पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवस

आजभन्दा करिब ३०० वर्षअघि जन्मेर र अहिले उनको वंशले नेपालमा गरेको शासन सत्ता सकारात्मक नकारात्मक जस्तो भए पनि नेतृत्वको अवसान भएको एक दशकभन्दा बढी भइसक्दा पनि बिना कुनै विवाद प्रायः सबै नेपालीजनले श्रद्धापूर्वक सम्झने तथा राष्ट्रले घोषणा गरेको राष्ट्रिय विभूतिहरू मध्ये एक नाम हो पृथ्वीनारायण शाह । कैयौं देश विश्व साम्राज्यवादको औपनिवेशिकतामा रहँदारहँदै र अहिले आफूलाई म ठूलो हुँ अन्य नजिकका सबै साना हुन् भन्ने देश समेतको अस्तिवमा प्रश्न चिन्ह ? र कसैको गुलामीमा रहँदा समेत आफूलाई छुट्टै अस्तित्वमा पहिचान दिन सफल राष्ट्र नेपाल निर्माताको रूपमा पृथ्वीनारायण शाहलाई लिँदा कसैको विमति नहुन सक्छ । स–साना राज्य रजौटामा बाँडिएको बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सिर्जना गर्ने यिनी आधुनिक नेपालको राष्ट्र निर्माताको रूपमा चिनिन्छन् । भलै पृथ्वीनारायण शाहले त्यति बेलाको वरपर भएका स–सना राज्यहरूलाई आफ्नो गोर्खा राज्यको विस्तारको अभियानबाट शक्तिशाली गोर्खाराज्यको निर्माणको उद्देश्य भएता पनि अन्ततोगत्वा त्यो उनको विस्तार अभियान आधुनिक नेपालको निर्माणको लागि एक महत्वपूर्ण पाटो हुन पुग्यो । फलस्वरूप पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान पछिको निरन्तरता बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो । वि.सं. १८७३ सालमा सुगौली सन्धि नहुन्जेलसम्म पूरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो । विश्वका विभिन्न राष्ट्रहरूमा अफ्नो राष्ट्रको निर्माणमा योगदान पु¥याउने व्यक्तित्वहरूको सम्मान गर्ने गरिन्छ त्यसरी नै विगतदेखि नै पृथ्वी नारायणशाहको सम्मानमा पौष २७ लाई राष्ट्रिय एकता दिवस मनाउने गरिन्थ्यो । तर दुर्भाग्य नै भन्नु पर्दछ विशेष गरी २०६२।०६३ को परिवर्तनपछिका सरकारले पृथ्वीनारायण शाहलाई वा पौष २७ गतेलाई सम्मान दिन छाड्यो र यसको निरन्तरता आजसम्म पनि छ । केही समय अघिको एक तत्कालीन सरकारले कही नभएको जात्रा हाँडी गाउँको जस्तो गरी निर्वाचनको मुखमा जनताको मतलाई प्रभावित पार्ने उद्देश्यले एक महिना अगाडि नै पौष २७ गने सार्वजनिक बिदा दिने निर्णय गरेको काम रामै्र देखिएता पनि पृथ्वीनारायण शाहको योगदानको भन्दा स्वार्थका साथ दिइएको थियो भन्ने कुरा किन र के कारणले पौष २७ गते बिदा दिएको वा सरकारले राष्ट्र एकताका सूत्रधार पृथ्वी नारायणशाहको योगदान स्वरूप विभिन्न कार्यक्रमहरू मनाउँदै उनको सम्मानमा बिदा दिएको हो भन्नेसम्म आधिकारिक रूपमा भन्न सकेन । यसबाट नेपालका हिजो आज शासन सत्ता समाल्नेहरू जसले हामीनै यस देशका सर्वेसर्वा हौ भन्नेहरू पृथ्वीनारायण शाहको योगदानलाई अन्तरआत्माबाट आत्मसात गर्न नसकेको देखिन्छ ।
पञ्चायतकालीन समयमा पौष २७ गते बिदा दिने र त्यसबेला विभिन्न कार्यक्रम गर्ने गरेको भएता पनि यो मानसपटलमा याद भएसम्म त्यति बेला कार्यक्रममा बोल्ने वक्ताहरूले पृथ्वीनारायण साहको योगदानको चर्चा भन्दा पनि त्यति बेलाको सत्ताको गुन गाउनमै व्यस्त रहन्थे ।
भने २०४६ सालको परिवर्तन वा २०६३ सालको परिवर्तनपछि देशमा आफूलाई सर्वेसर्वा मान्नेहरूले आ–आफ्ना पार्टीका नेताहरू जसको राष्ट्र निमार्णको लागि जनताले आत्मसात गर्ने गरी खासै ठूलो भूमिका नभएता पनि तिनलाई महान बनाउन विभिन्न कार्यक्रम गर्ने सरकारमा रहेका बेला राष्ट्रिय ढिकुटीको दोहन गरी आसेपासेहरूलाई कार्यक्रम गर्न पैसा बाढ्नेहरूलै एउटै मञ्चबाट एकै स्वरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानवारे चर्चा आजसम्म पनि गरेका छैनन् । के हामी सोंच्न सक्छौं यदि हामी बाइसे, चौबीसे राज्य रजौटाहरूमा रहिरहेको भए आज नेपालको अस्तित्व कति सम्भव थियो वा थिएन प्रश्न उठ्न सक्छ । भन्न त पछि पृथ्वीनारायण शाहको राष्ट्रिय एकता अभियानलाई साम्राज्यवाद वा सामन्तवादको विस्तार भन्नेहरू आज विस्तारै उनको योगदानको बारेमा बोल्न थालेका छन् यस्को मतलब अब पृथ्वीनारायण शाह र भौगोलिक विभाजनमा रहेको नेपाललाई सिंगो राष्ट्र निर्माणको योगदानलाई सबैले सम्मान गर्न सक्नु पर्छ नत्र राष्ट्रियताको नारा मात्र जपेर केही हँुदैन् । पुस्तकहरू हुन् वा शालिकको रूपमा देखिने पृथ्वीनारायण शाहको प्रतिविम्बमा समेत एक हात माथि राखेर एक औंला देखाउनुमा नेपाल सिंगो छ र एकीकृत छ भन्ने आभास दिन्छ । आजको दिनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू विभिन्न वहानामा नेपाल र नेपालीहरूलाई विभाजित गरी आफ्नो स्वार्थ पूरा गर्न तल्लीन रहेको अवस्थामा पृथ्वीनारायण शाहको एकीकृत नेपालको सन्देश आज पनि सान्दर्भिक छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे ।
उनको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले विश्लेषण गरेका छन् । तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए । नेपालको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार गरी अहिलेको भन्दा विशाल नेपालको निर्माण गरेका राष्ट्रिय विभूतिको योगदानलाई सम्मान नगर्ने तर भएका नदीनालाहरू बेच्ने ? राष्ट्रको भूमि मिचिदासम्म चु नगर्नेहरू ? त्यो भन्दा बढी कोही खुलेर कोही लुकेर विदेशी भूमिका नेताहरूसँग आफ्नै देशको अस्मितामा हाम्रौ स्वार्थको लागि धावा बोल्न लगाउनेहरू नै पृथ्वीनारायण शाहको योगदानलाई कथित एक जातिको राज्य विस्तार र विभेदको कारक तत्व भन्दै कुर्लन्छन् । राष्ट्र निमार्णमा मात्र नभई पृथ्वी नारायण शाह एक कुशल शासक तथा नेता र युद्ध कौशलतामा निपुर्ण थिए भन्ने विषय सक्नेलाई हतियार र नसक्नेलाई सन्धि, विवाह , मैत्रीसम्बन्धमार्फत आफ्नो अधीन बनाएका थिए जुन विषय आजको नेतृत्वलाई पनि अध्ययनको विषय हुन सक्छ भने उनले दिएका उपदेशहरू हेर्न हो भने उनी एक दूरदशी शासक थिए भन्ने आभास दिन्छ भने उनले भनेका उपदेशहरू आजको नेपालको परिप्रेक्षमा समेत सान्दर्भिक जस्तो लाग्छ । यी उपदेशहरू उनले आफ्नो मृत्युको घडीमा घाटमै राखिएको बेला नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा थिए जसलाई ’दिव्य उपदेश’ समेत भनिन्छ ।
“नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ । दक्षिणको बादशाह महाचतुर रहेछ । , जाइकटक नगर्नु, झिकी कटक गर्नु ।, नेपाल चार वर्ण, छत्तीस जातको साझा फूलबारी हो ।“ घूस खाने र घूस दिने राज्यका दोषी हुन्, आदि जस्ता सान्दर्भिक उपदेशहरू पृथ्वीनारायण शाहले दिएका थिए । वि.स. १७७९ पौष २७ गते जन्मेका यिनी १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लामा पर्ने त्रिशूली र तादी नदीको संगम ’मोहन तीर्थ’ वा देवीघाटमा मृत्यु भएको थियो । अन्यमा पृथ्वीनारायण शाहको योगदानलाई सम्झदै आज पौष २७ का दिन सबै नेपालीले राष्ट्रिय एकता दिवसको रूपमा स्मरण गरौं ।
अन्त्यमा पृथ्वीनारायणको निधनपछि पनि सुगौलीको सन्धि वि.सं.१८७३ नहुन्जेलसम्मको लामो वीरतापूर्ण अभियानबाट मात्र आजको नेपाल, एउटा स्वाधीन राष्ट्रको रूपमा उदय भएको हो । तत्कालीन हिन्दुस्तानमा मुगल साम्राज्य अस्ताउँदै गएको ऐतिहासिक संक्रमणकालीन युगमा हिन्दुस्तानी सत्तामा अंग्रेजको वर्चश्व र औपनिवेशिक साम्राज्यवादी हालिमुहाली बढ्दै गएको अवस्थामा यता आधुनिक एकीकृत नेपालको परिकल्पना र राष्ट्र निर्माणको आवश्यकता थियो त्यसलाई पृथ्वी नारायण शाहले अगाडि नबढाएको भए नेपाल आजकै मानचित्र र स्वाधीन अवस्थामा रहने थियो वा थिएन भन्ने विषयमा हामी सबैले सोंच्ने हो भने पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार