देवेन्द्रराज शाक्य र उनको कृति ‘प्राचीन कोलीय र शाक्य गणराज्य अन्तर्गतको बौद्ध सम्पदा’

देवेन्द्रराज शाक्य बुटवलको निकै गर्विलो नाउँ हो । यहाँ उनको प्रभाव र छापछाया निकै ठूलो छ । बटौलीको आध्यात्मिक विकास र भौतिक समृद्धिमा उनको ठूलो योगदान छ । २००६ सालमा जन्मेका उनी सत्तरी वसन्तको ढिकढाक पुग्दैछन् । यति लामो कालावधिमा उनले थुप्रै कृतिहरू प्रकाशित गरेर जीवनलाई सार्थक बनाएका छन् ।
बौद्ध शास्त्रका विद्वान देवेन्द्रराज शाक्यको जन्म वि.सं.२००६ सालमा पाल्पा तानसेनको नारायण टोलमा भएको हो । उनको बुवा चिनियाँ शाक्य हुन्भने आमा पुतला देवी शाक्य हुन् । हाल उनी बुटवल २ नयाँ सडकमा बस्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट बिए, एल.एल.बी, उत्तीर्ण गरेका छन् । त्यसरी नै उनले बुद्धिजम्मा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । उनी त्रिभुवन विश्व विद्यालय बुटवल बहुमुखी क्याम्पसमा ३८ वर्ष सेवा पश्चात उपप्रशासक पदबाट सेवा निवृत भएका हुन् ।
धेरै लेखकहरूले सेवा निवृतपछि आफ्नो जीवनलाई साहित्य, कला, संस्कृतिको उत्थानतिर लगाएका छन् । देवेन्द्रराज शाक्यले पनि सेवा निवृतपछि आफ्नो महत्वपूर्ण समय साहित्य, संस्कृति र धर्मको अनुसन्धान, लेखन तथा अनुशीलनतिर लगाए । उनले सेवा निवृतपछि आनन्दसँग जीवन व्यतीत गर्न पाएनन् । उनलाई दीर्घरोगले च्याप्यो । त्यस्तो प्रतिकूल अवस्थामा पनि दीर्घरोगसँग पैठेजोरी खेल्दै अध्ययन, अनुसन्धान र अनुशीलनतिर लाग्दै जीवनलाई सार्थक बनाएरै छोडे । अनुकूलतामा भन्दा प्रतिकूलतामा श्रेष्ठता हासिल गर्न सक्ने क्षमता उनमा देख्दा जो कोही पनि आश्चर्यमा पर्छन् । उनी साँच्चैका मृत्युञ्जयी हुन् ।
उनमा अन्तरनिहीत क्षमता त पहिलादेखि नै थियो । तर उक्त अन्तरनिहित प्रज्ञा शक्तिको अन्तरज्वार प्रवाह भने २०६० सालदेखि लाभा बनेर औपचारिक रूपमा पुस्तकका माध्यमबाट बाहिर पोखिन थाल्यो । उनी ज्ञान प्रचारको युद्धमै लागेजस्तो गरी अघि आए । २०६० सालपछि उनले लगालग ९ वटा कृतिहरू प्रकाशित गरेरै छोडे । अरू ९ वटा मौलिक सिर्जना तथा अनुवाद पाण्डुलिपि अवस्थामा छन् । उनको पहिलो कृति वैशाख पूर्णिमा हो । यो २०६१ सालमा प्रकाशित भएको हो । त्यसपछि ‘यो बटौली हो’ (२०६१) ‘विश्व शान्तिको सहर लुम्बिनी’(२०६२) ‘महामानव बुद्ध प्रमुख घटना विवरण’ (२०६५) ‘आमा कविता संग्रह’ ( २०६५) ‘बुद्धकालीन केही प्रमुख विहारहरू’(२०७०) ‘जीवनका अनुभूति’ (२०७१), ‘थेरवाद बुद्ध धर्म’ (२०७१),‘प्राचीन कोलीय र शाक्य गणराज्य अन्तरगत बौद्ध सम्पदा’(२०७३) हुन् । यिनै कृतिबाट उनी नेपाली साहत्यमा आरुढ हुँदै र बौद्ध धर्म विज्ञको रूपमा परिचित हुँदै सबै बीच झल्किदै गए । उनको पहिचान देदीप्य बन्दै गयो । उनको जीवन सार्थक भयो । उनी अमर बनेरै छोडे ।
प्रस्तुत कृतिको भूमिकामा त्रिभुवन विश्व विद्यालय, भैरहवा बहुमुखी क्याम्पसका संस्कृति तथा पुरातत्व विभागका विभागीय प्रमुख प्रा.डा.गितु गिरीले प्राचीन कोलीय र शाक्य गणराज्य अन्तरगत बौद्ध सम्पदा कृतिको विषयमा भन्छन्—“एक्काइसौं शताब्दीमा आर्थिक उपार्जनको होडबाजी चलिरहेको तीतो यथार्थ हो । आर्थिक लाभ बिना अधिकांश कार्य सम्पादन गर्न असहज भएको चुनौतीपूर्ण अवस्थामा सांस्कृतिक, प्राकृतिक, जैविक तथा मानव निर्मित सम्पदाको दोहन र पर्यटन उद्योग परिचालन गर्ने माहोल सिर्जना भएको छ । यस्तो अवस्थामा बौद्ध सम्पदाको दोहन गरी पर्यटन उद्योग सञ्चालन गर्न सकिने भएकोले समेत यस पुस्तककले त्यो गोरेटो विस्तारमा समेत सहयोग पुराउने विश्वास गर्न सकिन्छ । त्यति मात्र नभई बुद्ध र बुद्ध शिक्षा बारे विद्यालयको पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापन हुँदाको अवस्थामा यस पुस्तकको महत्त्व रहने नै छ ।’’
वास्तवमा यो पुस्तक बौद्ध धर्मको अध्ययनको लागि आधारभूत तथा प्रारम्भिक पाठ्य सामग्री बन्न सक्ने देखिन्छ । यसलाई पाठ्य पुस्तकको ढाँचामा ढाल्नको लागि विषयगत वस्तुनिष्ठता, संरचनात्मक पुनः समायोजन, भाषागत सरलता र वर्णनात्मकतालाई ख्याल गर्नुपर्छ । अहिले पनि यस पुस्तकको ढाँचा पाठ्यपुस्तक निकट नै छ । यसलाई बौद्ध पर्यटकहरू, ट्रेकिङ्ग एजेन्सीहरू र त्यस अन्तरगत काम गर्ने पथ प्रदर्शकहरू, बौद्ध विश्व विद्यालयमा अध्ययन तथा अध्ययापन गर्ने विद्यार्थीहरू तथा प्राध्यापकहरू सबैको लागि यो पुस्तक श्रोत सामग्री बनेकै छ । यसलाई बौद्ध विश्व विद्यालयको पाठ्यक्रम अनुरूपका विषयवस्तुहरूमा केन्द्रित गरेर पुनः लेखन तथा प्रकाशन गर्नुपर्छ । यसले प्रशस्त बजार पाउनुको साथै स्रष्टाको कर्तव्य पनि पूरा भएको महशुस हुनेछ ।
लुम्बिनी नेपालको गौरव हो । यो गौरवलाई सीमापारि स्थानान्तरण गरी नेपाल र नेपालीको मान मर्दन गर्ने परचक्रीहरूको सक्रियताको बीचमा त्यो चक्रब्यूहलाई तोड्न सघाउँदै ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने अभियानमा लाग्ने देवेन्द्रराज शाक्य नेपाली जनताका लागि धन्य हुन् ।
उनले लुम्बिनीको गौरवगाथालाई उज्यालो बनाएका छन् । त्यसैले पनि उनी देशभक्त हुन् । उनले बुद्धको जन्मस्थल लुम्बिनीलाई मात्र हैन, त्यससँग जोडिएका सबै पावनधामहरूको परिचय दिएका छन् । उनले कोलीय गणराज्यको विषयमा वर्णन गर्दै पुण्यभूमि, देवभूमि देवदहको परिचय दिएका छन् । त्यसरी नै उनले पुरातात्विक महत्वका क्षेत्रहरू भवानीपुर बैरीमाई÷कन्यामाई, पाकरीको बोट, रामग्राम स्तूपको परिचय दिएका छन् । चिनिया यात्रीको अगमन, स्तूपको संरक्षण, बुद्धमङ्गगल ताल, शाक्य गणराज्य, तिलौराकोटको चर्चा गरेका छन् । उनले लुम्बिनी नेपालकै गौरव हो भन्ने कुरा बताउँदै बुद्धजन्म स्मारक शिला, अशोक स्तम्भ, पुस्करिणीको बयान गरेका छन् । चिनिया यात्री फा—यान हुयन साँङ्को अगमनको चर्चा छ । उनले कुदान, सगरहवा,गोटीहवा निग्लिहवा, निग्रोधाराम विहार, रोहिणीको आशनशाला, कालखेमकाराम विहार घटाय शाक्यको विहार, नयाँ संस्थागार,चैत्य प्रतिष्ठान, सैनामैना आदि क्षेत्रको संक्षिप्त परिचय दिएका छन् । त्यसको शुरक्षण एवं संवद्र्धनमा सुझाएका छन् ।
कृति प्रकाशन निकै कठिन काम हो । यस्तो काम गर्न निकै गाह्रो छ । धैर्यता र लगनको आवश्यकता हुन्छ । लेखक सहयोगी मनहरूप्रति असाध्यै कृतज्ञ छन् । सम्भवतः बौद्धमार्गीहरूको संस्कृति पनि हो । उनले बाजे पद्मराज शाक्य, बजै चित्रकुमारी शाक्य, फुपू करुणा अनागारिका, पिता चिनियाकाजी शाक्य, माता पुतलीदेवी शाक्यप्रति समर्पण गरेका छन् । त्यसरी नै अन्य थुप्रै आफन्तहरूप्रति मङ्गलमय आभार व्यक्त गरेका छन् । त्यसरी नै विभिन्न स्थानहरूको चित्र उल्लेख छ । कृतिको मूल्यजम्मा १००। छ । अहिलेको बजार मूल्यका दृष्टिले यो निकै सस्तो हो । यस पुस्तकलाई सबैले आफ्नो गृह पाठ्यशालामा संग्रह गर्नुपर्छ ।
अन्त्यमा देवेन्द्रराज शाक्यको प्राज्ञिक दक्षताको सम्मान र प्रशंसा गर्दै उनबाट हामी सबैले प्रेरणा लिनु पर्छ । उनी दर्जनांै पदक, पुरस्कार, सम्मान पत्र, प्रंशसा पत्रबाट विभूषित र अभिनन्दित छन् ।
उनी करिव २ दर्जन संस्थाहरूमा आबद्ध छन् । हामी उनीसँग लुम्बिनी वाङमय प्रतिष्ठानसँग जोडिएका छौं । ६ वटा संस्थामा त उनी संस्थापक अध्यक्ष नै भएका छन् । यसले पनि उनको कद र पदको परिचय दिन्छ । स्वार्थ र अर्थको माहोलमा चुर्लुम्म डुबेर हिंसा, व्यभिचार र शोषणमा लीप्त मान्छेहरूको बीचमा उनी परोपकारको प्रकाशपुञ्ज बनेर आएका छन् । प्रतिकूलतामा पनि दीर्घरोग विरुद्ध साहसका साथ लड्दै र भीड्दै एउटा सफल विद्वान बन्न सकेकोमा हामी उनलाई सुवास्थ्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दैछौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार