सडकमा जडित सौर्य बत्ती जीर्ण

  • मर्मतको लागि छुट्टाएको बजेट फ्रिज
  • माधव बेल्वासे/
    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाभित्रमा रहेको पूर्व–पश्चिम राजमार्गमा सडकमा जडित सौर्य बत्ति अलपत्र परेको छ । बजार आसपास रहेको सडकमा स्थानीय तह शिवराज नगरपालिकाले सो बत्ति जडान गरेपनि पछिल्लो समयमा मर्मत नगर्दा बत्तिहरू जीर्ण बन्दै गएका छन् । हिउँदको समयमा लागेको हावाले तारहरू चुडाल्ने तथा बत्तिको प्यानमा धुलो जम्मा भएको कारण चार्ज नहुने जस्ता कारणले बत्ति बल्न छोडेपनि मर्मत गर्ने निकायले बेवास्ता गर्दा अहिले चन्द्रौटा बजारमा रातको समयमा विद्युतीय बत्तिबाहेक अन्य बत्तिहरू बोल्दैनन् ।
    आर्थिक वर्ष ०७२।७३ र ०७३।७४ मा गरी शिवराज नगरपालिकाले बजार आसपासमा ३५ वटा भन्दा बढी सौर्य बत्ति जडान गरेको थियो । करिब ३३ लाखभन्दा बढीको लगानीमा जडान गरेको बत्ति एक वर्षपछि बोल्न छोडेको स्थानीयहरूले बताएका छन् । शिवराज नगरपालिका ५ चन्द्रौटा चोक, सुन्दरपुर टोल, सशस्त्र टोल,चेक पोष्टलगायतका स्थानमा सौर्य बत्ति जडान गरेपनि अहिले ती बत्ति जीर्ण बनेका छन् ।विद्युत खपत तथा लोडसेडिङ भएको समयमा आवतजावतमा सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले केही ठाउँमा उपभोक्ता समिति र केही ठाउमा ठेक्का दिएर सौर्य बत्ति जडान गरेको थियो । शिवराज नगरपालिकाकै मुख्य बजारको रूपमा रहेको चन्द्रौटा बजारमा बत्ति जडान गरेको एक वष नबित्दै हावाले सोलारका पाताहरू भाँचिएको भएपनि नगरपालिकाले भने यसमा कुनै चासो नदिएको स्थानीय राम शर्माले बताए । “लाखौंकोे बजेटमा काम भयो तर एक वर्ष नबित्दै सबै बत्तिहरू बल्न छाडेका थिए, न मर्मत गरियो न त जडान गर्ने कम्पनी सँग समन्वय नगरपालिकाले खर्च गर्छ तर त्यसबाट फाइदा ल्याउन जान्दैन” उनले भने ।
    सर्वदलीय निर्णयबाट चन्द्रौटा क्षेत्रमा सौर्य बत्ति लगाउने निर्णय गरेर सौर्य बत्ति लगाएको स्मरण गर्दै स्थानीय अर्जुन सापकोटाले अहिले नगरपालिकाले सडक बत्तिलाई बेवास्ता गरेको बताए । सडकमा बत्ति नहुँदा स्थानीयहरूलाई आवतजावतमा समस्यासँगै चोरी लुटपाटका घटनाहरू बढिरहेकोले यसमा नगरपालिकाले छिटोभन्दा छिटो काम गर्नुपर्ने सापकोटाको भनाइ छ । २ वर्षसम्म ग्यारेन्टी हुने भएपनि नगरपालिकाले बेवास्ता गर्दा २ वर्ष कटिसकेको र अहिले मर्मतको लागि कुनै योजना नरहेको नगरपालिकाले जनाएको छ । शिवराज नगरपालिकमा गत आर्थिक वर्षमा सडक बत्ति व्यवस्थापनको लागि २५ लाख बजेट विनियोजन गरिएको थियो । तर विभिन्न कारण देखाउँदै नगरपालिकाले त्यो रकम खर्च गर्न सकेन ।यस वर्ष बजेट विनियोजन नगरेको भएपनि सडक बत्तिको काम हुने शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । उनले भने “हामीले यस विषयमा विभिन्न छलफल गरिरहेका छांै एक स्थानमा ट्रान्सफर्म राखेर यस बजार भर सोहीबाट बत्ति बाल्ने योजना रहेको छ” ।
    शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले सडक बत्ति यस क्षेत्रमा अति आवश्यक रहेकोले छिटै यसको काम सुरु हुने बताए । विगतमा समयको अभाव र प्रविधिक नहँुदा गर्न नसकेको बताउँदै यस वर्षमा सबै क्षेत्रमा बत्ति हुने जनाए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार