सानातिना गुनासोको पनि सुनुवाई गर्न प्रहरीलाई निर्देशन

अर्घाखाँची । ५ नम्बर प्रदेश प्रहरी प्रमुख पीताम्बर अधिकारीले सानातिना गुनासोलाई तत्काल सुनुवाई गरी कार्वाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले कहिलेकाहीँ साना कुरा ख्याल नगर्दा ठुलाठुला दुर्घटना हुने गरेको बताउँदै सतर्क रहन निर्देशन दिएका हुन् । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले जिल्लामा समन्वयबाट अगाडि बढेकाले अप्रिय घटना नहुने गरेको बताएका थिए । यसरी मन्तव्य राख्नेहरूमा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायब उपरीक्षक नवराज मल्ल लगायत रहेका थिए ।
प्रनाउ मल्लले जिल्लाको शान्तिसुरक्षा मजबुत बनाएको बताए । कार्यक्रममा प्रहरी परिचालन सुरक्षा निकायका प्रमुख, पूर्व प्रहरी, जेष्ठ नागरिक, नागरिक समाज एकल महिला, पत्रकार, यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनज्योति कार्यक्रममा समेत अधिकारी सहभागी भएका थिए । साझेदारी कार्यक्रम जनतासँग मिलेर काम गर्ने उद्देश्यले प्रहरीले सञ्चालनमा ल्याएको हो ।
त्यस्तै प्रदेश प्रहरी प्रमुख अधिकारी जनज्योति मावि चुत्रावेसीमा सञ्चालन गरिएको ‘समुदाय—प्रहरी साझेदारी’ प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमममा पनि सहभागी भएका छन् । उनले प्रहरी र विद्यालयको सम्बन्ध राम्रो हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार