राष्ट्रका धरोहर पृथ्वीनारायण शाह

जुनसुकै मुलुकको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता सार्वभौमसत्ता र स्वभिमान नागरिकका ढुकढुकी हुन् । हिजो, आज वा भोलि जहिले भएपनि जहाँ रहेपनि यी शाश्वत मूल्य र मान्यताहरू रहिरहने गर्दछन् । यी आधारभूत सत्यतथ्य केलाई वर्तमानलाई उघार्र्ने र भविष्यको उचित मार्ग निर्दिष्ट गर्ने सामाजिक विज्ञान हो इतिहास । विगतको विश्लेषण गर्दै सद्गुणको अनुशरण र दुर्गुणको परित्यागले परिमार्जित र परिष्कृत सामाजिक संरचना सिर्जना गर्दछ । यस सिलसिलामा नेपालको इतिहासमा गोपाल वंशदेखि शाह वंशसम्म राजतन्त्रात्मक शासकीय संरचना रहेको थियो । समयको कालखण्डमा कैयन् राम्रा र कैयन् नराम्रा कामहरू भए गरिए । परिवर्तन युगको माग हो । अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आइपुगेको छ । दिगो शान्ति, सुशासन, विकास, समृद्धि, विभेद र उत्पीडनको अन्त्य, आर्थिक समानता, सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्मार्ण गर्ने संकल्पमा जुटेका छांै । यस्तो पुनित घडीमा विगतको सही अध्ययन, विश्लेषण र उपयोगमा चुक्नु हुँदैन । चुकेमा वा नजर अन्दाज गरेमा भोलिका सन्ततीले सराप्ने छन्, वर्तमान बरालिने छ, लक्ष्यहरू धर्मराउने छन् । इतिहासका भङ्गालाहरूमा यस्ता कैयन् घटनाहरू घटेका छन् । त्यसमध्ये वर्तमान सेरोफेरोमा पृथ्वीनारायण शाहको तिथिमिति र उनका सकारात्मक पक्ष वारे संक्षिप्त भएपनि चर्चा गर्नु यस रचनाको निशाना रहेको छ ।
वि.सं १७७९ पौष २७ गते गोरखाका तत्कालीन राजा नरभूपाल शाहकी पत्नी कैशल्यावतीको गर्भबाट जन्मिएका पृथ्वीनारायण शाह हुने विरुवाको चिल्लो पात भने झै बाल्यकालदेखि नै विलक्षणयुक्त प्रतिभाशाली व्यक्ति थिए । भनिन्छ गोरखनाथले उनको सुइँको दिएका थिए । राजकुमार छँदै काठमाडौ उपत्यकाका मल्ल शासकहरूको नारी छामे । भक्तपुरका रणजित मल्लका छोरा वीरनरसिंहसँगको मितेरीले त्यहाँको सम्पूर्ण गतिविधि बुझ्न सघायो । उनले ३२ वर्षको अन्तरालमा कठोर परिश्रमबाट छिन्नभिन्न अवस्थामा रहेका बाइसी र चौबीसी राज्यलाई एक स्वतन्त्र शक्तिशाली, सार्वभौमसत्तासम्पन्न नेपालमा सम्मेलित गराए । उनको अभियानलाई समेत उनका सन्तानले पिछा गरी स्वाभिमानी नेपाल र नेपाली कायम गरे । एकात्मक केन्द्रीकृत शासन व्यवस्थामा उनका उत्तराधिकारीहरूले सबै राम्रो गरे भन्ने होइन । तर यो पक्ष भने सकारात्मक ढंगले हेर्नुपर्ने हुन्छ । उत्तरी नाका नुवाकोटको विजय होस् वा दक्षिण जेठानको मकवानपुरको विजय होस् उनको आर्थिक क्षेत्रको सुझबुझ अब्बल दर्जाको मान्नुपर्ने हुन्छ । काठमाडौ उपत्यकाका मल्ल राज्यमा नाकाबन्दी, मकवानपुरले बंगालका मीरकासिमसँगको गुहारपुकारलाई अपदस्त गर्नु, अंग्रेजले उनको विरुद्धमा पठाएको किनलोकको नेतृत्वको फौजलाई वि.सं १८२४ भाद्रमा सिन्धुलीबाट धपाउनु जस्ता घटनाहरू उनको वीरता र देशको स्वाभिमानसँग गाँसिएका छन् । भारतमा चर्चेको तत्कालीन अंग्रेज सरकारले कम्पनीको बाहानामा होस् वा धर्मको बाहानामा नेपाल भित्रने ठूलो प्रयास जारी राख्यो । यो कुरा सर्बवितिदै छ । कतै नयाँ पुस्तामा सन्देश नपुगेको वा पुग्न बाँकी रहेभएमा शिक्षक, अभिभावक वा सचेत नेपालीले पु¥याउनु पर्दछ ।
शत्रु राज्यमा लडाईं जितेपछि त्यहाँका जनता र भारदारसँग राम्रो व्यवहार गर्थे । जनताको धर्ममा कहिल्यै चोट पु¥याएनन् । उनका दिव्य उपदेशमा तत्कालीन राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षका झलकहरू देखिन्छन् । साना दुःखले आज्र्याको मुलुक होइन, सबैलाई चेतना भया । यो (नेपाल) चार जात (वर्ण) छत्तीस (वर्ण) जातको फूलवारी हो । घूस लिन्या र दिन्या भनेका देशका शत्रु हुन्, यिनको जीउज्यान लियापनि खातिर छैन जस्ता उनका भनाइले एकातिर तत्कालीन सामाजिक विकृति र विसंगतिको प्रतिनिधित्व गरेका छन् भने अर्कोतिर उनको सुधारात्मक सोंच र कार्ययोजना बारे सूचना प्रदान गरेका छन् ।
उनको कार्यलाई विभिन्न विद्वान्हरूले आआफ्नै ढंगले विश्लेषण गरेको देखिन्छ । कसैले उनलाई अधिनायकवादी त कसैले साम्राज्यवादीको संज्ञापनि दिएका छन् । सिल्भा लेभीले लेखेका छन्– “उनी महात्वाकांक्षी र अथक परिश्रमी थिए । उनी निर्णय छिटो गर्दथे र निष्काम भावले कर्तव्यमा लाग्दथे ।” त्यसैगरी ह्यामिल्टनले “ पृथ्वीनारायण शाह निर्वाध महत्वाकाँक्षी व्यक्ति थिए, उनी ठीक निर्णय गर्नसक्ने, ठूलो साहसी र अविरल कार्य गर्ने व्यक्ति थिए । उनी आफ्ना मित्र र अनुयायीप्रति उदार र वचनबद्ध थिए । विदेशीहरूप्रति उनको विश्वास थिएन । आफ्नो विचारसँग असहमत हुने र शत्रुप्रति उनी कहिल्यै उदार भएनन् ।” भनी चर्चा गरेका छन् । डा. डिल्लीरमण रेग्मी, “ पृथ्वीनारायण शाहको हृदय देशभक्तिमा चुर्लुम डुबेको थियो । विजय उनको जीवनको लक्ष्य थियो त त्यस लक्ष्यको नियामक शक्ति थियो, उनको हृदयमा रहेको देशभक्ति ।” अन्य इतिहासकारहरूले समीक्षा गर्दै भनेका छन्– यदि पृथ्वीनारायण शाहले ससाना राज्यलाई एक शक्तिशाली स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालमा एकीकरण नगरेका भए अंग्रेज वा अन्य कुनै विदेशी शक्तिले ती सबैलाई आफ्नो आधिपत्यमा लिइसक्दथ्यो न त संसारमा नेपाल र नेपालीहरूको देश नै प्रसिद्ध हुन्थ्यो । तसर्थः उनलाई राष्ट्रनिर्माता मानिएको तथ्य उल्लेख गर्दैआएका छन् ।
जर्मनका विस्मार्क र इटलीका काबूरले जसरी आफ्नो देशलाई विदेशी प्रभाव समाप्त पारी जर्मनी र इटलीको एकीकरण गरे त्यसैगरी उनले पराधीनताको जंजीरमा जकडिन लागेको नेपाल आमाको उद्वार गरे । नेपालको इतिहासमा लिच्छविकालीन मानदेवले पिता धर्मदेवको देहान्तपछि राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रता बँचाउन जुन भूमिका निर्वाह गरेका थिए त्यसैगरी ससाना भुरेटाकुरे राजारजौटाहरूलाई हराई विशाल नेपालमा समाहित गर्ने काम उनको विशेष योगदान रहेको तथ्य इतिहास साक्षी छ । तत्कालीन एकात्मक तथा केन्द्रीकृत शासन प्रणालीमा अन्य शासकहरूले कैयन् जनविराधी क्रियाकलापहरू गरेकोमा उनलाई पनि एउटै घानमा हाली समयसापेक्ष मूल्याङ्कन गरिनु न्यायाचित देखिदैन । यस अर्थमा पृथ्वीनारायण शाहको जन्मोत्सवलाई एकता दिवसको रूपमा मनाउँदा अन्यथा हुने छैन । यसमा कुनै राजनैतिक यस अवसरमा देशको सार्वभौमसत्ता, अखण्डता, स्वाभिमान, आत्मनिभर्रता, कुटनैतिक चातुर्यता, सामाजिक सद्भाव जस्ता कुराहरू नयाँ पुस्तामा प्रवाह गर्नसकेमा यसको प्रभावकारिता रहने छ । विश्वमा परिचित वीर गोरखालीको सान र मान राख्नमा उनकै गोरखा प्रतीक बनेको छ । राम शाहको न्यायको चौतारीमा अहिले न्यायको तराजु राख्नुपर्ने बेला आएको छ ।
जय एकता र वीर गोरखा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार