राप्ती तटबन्ध गर्न दाङ र बाँकेमा एक अर्ब बजेट

 दशरथ घिमिरे
दाङ । राप्ती नदी तटबन्ध गर्न जनताको तटबन्ध कार्यक्रमबाहेक विशेष कार्यक्रम लागू हुने भएको छ । आगामी बर्षदेखि कार्यान्वयन हुनेगरी जलस्रोत तथा सिंचाई विभाग अन्तरगत रहेको डब्लुआर पिपिएफ परियोजना र एशियाली विकास बैंकबीच राप्ती नदी तटबन्ध गर्न सम्झौता भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको विशेष पहलमा एक अरबको बजेट दाङ र बाँके जिल्लामा राप्ती नदी तटबन्ध गर्न एशियाली विकास बैंकबीच सम्झौता भएको प्रदेश सभा सदस्य इन्द्रजित थारुले जानकारी दिए । ‘राप्ती नदी नियन्त्रणको लागि आर्थिक बर्ष ०७५÷०७६ सम्म जनता तटबन्धनले गरेको योजनाबाहेकको नयाँ योजनाहरू ऊर्जामन्त्री बर्षमान पुनको विशेष पहलमा आगामी आर्थिक बर्षदेखि कार्यान्वयन हुने भएको छ’ सांसद थारुले भने–‘राप्ती नदीलाई व्यवस्थापन र नियन्त्रण दुवै आवश्यक थियो । नयाँ कार्यक्रमले राप्ती नदीको व्यवस्थापनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरको छौं ।’
दाङ र बाँके जिल्लामा जनताको तटबन्ध कार्यक्रमले पूरा हुन नसकेको स्थानमा नयाँ कार्यक्रम लागू हुने जनताको तटबन्ध कार्यालय लमहीका प्रमुख विनोद चापागाईले जानकारी दिए । ‘करिब एक अरब बजेट छ । यो बजेटबाट जनताको कार्यक्रमभन्दा बाँकी रहेको ठाउँमा योजना केन्द्रित हुनेछ’ जनताको तटबन्ध कार्यालय लमहीका प्रमुख चापागाईले भने–‘पचाहादेखि तकियापुरसम्मको बाँकी भाग, गढवाको कान्छी गाउँ, सतबरियाको बाँकी भागलगायतका अन्य स्थानमा तटबन्ध कार्यक्रम लागू हुनेछ ।’
अहिले तटबन्धको लागि स्थलगत डिजाइन सर्वे गर्ने काम चलिरहेको छ । यो आर्थिक बर्षको अन्तिममा बोलपत्र आह्वान हुने र त्यसपछि तटबन्धको कार्य शुरु हुने छ । राप्ती नदीको दुवै किनारमा तटबन्ध गर्ने योजना छ । राप्ती नदीमा आएको बाढीले सयौं विगाह जमिन कटान गरेर बगरमा परिणत गरेको छ । वृहत तटबन्ध भएमा नदीले बगर बनाएको जग्गा उकास हुनेछ । जनताको तटबन्ध कार्यक्रम लागू भएपछि करिब १५ किलोमिटर क्षेत्रमा तटबन्ध भएको छ । जसबाट वडहरा क्षेत्रमा पाँच सय विगाह जग्गा उकास भएको छ ।
जेठान गाउँमा पाँच सय विगाह जग्गा निस्किएर माछापालन गरिएको छ । अहिले तटबन्ध शुरु भएको गढवा पुलदेखि तल पाँच सय विगाह जग्गा उकास हुने लक्ष्य राखिएको छ । तटबन्धबाट कालीपुरुवा गाउँ जोगिएको छ । महदेवामा तटबन्ध भयो भने एक हजार विगाह जग्गा उकास हुने तथ्यांकले देखाएको जनताको तटबन्ध कार्यालयले जानकारी दियो । यस बर्ष जनताको तटबन्ध कार्यालयले राप्ती नदीको दाङ खण्डमा तटबन्ध गर्न ६ करोड ७५ लाख प्राप्त गरेको छ । ‘धेरै जोखिम भएका गाउँ सबै सुरक्षित छन्’ कार्यालय प्रमुख चापागाईले भने–‘राप्तीको दुवै किनारमा तटबन्ध बनाएर बाटो निकाल्ने लक्ष्य हो । सडक निस्किएर वैकल्पिक मार्ग बन्ने थियो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार