दलित महिला जनप्रतिनिधिमाथि विभेद

दलित महिला केन्द्र नेपालले बुटवल उपमहानगरपालिका विभिन्न वडाहरुबाट निर्वाचित आदरणीय दलित महिलाहरुको सहभागितामा भएको कार्यक्रममा पत्रकारहरु र दलित महिला प्रतिनिधि बीचमा संवाद गराइएको थियो । त्यस संवादमा भाग लिदै दलित महिला जनप्रतिनिधिहरुले आफूमाथि हुने छुवाछुत सम्बन्धी व्यवहारहरुको खुलेर राखे । यो छलफलले बुटवलजस्तो सहरमा त यस्तो हालत छ भने सञ्चार माध्यमहरुको पहुँच नभएका दूर्गम बस्तीहरुमा कस्तो होला भन्ने विषयमा पत्रकारहरु गम्भीर बने । यसले पत्रकारहरुलाई अरु ज्यादा जिम्मेवारी वहन गर्नुपर्छ भन्ने महशुस गरायो ।
दलित महिलाहरुले स्थानीय तहमा सुरक्षा अभावको कारण खुलेर बोल्न समस्या भएको बताए । टोल टोलमा दिनहुँ छुवाछुत र हिंसाका घटनाहरु घटेका हुन्छन् । तर ती घटनाहरु समाचारको रुपमा आएमा त्यसको आरोप दलित महिला जनप्रतिनिधिमाथि पर्छ । गैर दलितहरुले दलित जनप्रतिनिधिहरुलाई सिधै नभने पनि विभिन्न तरिकाले बहिस्कार गर्ने प्रचलन छ । हुन त लोकतन्त्रमा जनता मालिक भएकोले जनप्रतिनिधिले आम जनतालाई नमस्कार गर्नुपर्छ । यो लोकतान्त्रिक संस्कृति हो । तर हाम्रो समाजमा त्यो संस्कृति आउन धेरै समय लाग्ला ।
चारजना निर्वाचित प्रतिनिधिलाई नमस्कार गरिन्छ तर एकजना दलित जनप्रतिनिधिलाई नमस्कार गरिन्न । यस्तो व्यवहारले विभेद गरेका जस्तो लाग्छ । सहरी समाजमा प्रायः उमेरको आधारमा नमस्कार गरिन्छ तर समाजमा दलित भएकै कारण वृद्धवृद्धाहरुलाई नमस्कार पाउने अवस्था छैन । दलितको आत्म सम्मान समाप्त भएको छ । उनीहरुको पहिचान पनि छैन । समाजमा परेका समस्याहरुमा दलित जनप्रतिनिधिहरुलाई कम सहभागिता गराइन्छ । कुनै सभामा बोल्न पनि अवसर छैन । कतै बोलियो र दलित छुवाछुत र विभेदका कुरा राखियो भने तँ त जनप्रतिनिधि होस् तैले तेरो समुदायको कुरा मात्र राख्न पाउँदैनस् सबैका कुरा राख्नु पर्छ जस्ता कुराहरु आउँछन् । धेरैले दलित महिलाको रुपमा पहिचान दिंदा दलित महिला भन्दा जनप्रतिनिधि मात्र भन्नुपर्छ भन्दै दबाब दिन्छन् । विभेदका कुराहरु गर्दा अब एक्काइसौ शताब्दीमा पनि यस्ता कुरा गर्ने ? छुवाछुत कहाँ छ र ? त्यो त हटिसक्यो भन्दै ठूलो स्वरमा जित्छन् । विवाह र अन्य धार्मिक अनुष्ठानहरुका भोजहरुमा दलित महिला प्रतिनिधिहरुलाई बोलाइंँदैन ।मन्दिरमा पुजारीले चिनेमा टीका लगाउन मान्दैन । यतिसम्म कि बुटवल उपमहानगरपालिकाको वडा नम्बर १५ मात वडाध्यक्षले दलित महिलाले छोएको चिया नास्ता समेत खान मानेनन् । बुटवल उपमहानगरपालिकाले अहिलेसम्म दलित महिलालाई बस्ने एउटा कुर्ची र टेबलसम्मको व्यवस्था गरेको छैन । वडाध्यक्ष बाहेक सबैले दिउँसभर उभिएर सेवा गर्नुपर्छ । त्यसरी नै दलित समुदायका व्यक्तिहरुलाई घरभाडा समेत पाइँदैन । बुटवलमा यो धेरै ठूलो समस्या हो ।
दलित लगायत उत्पीडत समुदायमा केही कमजोरी होलान् । शिष्टाचार कम छ होला । भाषामा खाइबक्सियोस्, ल्याइबक्सियोस्जस्ता शब्द कम प्रयोग होलान् । तर त्यही कमजोरी देखेर त्यसैका मट्याङ्गा बनाएर दलितहरुलाई नै हिक्र्याउँदै र खिसीट्युरी गर्दै हास्ने र उपेक्षा गर्ने परम्पराले समााजमा परिवर्तन आउँदैन । अब सहकार्यका आधारमा कमजोरीहरुलाई सच्याउँदै र त्याग्दै अघि बढ्नुपर्छ ।
अब यसलाई अन्त्य गर्न पत्रकारितामा लाग्नु हुने आदरणीय पत्रकारहरुले हामीलाई सहयोग गर्नुपर्छ । अब हामीले नाम फेरेर नाम लुकाएर हैन सिधै सङ्घर्ष गर्न तत्पर छौ भन्दै उनीहरुले समाज परवर्तनमा दलित गैर दिलित बीचमा सहकार्य गर्नुपर्ने बताएका छन् । उनीहरुले स्तम्भकार, सम्पादक संवादाता सबैसँग हाम्रा आवाज उठाउन र सभ्य समाज निर्माणमा लाग्नुपर्ने बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार