जनआन्दोलनपछि किसान र श्रमजीवी जनताले यसरी दुःख पाउने कुरा सह्य छैन भन्ने लागेको हुनाले हामीले यसलाई पनि स्थानीय संघर्षको विषय बनायौं । संगठन र पार्टीले समेत यो केशमा हात हालेपछि धेरै चरणमा झडपयुक्त स्थिति पैदा भयो । यी सबै भौतिक उपस्थितिका लडाईमा युवाहरुलाई परिचालित गर्ने काममा सहिद दुर्गा तिवारी र बसन्त पौडेलको भरपुर पार्टी र संगठनलाई साथ थियो । भेलाईमा दुखु अहिरलाई खेत रोप्ने वातावरण बनाउन गरिएको जन परिचालनका क्रममा जमिन्दार राणा परिवारले ठूलै लठैतहरुको जत्थाबाट झण्डै दुर्गा तिवारी, राजु गुरुग र मलाई सिद्धाएका थिए । प्रहरी ठूलै संख्यामा उपस्थिति भएपछि हामी घेराबन्दीबाट फुत्किएका थियौं ।
युवाहरुलाई आफै गरिखान प्रेरित गर्ने, ठगिखाने कुरा गलत हो युवा नेता हौं भनेर व्यापारी, किसान ठग्दै, धम्काउँदै आर्थिक जीवनलाई तहसनहस पार्न खोज्ने डनतन्त्रका विरुद्ध दुबै युवा सक्रिय थिए । आफ्नो लुटतन्त्रमा साथ नदिएको र त्यसका विरुद्ध जनतालाई संगठित गर्दै परिचालित गरेको कारण दुर्गा र बसन्तप्रति अपराधी मनोवृत्तिका व्यक्तिहरुको संलग्नतामा षडयन्त्रपूर्ण हत्या भएको यथार्थता हो । यही भएर हामीले दुबै जनालाई सहिद घोषणा गर्न राज्यलाई दबाबकारी आन्दोलन पनि ग¥यौं । तर एक वर्षको अन्तरालमा ठूलै क्षतिपछि बसन्त पौडेल बलुको हत्या मात्र राज्यले दुबै जनालाई सहिद घोषणा ग¥यो । यद्यपि त्यसको अनुभूति हुने गरी आफनै पार्टी नेतृत्वको सरकारले अझै सहिदको घर टेकेको छैन । उनीहरुका आँसुमा मल्हम लगाउने चेष्टा गरेको छैन । यो बिडम्वना हो । हिजो २ धारमा रहेका नेकपा एमाले र एकीकृत माओवादी पार्टी एक भएर नेकपा(नेकपा) भएको छ । यसपरिवेशमा हामीले पार्टी विशाल बनाएका छौं । विशाल पार्टी बनाउँदा पार्टीसँगै विकृति बिसंगति पनि विरासतका रुपमा हामी बीच थुप्रिएका छन् । कार्यकर्ताको आचरण र व्यवहारमा शुद्धीकरण ल्याउन सकिएन भने सामाजिक न्याय र समानताको आन्दोलन हामी वामपन्थीको हातबाट अरु कसैले खोसिदिन सक्छ । हामीले हेक्का राख्नुपर्ने विषय हो ।
शान्तिपूर्ण कालपछि पनि हामीले २ जना होनहार युवाहरुलाई हाम्रो आन्दोलनबाट गुमाएका छौं । उहाँहरुले उठाएको वर्ग संघर्षको झण्डाले अझै विजय प्राप्त गरेको छैन । ठगहरुले बेचीखाएको जग्गा सार्वजनिक हितका लागि वा भुमिहिन किसानका हातमा गएको छैन । लालपुर्जा विहीन श्रमजिवी जनताले न्याय पाएका छैनन् । किसानहरुले मुक्तिको सास फेर्न पाएका छैनन । सरकार वामपन्थीकै भएपनि शासन शैली पुरानै छ । वर्ग संघर्षको चेत कमजोर भएको छ तर पार्टी फैलिएको छ । नैतिक आचरण स्खलित भएको छ भ्रष्टाचार मौलाएको छ र युवाहरुको लस्कर खाडितिर लम्कने संख्या र गति घटेको छैन । हामीले वर्गीय हितको चेतबिना शासनसत्ताका मालिक भएपनि जनहितमा केही गर्न सक्दैनौ भन्ने कुरा स्थापित भएको छ ।
यसर्थ सहिद दुर्गा र बसन्तपौडेलबाट आजका युवाले संघर्षको चेतना अंकुराउने कोशिस गरुन र उनीहरुको स्मृति सभाबाट यही प्रेरणा लिऊन । नयाँ बन्दै गरेको पार्टी नेकपा(नेकपा)ले स्थानीय वर्ग संघर्षको स्थिति आंकलन गरोस । त्यो संघर्षमा आफना नेता कार्यकर्ताको पक्षधरताको मुल्यांकन गरोस्, पार्टी जिम्मेवारी दिँदा त्यो पक्षधरता र संघर्षको समर्पण पहिलो आधार बनोस् । गरिब किसान, अव्यवस्थित बसोबासी, मुसहर, कुर्मी, श्रमजिवी, औपचारिक र अनौपचारिक क्षेत्रका मजदुर, उत्पीडित स्वदेशी उद्यमी र पेसाकर्मीहरुको संघर्षलाई श्रमजीवी वर्गको विश्व दृष्टिकोणबाट बुझने चेतना अभिबृद्धि गरोस् । यही प्रेरणा लिएर अगाडि बढांै। लाल सलाम दुर्गा बलु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार