जातीय  आरक्षण ः कत्तिको जायज ?

१.विषय प्रवेश ः
कुनैपनिदेशको सबैभन्दामुख्य विनाशको युद्ध भनेको जातीय युद्ध हो । जातीय युद्ध यस्तो कडा खालको विषय हो, जसले अनन्तकालसम्म डसिरहन्छ । नेपालमा पनि यस्तो विषको रोपण भएको छ । खासगरी जनयुद्ध कालमा तत्कालिन माओवादीले आफ्नो मिसन पूरा गर्न यस्तो विष रोपेकोमा कुनै शंका छैन । यो विषले नेपालमा यति उग्र रुप लियो कि कतै नेपाल पनि अब अनन्तकालसम्म गृहयुद्धमा फस्ने त होइन ? सबैलाई त्रास यो मानेमा थियो कि अब आफू कहाँ गएर बस्दा सुरक्षित भइएला र कहाँ बसाईं सर्दा ठिक होला भन्नेमा नै मानिसहरुको चिन्ता थियो । केही समय यही विषको प्रभावले सारा नेपालीहरुलाई अब नेपाल पनि कंगो र सुडान नै बन्ने भयो भन्ने चिन्ता थियो । तर विवेकशील नेपालीहरुले जातीय आन्दोलनलाई बढाएर कसैलाई पनि कहिल्यै पनि फाइदा नहुने बरु अत्यावश्यक व्यवस्था संविधानमै गर्ने भन्ने सहमति पश्चात् जातीय आन्दोलनहरु किनारा लागि सास फेर्न पाएको अवस्था कायम छ । यद्यपि यस बिचमा देशी विदेशी जातीयवादका नाइकेहरुले भित्रभित्रै षड्यन्त्रका तानाबानाहरु बुनिरहेकै थिए र बुनिरहेका पनि छन् । यस आलेखमा कसैलाई भावनात्मक रुपले चोट दिने उद्देश्य नभई स्वस्थकर बहसको शुरुवातका लागि कसैलाई लाग्नसक्ने तीता र नमिठा शब्दहरु जा।तीय आरक्षणका सवालमा राख्ने जमर्को गरिएको छ ।यसबाट कसैलाई पर्नसक्ने सम्भावित दुःखप्रति लेखक शुरुमै क्षमाप्रार्थी छ ।
२. अहिलेको समस्या के हो ?
जातीय आरक्षणका तरङ्गहरु उठिरहेको अवस्थामा अहिले लोकसेवा आयोगमा भएको विज्ञापन काण्ड, संसदीय समितिले सरकारलाई दिएको निर्देशन र सर्वोच्चमा परेको मुद्दाको कुराले गर्दा पुनःजातीय राजनीति गर्नेहरु सलबलाउन थालेका छन् । देशको एकमात्र भरोसा युक्त संवैधानिक स्वतन्त्र निकाय लोकसेवा आयोगमा समेत राजनीति पसेबाट अब नेपालका कुनैपनि संघ संस्थाहरु स्वतन्त्र छन् भनेर भन्न सक्ने अवस्था रहेन । यही नै सबैभन्दा ठूलो दुर्भाग्य हो । अदालत, मानवअधिकार, अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र, विभिन्न आयोगहरु हुँदै अब लोकसेवा आयोगमा पनि राजनीति गर्ने हो भने कुन संस्थालाई भरोसा गर्ने र चित्त बुझाउने ? सानैदेखि मिहिनेत र परिश्रम गरी राम्रो अंकका साथ उत्कृष्ट नतिजा ल्याई सरकारी सेवामा प्रवेश गर्ने क्षमतावान विद्यार्थीका लागि यो भन्दा दुर्भाग्य के हुन सक्ला ? चारैतिर निराशा र नमज्जा देखिरहनु पर्ने यो हामी नेपालीको के विवशता हो ? हामीले कुन जुनीमा के पाप कर्म गरेका कारण यस धर्तीमा जन्म लिई अपनत्वको महशुस् गर्न पाएका छैनौं ?जताततै अनकण्टार बनाई किन र कसका लागि शासन गर्न सत्तामा गएका छौ महानुभावहरु ? के तिमीहरुलाई अलि कति पनि देशको माया लाग्दैन ?खाली भँडाउन, फाटो हाल्न र षड्यन्त्र गर्नमा मात्र कति दिमाग लगाउँछौ ?
जताततै हस्तक्षेप गरी थिति बसाल्न सके त राम्रो तर थिति बसाल्न नसक्ने खाली भाँजो मात्र हाल्ने सांसद, सरकार र राजनीतिज्ञ हामीलाई किन चाहियो ? के यसैका लागि हो हामीले कर तिरेर तिमीहरुको जीवनचर्या चलाउन राज्यको तालाचाबी सुम्पिएको ? अब त सोंच्ने बेला भएन र ? संसारका विकसित देशहरु कहाँ पुगिसके केही हेक्का छ छैन ?ती देशहरुलाई भेट्याउन हामीलाई अथक परिश्रम गरे पनि कति वर्ष लाग्न सक्छ थाहा छ ?कम्तीमा आजैदेखि सबैको आचरण सुधार गरी अथक रुपले लाग्ने हो भने पनि कम्तीमा सय वर्ष लाग्छ । हामी अझै अरु देशभन्दा हरेक कुरामा सयौं वर्ष पछाडि छौं । २१ औं शताब्दीमा पनि हामी यस्तो युगमा बाँच्न विवश छौं किन? के हामीले ईश्वरको श्राप पाएर हो ?होइन भने आफू बाँचुञ्जेल र आफू सत्तामा छउञ्जेल किन कु कर्म गर्ने ?किन राम्रो नगर्ने ?किन इतिहासमा नाम नलेखाउने ? खै नेताहरुको घैंटोमा घाम लागेको ?जायज कुरामा पनि किन सधैं विरोध गर्नु पर्ने र नाजायज कुरामा किन आवाज निकाल्न नसक्ने ? यो हाम्रो आचरणमा आजैदेखि सुधार गर्नु आवश्यक छ ।
३. आरक्षण के हो र कहिले सम्म हो ?
जब पछाडि परेको र संरक्षण दिनैपर्ने समूह राज्यको मूलधारमा आउँदैनन् । राज्यका हरेक सेवा सुविधाबाट बञ्चित भई राज्य भएको अनुभव गर्दैनन् र राज्यसम्म पहुँच पुगेको अनुभव गर्दैंनन् भने त्यस्ता समूहलाई कुनै अवसरमा संरक्षण दिई राज्यको मूलधारमा ल्याउन राज्यबाट दिइने सहयोग नै आरक्षण हो । आरक्षण केही समयको लागि दिइने संरक्षण भएकोले आरक्षण आफ्नो जन्मजात देखिको अधिकार हो भनेर भन्न मिल्दैन । अहिले लोकसेवा आयोगले खुलाएको विज्ञापनलाई लिएर यतिविधि बबण्डर गर्नु आवश्यक थिएन । तर तिललाई पहाड बनाउने काम भएको छ र नमज्जा लाग्ने मसला निकालिएको छ । किन हामीले आरक्षण कोटा राखेको भन्ने त सबैलाई थाहा होला तर आरक्षण के सधैंका लागि हुन्छ र ?युगौं युगसम्म त आरक्षण हुँदैन नि । जब यस्तो पिछडिएको समूह राज्यको मूलधारमा आईपुग्छ, तब आरक्षण दिई रहनको लागि आवश्यकता पर्दैन । आरक्षण यस्तो हुनुपर्नेमा हामीले गलत अर्थ लगाई संवैधानिक गल्ती गरिसकेका छौं । यहाँ आवश्यकताको आधारमा आरक्षण नदिई जातको आधारमा आरक्षण दिने संवैधानिक भूल गरिसकियो । यसैलाई आधार बनाई दलित वा जनजाति भएकै आधारमा आरक्षण आफ्नो जन्मसिद्ध अधिकार भएको कुरालाई मागका रुपमा ल्याउने काम गरिएको छ, जुन भनिरहँदा असाध्यै तितो लागे पनि आखिर सत्य यही हो कि आरक्षण जातिका आधारमा दिने होइन र यसरी दिनु गलत छ ।
जतिसुकै धनी र सम्पन्न भए पनि दलित र जनजातिको छोरा छोरीले आरक्षणको कोटा पाउने तर गैह्र दलित जतिसुकै गरीब, विपन्न, पिछडिएको र दुर्बल भएपनि आरक्षण नपाउने व्यवस्था गर्नु कत्तिको जायज हो ?यसकारण के भन्न सकिन्छ भने कि त अबदेखि आरक्षणको व्यवस्था गर्दै नगरौं र गर्ने नै हो भने जातको आधारमा त गर्नै हुँदैन । आरक्षणको व्यवस्था गर्नु अझै आवश्यक ठानिएमा भौगोलिक क्षेत्र, आर्थिक अवस्था, अवसरको सदुपयोग गर्ने क्षमता जस्ता आदि कुरालाई मापदण्ड बनाउनै पर्छ । यसले कसैलाई नराम्रो लाग्ला र कसैको आत्मसम्मानमा ठेस पुग्ला जस्तो लाग्दैन । किनकि आखिर एक त आरक्षण युगदेखि युगसम्म हुँदैन र अर्को आरक्षणले केही समय आनन्द आए पनि कुनै दिन पछुतो लाग्छ । उदाहरणको लागि बाहुन वा क्षेत्रीको छोराले डाक्टर पढ्न ९५ प्रतिशत ल्याउँदा पनि नपाउने र दलित वा जनजातिको छोराले सोही प्रतिस्पर्धामा ५५ प्रतिशत ल्याउँदा पढ्न पाउने भएमा केही क्षण त आफूले ठूलै युद्ध जिते जसरी आनन्द पक्कै आउँछ तर केही समय पश्चात् जब उसले कुरा बुझ्छ र आफ्नो कारणले प्रतिभावान् व्यक्तिले पढ्न नपाएको कुराले उसलाई जीवनभर पोलिरहन्छ । के यस्तो हुनु दुःखलाग्दो होइन त ? एकपटक सबैले महशुस् गर्नुपर्ने भएको छ ।
आरक्षणको यस सवालले पक्ष विपक्षमा अनेक मतहरु आउलान् तर जायज कुरा सधैं जायज नै हुन्छ । मुढे बल र चतु¥याईंका आधारमा केही समय नाजायज कुराले पनि स्थान पाउलान् तर कालान्तरमा जायज कुराकै जित सुनिश्चित छ । सुविधा खाँदै आएकाहरुलाई यस्ता कुराहरुले फरक पार्न सक्छ र अभ्यस्त हुन समय लाग्छ तर वास्तविकताको नजिक पुगेर हेरेपछि स्वतःचित्त बुझ्न थाल्छ र अभ्यस्त हुन पनि सकिन्छ । त्यसकारण हामी क्षणिक आवेशमा आएर होइन कि दीर्घकालिन असर पार्ने यस्ता कुराहरुलाई समयमै सच्याउनु राम्रो हुनेछ । आरक्षण नै सही तर आरक्षण कहिलेसम्म दिने त ? प्रष्ट हुनुप¥यो नि । आरक्षण नै सही तर आरक्षण के को आधारमा दिने त ?आरक्षण दिंदा के जातिगत नाम थर भएको आधारमा दिनु जायज हो त ?आरक्षण पाउन केवल दलित वा जनजातिकै कोखबाट जन्मलिनुपर्ने हो त ? के विपन्न र पिछडिएको बाहुन क्षेत्रीले नाम र थरको कारणले कहिल्यै आरक्षण नपाउने त ?यसो भनिरहँदा खस आर्य समूहलाई पनि केही आरक्षण कोटा छुट्याइएको छ । उसो भए गैह्र दलित, दलित, जनजाति, मधेसी, महिला आदि सबैले आरक्षण नै पाउने हो भने बाँकीको रह्यो त ?आखिर सबै वर्ग र समूहले आरक्षण कोटा लिइरहेका छन् भने सबैको लागिपनि आरक्षण हुन्छ र ? सबै उही भएपछि वर्ग नै भएन हैन र ?यदि हो भने आरक्षण किन र के का लागि त ?यसलाई सधैंका लागि अन्त गर्ने कानुन बनाई संविधान संशोधन गरे कसो होला?
४. अन्तमा
आरक्षण सम्बन्धी विषयलाई सबैले बुझियो भने सबैका हितका लागि र राष्ट्रको गुणस्तरीय विकासका लागि आरक्षण प्रथा गलत छ भन्न सकिन्छ । अन्यथा सबैले यसलाई आफ्नो प्रतिष्ठा र जन्मसिद्ध अधिकारसँग जोडियो भने निश्चित छ कि यो महारोगको रुपमा र जातीय द्वन्द्वका रुपमा युगौंसम्म रहनेछ । यसका साइड इफेक्ट्हरु डरलाग्दा हुनेछन् र कसैलाई भलो नभई कुभलो मात्र हुनेछ । अतःआजैदेखि आरक्षण पद्धति कत्तिको सही र कत्तिको गलत भन्ने बारेमा स्वस्थ बहस चलाऔं । स्वस्थ बहसले पक्कै पनि स्वस्थ निकास निकाल्ने नै छ । अस्तु
लेखक ः मध्यविन्दु बहुमुखीक्याम्पस कावासोती नवलपुरका प्राध्यापकहुन ।

ताजा अपडेट
सम्बन्धित समाचार