नेपाली चेतना, चुनौती र चीनको चमत्कार !

भगवानले हाम्रो भाग्य बदल्छन्, दुःख हर्छन् र सुख दिन्छन् भन्ने जमाना थियो, गयो । त्यसपछि राजा महाराजाले सबैको भलो गर्छन्, हेर्छन् भन्ने समय आयो, त्यो पनि गयो । ती दुबैले उपकार नगरेपछि जनताका बीचमा रहेर लोकप्रिय भएका राजनीतिक दल र नेताहरूले भोट(मत)लिन पर्ने बाध्यताले पनि अवश्य राम्रो सेवा गर्लान् र बिग्रेको भाग्य सपार्लान् भन्ने लागेकै हो । दल र नेताले पनि देश र जनताभन्दा बढी आफ्नै ग्याङ् र ड्याङ् सुधारे, मेवा खाए, ढुकुटीका ढेवा सके । यस्तो देखेका, भोगेका र व्यहोरेका जनता अन्योलमा परे, पारे । अन्योलमा परेका तिनै दीन, दुःखी र विपन्नलाई बाटो देखाउन, विकास र समानताको नवीन स्वाद चखाउन र समुन्नतपथमा दौडाउन संयुक्त राष्ट्र संघीय निकायदेखि लिएर विकसित देशका दातृसँस्थाहरू हुल बाँधेर नेपाल छिरे । छिमेकीहरू पनि आए । डोकामा डलर र भारमा भारुका पोका ल्याए । त्यत्रो डलर र भारु बोकेर आएकाहरूले हाम्रो दुर्दिन हटाउँछन् भनेको त झन् कंगाल बनाए । हिजोको त्यो सभ्य, स्वाधीन, सुसंस्कृत, सम्पन्न र आत्मनिर्भर वीरहरूको देश नेपाल अहिले वैचारिक र व्यवहारिक रूपमा पराधीन र मगन्ते भएको छ । दक्षिणले दिएको दक्षिणा र पश्चिमले पठाएका पाहुरले नपुगेर उत्तरको मुख ताक्दैछ । चीनले गरिदिने चमत्कारका सपना बाँड्दैछ । यसरी भगवानदेखि लिएर चीनसम्म आइपुग्दा हाम्रो कति सय वर्षको सपना साकार भयो कि बेकारमा गयो भन्ने बारेमा कुनै चित्तबुझ्दो हिसाब किताब छैन । हामीले चिनेको चीनले त अवश्य पनि हाम्रो भाग्य सपार्ला भनेर केही नगरी बस्ने हो भने अर्को विधाताको खोजी गरे हुन्छ अहिलै । किनकि चीनले आफ्नो देशमा आफ्नै जनताको भलाईका लागि गरेको हो चमत्कार । नेपालीका लागि त नेपाली आफैले नै गर्नु पर्छ । अर्काको भर परेर र आश गरेर हुँदैन । विकास भन्ने वस्तु आयात् र निर्यात गर्न सकिदैन र बजारमा किन्न पनि पाइँदैन ।
जादूको छडि छैन चीनसँग । कसैको भर नपरिकन र आश नगरिकन धेरै मेहनत गरेर बनाएका हुन् चिनियाँहरूले आफ्नो देश अनुकूलको समाजवाद । विश्व पुँजीवाद र साम्राज्यवादले दलाल बनाएर बानी बिगारेका हाम्रा अल्छी नेताले थापेका बल्छीमा परेर चिताए जतिका सबै चिज पु¥याइदिन सक्दैनन् । उनीहरूका पनि आफ्नै समस्या होलान् । कति गरिदिने र नगरिदिने, विवादमा आउने कि नआउने भनेर सोच्नै पर्छ । माछा दिएर परनिर्भर बनाइराख्ने कि बल्छी दिएर खोलामा पठाएर आफै माछा मार्न सिकाउने र आत्मनिर्भर हुन लगाउने नेपालीलाई भनेर विचार गर्दै होलान् । दक्षिणी र पश्चिमी शक्तिले माछा दिएर परनिर्भर बनाएको देखेका छन् । हिजोसम्मका आत्मनिर्भर, ज्ञानी, ध्यानी, स्वाभिमानी र बहादुर नेपालीहरू आज किन मगन्ते भए, पराधीन हुँदै गए, दक्षिणले चेपेपछि बल्ल अइया र आत्थु गर्दै हातथाप्न र सहयोग माग्न यता आए भन्ने बुझेका छन् । दक्षिण र पश्चिमले बिगारेको नेपाली मानक र मानसिकता बुझेका हुनाले त्यस्तै मान्छे पठाएर प्रतिस्पर्धा गरेका छन् । चिनियाँ ठेकेदारहरूले जिम्मा लिएका काम समयमा सम्पन्न नगरेको पनि त्यही भएर होला । नेपाली नेताहरूलाई कमिशन दिंदादिदै हैरान भएर पनि होला । कामभन्दा बढी कमिशन टक्य्राउन पर्ने भएपछि समयमा सम्पन्न नहुनु र लागत बढ्दै जानु स्वाभाविकै हो ।
कामै नगरीकन कमिशन खाएर शासन गर्नेहरू अल्छी भए धेरै । घरको काम गरेर खानभन्दा परको आशीर्वाद लिएर र दान मागेर जीविका चलाउने बानी परेको छ । दान अनुदानमा भएको लुटान पनि देखेको छ दुनियाँले । त्यसैले सोंचेजस्तो सजिलो छैन केरुङ्बाट काठमाण्डौ हुँदै पोखरा भएर लुम्बिनीसम्म रेल ल्याउन । भाषणमा भट्याउन, चित्रमा देखाउन र सामाजिक सञ्जालबाट चर्चामा ल्याउन जति सजिलो छ, उत्तिकै गाह्रो छ बाचा गरेका कुरा गरी पु¥याउन ।
आन्तरिक उडान भर्ने गरेको भैरहवाको विमानस्थललाई गौतम बुद्ध विमानस्थल नामाकरण गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने निधो गरेर बोलपत्र आव्हान गरी ठेक्कामा पाएको कम्पनीले काम गर्न थालेको पनि सवा दुई वर्ष भैसकेछ । सम्पन्न गरेर सुम्पने समय सकिदा पनि आधा काम परा भएको छैन । सन २०१५ जनवरीमा शिलान्यास गरिएको विमानस्थलको काम २०१७ डिसेम्बरमा सम्पन्न हुनुपर्ने थियो । मधेस आन्दोलन र भूकम्पका कारण ढिला हुन गएको ६ महिना थप्दा समेत पूरा हुने सम्भावना छैन । अहिलेसम्म जम्मा ३७ प्रतिशत काम भएको प्राविधिकहरूले बताएका छन् । गौतमबुद्ध विमानस्थल निर्माण गर्ने कामको ठेक्का चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले लिएको छ । एशियाली विकास बैंकको कालोसूचीमा परेको उक्त कम्पनीको विश्वसनीयता माथि शंका उत्पन्न भएको छ । त्यसैले एडिबीले लगानी रोक्नसक्ने सम्भावना बढ्दै गएको छ । त्यो एडिबी भनेको विश्व पुँजीवादको वफादार पहरेदार हो ।
१४ मेगावाट क्षमताको कुलेखानी तेश्रो जलविद्युत आयोजनाको ठेक्का पनि चिनियाँ कम्पनी जेइजियाङ जियालिङलाई दिएको १० वर्ष भैसक्यो । ६ पटक म्याद थपिएको छ । चारवर्षमा सम्पन्न गर्ने गरी ०६४ सालमा ठेक्कामा दिइएको सो काम अझै पूरा भएको छैन । आयोजना सुरुहुँदा अनुमानित लागत २ अर्ब ४३ करोड रहेकोमा हालसम्म ५ अर्ब खर्च भैसकेको छ । अझै कति लाग्ने हो थाहा छैन । चिनियाँ कम्पनीलाई दिइएको मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्ध गरेर किन इटालियन कम्पनीलाई दिन प¥यो र अहिले के भैरहेको छ भन्ने विषय दोहो¥याइरहन पर्दैन । यस्ता उदाहरण जति पनि छन् ।
केहीवर्ष पहिलेसम्म नेपालका आयोजनाहरू हडपेर राख्ने, कामचाहिँ पटक्कै नगर्ने र सताउने भारतीय ठेकेदार कम्पनीहरूका ठाउँमा चिनियाँहरू पुगेका छन् अहिले । ठेक्कालिने, कामचाहिँ समयमा पूरा नगरिदिने प्रवृत्ति दोहोरियो । भारतीयहरूभन्दा चिनियाँहरू विश्वासिला हुन्छन्, राम्रो काम गर्छन् र समयमै सम्पन्न गरेर सुम्पन्छन् भन्नेलाई यस्ता प्रमाणले राम्रै शिक्षा दिएको हुनुपर्छ । सानो देश, कमजोर अर्थतन्त्र, अस्थिर सरकार, अनावश्यक आन्दोलन र बन्द, भुक्तानीमा हुने अबरोध झेलेर समयमा काम सम्पन्न गर्न गाहै्र पर्छ । सामरिक महत्वको क्षेत्र हुनाले पनि समस्या थपिन्छ । चिनीया ठेकेदारले गरेका काममा अवरोध पु¥याउन पश्चिमदक्षिणी शक्ति लागिपर्ने र दक्षिणपश्चिमले पाएका काममा वामपन्थीले विथोल्ने बानीबाट बेखबर छैन दुनिया । त्यसैले पनि समयमा सम्पन्न हुँदैनन् कुनै आयोजनाहरू । पश्चिमसेतीले पनि त्यही गति भोगिरहेकै छ । अरू दुर्गतिका कति बखान गर्नु र पत्रिकाका पाना भर्नु ?
नेपालका आयोजनाहरूमा आधिपत्य जमाएका भारतीय कम्पनीलाई कम्युनिष्टले र चिनियाँ कम्पनीले लिएका ठेक्कालाई लोकतन्त्रवादीले लोप्पा खुवाउने चलन विद्यमान छ । बुढी गण्डकी आयोजनाले त्यही गति भोग्दैछ । लोकतन्त्रवादी हुँदैमा चीनको र कम्युनिष्ट बनेपछि भारतको विरोध गर्नैपर्ने बाध्यता नेपालमा छ । तर सम्बन्धित देशका कूटनीतिक निकायको नजिक पुगेपछि रामभक्त हनुमान हुने अनुमानमा गरिने व्यवहारले धेरै आयोजनामा दुस्प्रभाव परेको छ । कम्युनिष्ट, काँग्रेस, पञ्च र मधेसवादी दलबाट प्रभावित कर्मचारीले गर्ने असहयोगले पनि नराम्रो प्रभाव पारेका छन् । आफ्नै देशलाई नाकाबन्दी लगाइदिन अनुरोध गर्ने राजनीतिक दल भएका ठाउँमा समयमा आयोजना सम्पन्न गर्न गह्रो हुन्छ ।
वर्तमान सरकारका चुनौती कति छन् भनेर लेख्नेहरूले धेरै तगारा देखाएका छन् र पन्छाएर गर्न सकिने सुधारका उपाय र अवसर पनि सुझाएका छन् । कति काम लाग्लान् ती र होला चमत्कार, छ त्यसैको इन्तजार । भगवानका पालादेखिको इन्तजार यहाँसम्म आइपुग्दा पनि छुटेन । तीर्खा टुटेन । हिमाललाई प्रदुषित पारेर, वन मासेर, डाँडाकाडा नाङ्गा बनाएर, मूल जति सुकाएर पानी खोज्न मरुभूमि धाउने चलन चलेकै छ । सदियौं देखिको हाम्रो शासन व्यवस्था र अवस्थाका बारेमा चित्रण गरेर सकिन्न । भोग्ने र ढोग्नेको गति र मतिले प्रष्ट पारेकै छ । तिलस्मी, चमत्कारी, चतुर, इमान्दार, वफादार शासकहरू धेरै भए, देश र जनताका पक्षमा काम गर्नेहरू मात्र नभएका हुन् । त्यसैले देशको प्रगतिकालागि भनेर आजसम्म गरिएका सबैका चमत्कार देखिए, भोगिए, व्यहोरिए । चीनको चमत्कार मात्र हेर्न बाँकी छ । त्यो पनि देखिने भयो । आफ्नै पालामा देख्न पाए हुन्थ्यो । नाति पनातिका पालामा हुने विकासको बखान अहिले गरिएको भनिदैछ । परलोकमा पुगेर देख्न पाइएला कि नाई ? आशै आशमा बस्दाबस्दै स्वर्गवास नभए हुन्थ्यो ।
लउबगमभनि२नmबष्।िअयm

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार