‘मिडिया मुलुक निर्माणका सहयात्री’

बुटवल । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित दैनिक पत्र राष्ट्रिय दैनिकले १५ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्राममा भएको वार्षिकोत्सव मूल समारोहको प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्ती मगरले उद्घाटन गरे ।

वार्षिकोत्सव उद्घाटन कार्यक्रममा बोल्दै सभामुख घर्तीले मिडियाहरु मुलुक परिवर्तनका महत्वपूर्ण पक्ष रहेको बताए । मुलुको राजनीतिक परिवर्तनमा सञ्चार माध्यमबाट भएको सहयोगले नै मुलुक यहाँसम्म आउन सकेको उनले बताए ।

‘मिडियाकै सहयोगमा जनयुद्धदेखि जनआन्दोलनले सार्थकता हासिल गरेका छन्, मिडिया जहिले पनि जनताकै पक्षमा उभिएर काम गरे’, उनले विगत स्मरण गर्दै भने– ‘जनपक्षीय मिडियाहरु समयानुकूल रुपान्तरित हुँदै राज्य निर्माणमा पनि सहयोगी बनेका छन् ।’

सभामुख घर्तीले दैनिक पत्र दैनिकले १५औं वार्षिकोत्सव मनाएकोमा खुसी साटे । मुलुक संघीयतामा गएसँगै हरेक क्षेत्रका मिडियाको दायित्व बढेको भन्दै प्रदेश ५ को सशक्त मिडिया दैनिक पत्रले समेत त्यो कार्यभार पूरा गर्ने उनले बताए । संघीयतालाई बलियो बनाउँदै जनताको अपेक्षा पूरा गर्ने काममा सरकारलाई खबरदारी गर्ने काम मिडियाले गर्दै जानुपर्ने उनले बताए ।

तर खबरदारीका नाममा मनोमानी र भ्रम फैलाउने कामबाट मिडिया बच्न जरुरी रहेको उनको तर्क थियो । कतिपय सञ्चार माध्यमहरु विकृति फैलाउने सामग्री दिने गरेको भन्दै सञ्चारकै संस्था र राज्यले समेत निगरानी गर्नुपर्ने उनले बताए । ‘समाजलाई सुसंस्कृत गर्ने मिडियाहरु भ्रमबाट टाढै रहनुपर्छ’, उनले भने ।

कार्यक्रममा बोल्दै प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सरकारी पक्षबाट हुने गलत कामको खबरदारी गर्नमा मिडियाहरु पछि पर्न नहुने बताए । ‘जबसम्म सञ्चारमाध्यम इमान्दार रहन्छन्, लोकतन्त्र बलियो हुन्छ’, उनले भने, ‘सञ्चार क्षेत्रलाई स्वतन्त्रपूर्ण काम गर्ने अवसर संविधानबाटै हुनुपर्छ ।’

पछिल्ला समयमा सञ्चारमाध्यममाथि अंकुश लगाउने काम हुने जस्ता क्रियाकलाप देखिएकाले त्यसका विषयमा बेलैमा सचेत हुनुपर्ने उनले बताए । उनले दैनिक पत्रलाई प्रदेशकै पहिलो पत्रिकाको छविलाई निरन्तर जोगाई राख्न शुभकामना समेत दिए ।

त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले मिडियाकै सशक्त कदमले जनताका अपेक्षा पूरा हुने भन्दै दैनिक पत्रलाई सो काममा क्रियाशील हुन आग्रह गरे । त्यस्तै तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले मिडिया बलियो भए मात्रै मुलुक समृद्ध बन्न सक्ने धारणा राखे । उनले दैनिक पत्रले समाजमा पुराएको योगदानलाई भुल्न नसकिने भन्दै स्थानीय सरकार सधै मिडियाको प्रवद्र्धन र विकासमा जुट्ने बताए ।

कार्यक्रममा पूर्व सांसद रामचन्द्र भट्टराई, बुटववल मिडिया प्रकाशन प्रालिका अध्यक्ष महेशमान सिंह, कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले बोल्दै दैनिक पत्रले जनताको पहिलो अदालतका रुपमा निरन्तर कार्य गरिराख्ने बताए । कार्यक्रम दैनिक पत्रका कार्यकारी सम्पादक सीपी खनालको सञ्चालन तथा विज्ञापन प्रमुख मञ्जु पौडेलको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेश सभाका सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, उच्चपदस्थ कर्मचारीहरु, उद्योगी व्यापारी, पाठक तथा विज्ञापनदाताको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार