साना तथा मझौला ढुवानीको पाँचौं साधारण सभा

 बुटवल।  लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको पाँचौं साधारण सभा बुटवलमा सम्पन्न भएको छ । कुल ४ सय वटा साना तथा मझौला ढुवानीका साधनहरू रहेको सो संस्थाको साधारण सभामा बोल्ने वक्ताहरूले सवारी साधनहरूको व्यवस्थापन र दुर्घटना न्यूनीकरण प्रमुख चुनौती बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
सवारी दर्ता, पार्किङ्गलगाएतका समस्या र चुनौतीका विषयमा सरकार गम्भीर भएर लाग्नुपर्ने अवस्था आएको चर्चा गर्दै सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरूले यातायात सम्बन्धि नीति, नियम र कार्यविधि बनाउँदा सबै सरोकारवालाहरूसँग छलफल गर्न, ट्राफिक नियमलगायतका बारेमा विद्यालयस्तरमै पाठ्यक्रम बनाउन र दीगो विकासको लक्ष्य हासिल गर्नसमेत आग्रह गरेका छ ।
सभाको उद्घाटन गर्दै प्रदेश पाँचका भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले यातायात क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकार प्रयत्नशील रहेको बताए । बिगतमा सडक निर्माण, नीति निर्माण र सवारी दर्ता गर्दा दुरदर्शिताको अभाव रहेका कारण हाल आएर समस्या उत्पन्न भएको उल्लेख गर्दै मन्त्री चौधरीले अब संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य गर्दै दीर्घकालीन सोंचका साथ यातायात क्षेत्रका नीति निर्माण गरिने बताए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बुटवलमा सवारीको चाप अत्यधिक बढेको र पार्किङ्ग समस्या समाधान गर्न विशेष खालका पार्किङ्ग स्थलहरू निर्माण गर्ने सोंच बनाइएको जानकारी गराइन् । ट्रक तथा परिवहन यातायात महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले यातायात व्यवसायीहरूको समस्याप्रति सरकार गम्भीर नरहेको भन्दै गुनासो गरे ।
पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले यातायात क्षेत्रका धेरै समस्याहरूमध्ये चेतना अभाव पनि एक प्रकारको समस्या भएको टिप्पणी गर्दै सवारी सम्बन्धि शिक्षालाई व्यापक बनाउनु पर्ने आवश्यक्ता औंल्याए ।
सरोकारवाला निकाय लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघका अध्यक्ष लक्ष्मण क्षेत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, केन्द्रीय सदस्य एवं प्रदेश संयोजक यमप्रसाद पाण्डे, यातायात मजदुर भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, संघका उपाध्यक्ष दिनेश थापा, पत्रकार सन्जु पौडेललगायतले साना तथा मझौला ढुवानी व्यवसाय क्षेत्रका समस्या र समाधानका उपायहरू बारेमा चर्चा गरेका गर्दै यातायात व्यवसायी, सवारी चालकलगायत मजदुरप्रति सरकारी दृष्टिकोणमा परिवर्तनको आवश्यक्ता रहेको तर्क गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार