दैनिक पत्रद्वारा बौद्ध वाङ्मयका साधक शाक्यद्वय सम्मानित 

बुटवल । बौद्ध धर्म–संस्कृतिका अध्येता तथा लेखक देवेन्द्रराज शाक्य र उनकी धर्मपत्नी लेखिका धर्मी शाक्यलाई दैनिक पत्र र जनसंघर्षले सम्मान गरेको छ । बुटवल मिडिया प्रकाशन प्रालिको प्रधान कार्यालय बुटवलमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै शाक्यद्वयलाई सम्मान गरिएको हो ।
कार्यक्रममा दैनिक पत्रका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले सम्मान गरेका हुन् । सम्मानपछि बोल्दै लेखक देवेन्द्रराज शाक्यले आफू अस्वस्थ्य रहेको अवस्थामा पनि दैनिक पत्र र बालकृष्ण चापागाईंले बोलाएर सम्मान व्यक्त गरेकोमा यस संस्था र यस संस्थाका सञ्चालक समस्त परिवारप्रति हार्दिक आभार प्रकट गरे । बौद्ध वाङ्मयमा एक दर्जन ज्यादा कृति लेखेका उनले आफ्नो जीवनकालमा केही सकारात्मक कार्यहरू गरेको बताउँदै बौद्ध धर्म दर्शनको लागि केही प्रयास गरेको र आफूले सक्दासम्म पहल जारी राख्ने बताए ।
त्यस्तै बौद्ध धर्ममा महिलाको स्थानबारे कलम चलाउँदै आएकी लेखक धर्मी शाक्यले आफू देवेन्द्रराज शाक्यसँगको सामिप्यता र प्रेरणाले कलम चलाउन शुरु गरी केही पुस्तक प्रकाशन गर्न सकेकोमा गौरवको अनुभूति भएको बताइन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा पूर्वसांसद रामचन्द्र भट्टराईले रोगहरूसँग लडेर पनि उत्साहपूर्वक बाँची रहेका शाक्यले बौद्ध धर्म दर्शन र संस्कृतिसम्बन्धी निरन्तर कलम चलाएर यस क्षेत्रमा योगदान पु¥याएकोमा बधाई दिँदै सुस्वाथ्य र दीर्घ जीवनको कामनासहित लेखन कार्यलाई निरन्तरता दिइरहन शुभकामना दिए ।
उनले पछिल्लो समयमा उपहास, उपेक्षा र निन्दामा रमाउन थालेको विकृत समाजलाई सम्मानको सकारात्मक संस्कृतिको जग बसाल्न खोजेकोमा बालकृष्ण चापागाईलाई धन्यवाद दिएका थिए । त्यसैगरी लेखक तथा पूर्व सांसद देवेन्द्र घिमिरेले आफूहरू ०२४ सालदेखि सँगै काम गरेको भन्दै देवेन्द्रराज शाक्यले बौद्ध वाङ्मयको लेखनमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै संविधान सभाका सभासद् विनोद पहाडीले जीवनमा धेरै कुराहरू शाक्यबाट सिक्न बाँकी रहेको बताए । उनले शाक्यका लेख तथा विचारहरू उत्कृष्ट भएको भन्दै अझै निरन्तरताको लागि आग्रह पनि गरेका थिए ।
सोही कार्यक्रममा बोल्दै ‘लोक अभियान’ पाक्षिकका प्रधान सम्पादक तथा अग्रज पत्रकार कर्णबहादुर कार्कीले जीवित अवस्थामै व्यक्तिले गरेको योगदानको सम्मान र समीक्षा हुनु सकारात्मक पक्ष भएको बताउँदै यस्तो खालको असल संस्कृतिको सुरु गरेकोमा बालकृष्ण चापागाईंलाई धन्यवाद दिए ।
कार्यक्रममा बोल्दै लेखक झपेन्द्र जीसीले आफूले बौद्ध धर्मको बारेमा ज्ञान आर्जन गरिरहेको जानकारी गराउँदै आफू धर्म निरपेक्ष रहेको तर बौद्ध साहित्यबाट आफू निकै प्रभावित भएको बताए ।
यस्तै बौद्ध वाङ्मयका साधक तथा बुटवल उपमहानगरका पूर्व उपप्रमुख विमल बहादुर शाक्यले देवेन्द्रराजका कृतिहरू सरल भाषामा हुने बताउँदै उनका कृतिहरू जो सुकैले पनि सहज बुझ्न सक्ने बताए । उनका कृतिहरूमा अनुसन्धानात्मक कुराहरू रहेको शाक्यको भनाइ छ । बुनपा वार्ड नं १ का वडा अध्यक्ष महेन्द्र लिगलले विगत लामो समयदेखि बौद्ध धर्म र साहित्यमा देवेन्द्रराज शाक्यको ठूलो योगदान छ भन्दै उनबाट धेरै कुरा सिक्न बाँकी रहेको बताए । पद्य्म चैत्य विहारका अध्यक्ष सुरेशरत्न बज्राचार्यले देवेन्द्रराज शाक्यबाट बौद्ध धर्म दर्शन सम्बन्धि आफूले धेरै ज्ञानकारी प्राप्त गरेको बताउँदै उनको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गरे ।
त्यस्तै बुद्धिजीवी मनोहर पाठकले उनीबाट निरन्तर अध्ययन, साधना, स्वास्थ्य सम्बन्ध र नैतिक शिक्षा ग्रहण गर्न लायक कार्य भएको बताए । युवा साहित्यकार रामचन्द्र श्रेष्ठले देवेन्द्रराज शाक्य अनुकरणीय व्यक्ति भएको भन्दै समाजले उनबाट थुप्रै प्ररणा लिएको बताए । संस्कृतिविद् राजेन्द्र आचार्यले बौद्ध साहित्यका अथक साधक देवेन्द्रराज शाक्यबाट आफू प्रभावित भएको बताउँदै बौद्ध साहित्यको खोज अनुसन्धानमा आफूसँगै लाग्ने बताएका थिए । त्यसरी नै दैनिक पत्र दैकिकका तर्फबाट मञ्जु पौडेल, उषा पौडेल र कृष्ण रणपाललगायतले शुभकामना दिएका थिए ।
बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित दैनिक पत्र र जनसंघर्षका कार्यकारी प्रमुख तथा प्रधानसम्पादक बालकृष्ण चापागाईंको अध्यक्षता र प्रबन्ध सम्पादक ऋषि आजादको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार