शिक्षक—कर्मचारीले घेरे मन्त्रालय

कपिल ज्ञवाली÷बुटवल ।  आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश ५ को सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन् ।
पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार उनीहरूले रूपन्देहीमा सबै सामुदायिक विद्यालय बन्द गरेर बुटवलमा विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् ।
राजमार्ग चौराहाबाट विरोध प्रदर्शनसहित मन्त्रालय परिसरमा पुगेको ¥यालीले मन्त्रालय घेराउ गर्दै नाराबाजीसमेत गरिरहेको छ ।
आफ्ना मागहरूप्रति सरकारले बेवास्ता गरेको र पटक–पटक ध्यानर्कषण गराउँदासमेत कुनै सुनुवाई नभएपछि महासंघले आन्दोलन गरेको शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले बताए ।
माग सम्बोधनका लागि सरकारलाई दबाब दिन विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरिएको उनको भनाइ छ । शिक्षकका माग पूरा नभए अझै कडा आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी समेत दिए ।
शिक्षक महासंघले विभिन्न २६ सुत्रीय माग राख्दै पटक–पटक सरकारको ध्यानकर्षण गराउँदै आएको छ । महासंघ तेश्रो चरणको आन्दोलनमा रहेको छ । प्रदेशका झण्डै ५ हजार शिक्षक—कर्मचारी आन्दोलनमा उत्रेको महासंघको दाबी छ ।
महासंघले शिक्षा सम्बन्धि स्थानीय तहमा आफूखुशी बनाइने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्यलाई रोक्न स्थानीय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरूलाई सामुहिक पदोन्नतिको व्यवस्था गरिनुपर्ने माग राखेको छ ।
तत्कालीन उच्च माविमा कार्यरत शिक्षकहरूको दरबन्दीको प्रबन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गरी उक्त दरबन्दीमा कार्यरत शिक्षकहरूको स्थायित्वको लागि प्रक्रिया अघि बढाउनुपर्नेलगायत उनीहरूको माग छ ।
महासंघले रूपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरू समेत बन्द गर्दै आन्दोलनमा सहभागिता जनाउन सबैलाई आग्रह गरेपछि विद्यालय बन्द गरेर शिक्षक—कर्मचारी आन्दोलनमा सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार