पृथ्वीनारायण र राष्ट्रिय एकता

यो बर्ष पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती हो । विक्रम संवत् १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० भन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए । उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइने गरिएको थियो ।
पुस २७ गते पृथ्वीनारायण शाहको जन्म दिन आयो कि प्रत्येक वर्ष, कोही उनको पक्ष र कोही उनको विपक्षमा एक पक्षीय कुरा गर्छन् । यी दुई पक्ष–विपक्षका कुराहरू नेपाली राष्ट्रियता र समावेशी संस्कारको सन्दर्भमा बडो संवेदनशील चर्चा भएको हुन्छ । पृथ्वीनारायण शाहका पक्षधरहरूले उनलाई र उनको कार्यलाई राष्ट्रिय एकीकरणकर्ता र राष्ट्रिय एकीकरणको काम भन्ने गर्छन् । भने उनको विपक्षमा कुरा गर्नेहरूले पृथ्वी नारायणले गोर्खा राज्यको विस्तार गरेको मात्र हो, राष्ट्रिय एकीकरण गरेको होइन भन्छन् । अझ भनौँ भने पुर्वाग्रहबाट प्रेरित भई इतिहासको सत्यतथ्यलाई समेत ओझेलमा पारेर वा अतिरञ्जित गरेर आ–आफ्ना तर्कहरू प्रस्तुत गर्छन । जसले गर्दा पृथ्वी नारायण शाह र उनको कार्यको कुरालाई यथार्थमा बुझ्न अलमल पर्छन् र बुझे पनि भ्रममा पर्छन् ।
दोस्रो जनआन्दोलनपछि मुलुकमा पृथ्वीनारायण शाहका सालिक र मूर्ति तोडफोड भए । मुलुक गणतन्त्रमा पुगेपछि भने शाहप्रति दुई थरी विचार सतहमा नै देखिएको छ । एकथरी भन्छन् उनी मुलुक एकीकरण गरेर आफूलाई राष्ट्र निर्माता बन्न सफल भए भने अर्को थरीले उनलाई पहिचान विरोधी तानाशाहको रूपमा चित्रित गरेका छन् । सरकारले पृथ्बी नारायण शाहको जन्मदिनको अवसरमा मनाईने राष्ट्रिय एकता दिवस हटाएको पनि दशक हुन थालेको छ । राष्ट्रिय एकता दिवस बिनाको मुलुक संसारमा छैन भन्दा पनि हुन्छ । अहिले नेपाल एकता दिवस विहीन देश बनेको छ ।
विगत नै वर्तमानको आधार हो । तर गणतन्त्रवाद आत्मसात गर्ने कतिपय मानिस विगतलाई स्वीकार्न तत्पर छैनन । यसले गर्दा पनि राष्ट्रिय एकता दिवस मनाउन राज्यले कज्युस्याईं गरिरहेको छ । कसैकसैको मान्यता छ, एकता दिवस र पृथ्वी जयन्ती मनाउनु भनेको शाहवंश वा राजतन्त्रलाई प्रवद्र्धन गर्नु हो । दिवस र जयन्ती मनाउने सन्दर्भलाई शाहवंशको जगेर्ना र राजतन्त्र फर्काउनेसँग जोड्नु गलत बुझाइ हो । पृथ्वीनारायण शाह नेपाल र नेपालीहरूका गौरव हुन् । विशाल–नेपाललाई उनले एकीकरण गरेर यस क्षेत्रका स–साना हिन्दु राज्यहरूको अस्मिता जोगाए । अहिले हामी नेपाली भएको र नेपाल सार्वभौम राष्ट्र भएको जुन गर्व गर्छाैं त्यो पृथ्वीनारायण शाहकै देन हो । नेपालमा समावेशी राजनीतिक, सामाजिक र सांस्कृतिक चेत जगाउने समय सापेक्ष दृष्टिकोण उनैले उत्तिबेलै प्रक्षेपण गरेका थिए ।
समय बदलियो, राजनीतिक सन्दर्भ बदलिए, सत्तामा पुग्नेहरू, शक्तिमा रम्नेहरूको अनुहार बदलियो । यो संगै नेपालको एकीकरणको आधार भत्काउने काम भए, राष्ट्रिय एकता छिन्नभिन्न पार्ने काम भए । यसको सुरुवात पृथ्वीनारायण शाहको सालिक भत्काउने, उनको जन्मोत्सव नमनाउने, उनलाई राजतन्त्रको जननीका रूपमा अपव्याख्या गर्दै उनले नेपाल राष्ट्र बनाउन र नेपाली जनतालाई एकताको सूत्रमा बाँध्न निर्वाह गरेको भूमिकाको अपव्याख्या गर्दै घृष्णा पैदा गराउने काम राजनीतिक तहबाट भयो । इतिहासको अर्काे पाटो के छ भने लिच्छवीकालमा नेपाल विशाल थियो । मध्यकालमा आएर विशाल नेपाल खण्डित हुँदैगयो र कमजोर भयो । यो भूखण्ड बाइसे–चौविसे राज्यमा विभक्त हुनपुग्यो । तर पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे । एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रूपमा यो देशको अस्मिता जोगाए । विगतमा पृथ्वीनारायण शाहले विच्छिन्न नेपाललाई एकीकृत गरेर यो देशको स्वतन्त्र अस्तित्व जोगाएका थिए । सो कठिन सत्कार्यका लागि जनताको साथ लिएका थिए ।
यतिखेर नेपालमा राष्ट्रियताको विषय दलअनुसारको फरक र राजनीतिक स्वार्थसंग जोड्ने गरेको छ । नेपालमा राष्ट्रियता बचाउने आन्दोलनले मूर्तरूप लिनै पाएकै छैन । अहिले राष्ट्रिय एकता खलबलिएको अवस्था छ । नेपालको भूखण्ड नै विभाजन गर्ने षड्यन्त्र मच्चिएको छ । देशी–विदेशी शक्तिको षडयन्त्रको शिकार भएका राजनीतिक दलका नेताहरूले यो विषयलाई जसरी राजनीतिक स्वार्थमा घोलियो त्यसले मुलुकलाई छिन्नभिन्न पार्ने खतराहरू कायमै छन् ।
सबैलाई आ–आफ्नै अधिकार चाहिएको छ । समग्र मुलुकको अस्तित्वसंग कसैले पनि आफूलाई जोड्न चाहेका छैनन् । भाषा, संस्कृति, भेषभूषा जेजस्तो भए पनि हामी नेपाली हौं भन्ने भावनाको विकास हुन सकेको छैन । पहिला नेपाली हुने कि मधेसी वा तराईबासी हुने ? नेपाली भएर मात्र हिन्दु, मुसलमान, इसाई, ब्राह्मण, क्षेत्री, दलित, जनजाति, मधेसी, सबै रहने हो । नेपालै नरहे त्यो अस्तित्व कहाँ गएर खोज्ने ?
मुलुकभित्र हरेक जातजातिबीच रहेको सौहार्दपूर्ण सम्बन्ध कटुतामा परिणत भैरहेको बेला विदेशीले चलखेल गरिरहेका छन् । सीमा मिच्ने क्रम रोकिएको छैन । राजनीतिक हस्तक्षेपको त कुरै नगरौं । सत्तामा बस्दा विदेशी हस्तक्षेपलाई सहयोग ठान्नेहरू विपक्षमा बस्दा त्यसलाई हस्तक्षेप नै हो भन्ने गर्दछन् । सत्तामा रहँदा र नरहँदा राष्ट्रियताको विषय नै फरक हुने गरेको छ । मुलुक संगीन परिस्थितिमा पुगिरहेका बेला राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहको स्मरण गर्नु हरेक नेपालीको कर्तव्य हो । छिन्नभिन्न रहेको नेपाललाई एकीकृत गरी बेलायती साम्राज्यवादबाट बचाएको नेपालको इतिहासको अर्काे पाटो के छ भने पन्ध्र सय वर्ष अगाडि पनि विशाल नेपाल थियो । समयक्रममा विशाल नेपाल खण्डित हुँदै गयो र कमजोर भयो । यो भूखण्ड बाइसे–चौविसे राज्यमा विभक्त हुनपुग्यो । तर पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रूपमा यो देशको अस्मिता जोगाएका हुन् । अहिले नेपाललाई विच्छिन्न अवस्थामा पु¥याउने, यो देशको सार्वभौम अस्तित्वमाथि नै धावा बोल्ने र राजनीतिक, सामाजिक, सांस्कृतिक सद्भाव तोड्ने उत्कर्षमुखी गतिविधिहरू निर्देशित रूपमा परिचालित भैरहेका छन ।
नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता जोखिममा पर्दै गएको चिन्ता अहिले सर्वत्र जागेको छ । यस्तो चिन्ता उत्पन्न हुनुको पछाडि नेपालका सत्ताप्रतिको मोह राजनीतिक नेताहरूको आन्तरिक राजनीतिक समस्याको निराकरण र परिवर्तनका लागि बाहिरी शक्तिलाई गुहार्ने परनिर्भरतावादी सोंच नै प्रमुख कारण छ । देश अहिले परनिर्भरतावादीहरूको चंगुलमा फसेर अनिर्णयको बन्दी बनिरहेको छ । यो अवस्थामा वैदेशिक हस्तक्षेपमुक्त राष्ट्रिय चिन्तनधारको राजनीतिक मार्ग अवलम्बन नै सही विकल्प हो । केही समयदेखि पृथ्वीनारायण शाहलाई राज्यले बिर्सिएको छ तर यो होइन कि जनस्तरमा पनि उनलाई बिर्सिने काम भएको छ । जनयुद्धको १० वर्षे कालखण्डमा तत्कालीन माओवादीले नुवाकोटको देवीघाटमा रहेको पृथ्वीनारायण शाहको शालिकमाथि तोडफोड र बम हान्ने समेत काम ग¥यो, गोरखामा पनि यस्तै काम भए तर ती भत्काइएका शालिकहरू आज पुनः ठडिएका छन् । राज्यले पुनर्निर्माण नगरे पनि जनस्तरबाटै उनीप्रति भावपूर्ण आस्था राख्नेहरूको कमी छैन । यस्तै राजनीतिक स्तरमा एउटा तत्वले बिर्सिए पनि अन्य धेरै पक्षले सम्झिरहेकै छन् ।
पछिल्लो समय पृथ्वीनारायणप्रति पूर्वाग्रह राखेर आफ्नो राजनीतिक जीविका चलाउने संस्कार नेपाली नेतामा विकसित हुँदा नेपाल र नेपालीका लागि आजीवन संघर्ष र बलिदान गर्ने राजा पृथ्वीनारायण शाहलाई अपमानित बनाइएको छ । विदेशी आईएनजीओ र पादरी कर्क प्याट्रिकहरूले लेखेका अनि लगाएका झूटा आरोपहरूलाई तथ्य मानेर पृथ्वीनारायण शाहले कीर्तिपुरका जनताको धार्नीका धार्नी नाक कान काट्यो रे भन्नेहरू आज देशका सत्तामा रहेका छन् । जबकि त्यतिका धार्नी नाक कान हुन पुग्नुपर्ने जनताको संख्या नै त्यतिबेला कीर्तिपुरमा नभएको विद्वानहरूको भनाइ छ । विद्वान् एवं प्राचीन संस्कृति र इतिहासका अध्येता डा. रामेश ढुंगेल भन्छन्– पृथ्वीनारायण शाहको राष्ट्र निर्माण अभियानलाई साम्राज्यवादी राज्यविस्तारका रूपमा एकात्मक ढोल पिट्नु र चित्रण गर्नु अन्यायपूर्ण हुन्छ ।’ उनका अनुसार तात्कालिक परिवेश, उनका नीति तथा क्रियाकलापले गर्दा पृथ्वीनारायण शाह एउटा राजा मात्र नभई राष्ट्र निर्माता तथा भविष्यद्रष्टा युग पुरुषका रूपमा देखिन्छन् ।
पृथ्वीनारायणकालीन समाज आजभन्दा झण्डै तीन सय वर्षअघिको हो । त्यतिबेलाको अविकसित कालखण्डमा पनि एकताको आह्वान गर्दै आजको नेपालको परिकल्पना गरेर त्यसलाई कार्यान्वयन गर्ने सोच र व्यवहारकै उपज आज हामी आफूलाई नेपाली भनेर गर्व गरिरहेका छौँ । उनको उल्लेखनीय योगदानले नै आजको नेपालको सृजना भएको हो । भुरेटाकुरे राज्यलाई विस्तार गरेर अंग्रेजी साम्राज्यको अगाडि कहिल्यै घुँडा नटेकेका पृथ्वीनारायणको साहस नै आजको नेपाली राष्ट्रियता र विश्व मानचित्रमा कोरिएको नेपालको सगौरव नक्साको परिचायक हो । जहिल्यै पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो देख्ने राज्यव्यवस्था मात्रै जनताको लागि उपयुक्त शासन पद्धति हुन्छ । पृथ्वीनारायण शाहले उठाएको भाला तरबारलाई कांग्रेसले प्रजातन्त्रअघि उठाएको हतियार र तत्कालीन माओवादीले १० वर्षसम्म गणतन्त्रका लागि मच्चाएको नरसंहारसँग कुनै पनि हालतमा तुलना गर्नै मिल्दैन ।
पृथ्वीनारायण शाहको जीवन उपलब्धिमूलक रह्यो, तर एकीकरणपछि उनी ६ वर्ष मात्र बाँचे । त्यही छोटो अवधिमा पनि उनले नेपाली राष्ट्रियताको बलियो जग हाले । एकीकरणकै क्रममा उनले विविध धर्म र साम्राज्यको महत्वाकांक्षा बोकेका आततायीहरूलाई पराजित गरी नेपाललाई मनोवैज्ञानिक हिसाबले राष्ट्रियताको चौघेराभित्र सुदृढ अस्तित्व दिए । खासगरी धर्म परिवर्तनमार्फत र नेपाली राष्ट्रियतालाई अवमूल्यन या धराशायी बनाउने असफल खेलमा लागेका विदेशीले उनलाई ‘निर्मम र क्रुर’ योद्धाको रूपमा पनि प्रस्तुत गरेका छन् भावी इतिहासलाई प्रभावित गर्ने गरी र कतिपय नेपाली अध्येता र इतिहासविद्ले त्यसलाई नियोजित असत्य प्रचारको संज्ञा दिएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै आएकोमा गणतन्त्र घोषणा गरेपछी राष्ट्रिय परम्परालाई अन्त्य गर्ने काम भएको छ जसको चौतर्फी विरोध भैरहेको छ । विभिन्न राजनीतिक दलहरू लगायत संघसंस्थाहरू, बुद्धिजीवी, नागरिक समाजका तर्पmबाट परम्परागत रूपमा मनाउन र यस दिनलाई सार्वजनिक विदा घोषित गर्न सरकारलाई दबाब परिरहेको छ । नागरिकस्तरबाट पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन दबाब बढ्दै गए पनि लोकतन्त्रमा विश्वास गर्ने सरकारले भने जनआकांक्षा सम्बोधन गर्न सकेको छैन । विभिन्न जातीय उत्सव, विदेशीका पर्व चाडहरूमा समेत सार्वजनिक बिदा घोषणा गर्ने सरकारलाई सिंगो नेपालका निर्माता पृथ्वीको जन्म जयन्तीमा कुनै कार्यक्रम नगर्ने र सार्वजनिक विदा समेत नदिएपछि जनस्तरबाटै यसको घोर भ्रत्र्सना तथा आलोचना भैरहेको छ । संघीयताको नाममा मुलुक विखण्डन तिर उन्मुख भैरहेको वर्तमान अवस्थामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता बढेको छ ।
वि.सं. १७९९ मा नरभुपालको मृत्युपछि बिस बर्षको उमेरमा पृथ्वीनारायण शाह गोरखाका राजा भएका थिए । यिनले नै सानासाना राज्यहरूमा विभाजित नेपाललाई एकीकृत गर्न शुरु गरे । हुन त पृथ्वीनारायण शाह अगाडि पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणिमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालामा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई ती राजाहरूले लामो समय बचाई राख्न सकेनन् । ती राजाले एकीकृत भएको राज्य आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकालका बाँडेर थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार