तरकारी खेतीले बदलेको गाउँ

 दशरथ घिमिरे/
दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ कुमलगढीको थारु गाउँका किसानहरुले तरकारी खेतीबाट वार्षिक १ करोड ५० लाख बराबरको आम्दानी गर्ने गरेका छन् ।
गाउँका ४० घर परिवारले करिब २२ विगाहा जग्गामा तरकारी खेती गरेर सो आम्दानी गर्ने गरेको किसान जंगबहादुर चौधरीले बताए । उनले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि गाउँको परिचय नै बदलिएको बताए । “पहिला काम कहाँ खोज्ने भन्ने थियो अहिले कसरी भ्याउने भन्ने भएको छ,” चौधरीले भने ।
सरस्वती कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका चौधरीले तुलसीपुर उपमहानगरपालिकाले कृषि प्राविधिक, बिउबिजन र उपकरणमा सहयोग गरेको बताएका थिए । उनले थप उत्पादन वृद्धिका लागि सिँचाई सुविधामा सहयोग गर्न पनि आग्रह गरेका थिए । “यहाँ सिँचाईको निकै समस्या रहेको छ, यो समाधान भयो भने अझै उत्पादन वृद्धि गर्न सकिन्छ,” उनले भने ।
सिँचाई सुविधा नभएकाले कृषकहरुले इनारको प्रयोग गर्ने गरेको कृषक पार्वती चौधरीले बताइन् । “हामी सबैले घरमा २ वटा इनार बनाएका छाँै एउटा सुके पनि अर्कोबाट खेतमा पानी लैजान्छौँ”, पार्वतीले भनिन् । उनले वर्षमा चार बाली तरकारी खेती गरेको बताउँदै सिँचाई सुविधा नहुँदा आशा गरे अनुसार उत्पादन गर्न नसकेको बताइन् । पार्वतीको ६ कठ्ठा बारीमा अहिले खुर्सानी, टमाटर र काउली लटरम्म फलेका छन् ।
केही वर्ष अगाडिसम्म बेरोजगारीका कारणले गलत काममा लाग्नाले गाउँमा झैंझगडा हुने गरेकोमा अहिले सबैलाई कामको चटारो परेका कारण मिलेर खेती गर्ने गरेको कृषि सहकारी संस्थाका सचिव जयराम चौधरीले बताए ।
“सबैले आआफ्नो जग्गामा खेती गरे पनि मिलेर गर्ने गरेका छाँै”, जयराम चौधरीले भने । उनका अनुसार ९५ घरधुरी रहेको गाउँमा ४५ जनाले निर्वाहमुखी तरकारी खेती गर्ने गरेको बताए ।
गाउँमा व्यावसायिक तरकारी खेतीको अगुवाई गर्ने जंगबहादुरले बजार व्यवस्थापनको समस्या रहेको बताए ।
“खेतमै किन्न आउनेहरुले मनलाग्दो दर भन्छन् बजारमा बेच्न लैजाँदा यातायतको अभाव छ,” जयरामले सबै किसान मिलेर तरकारी बिक्री गर्नका लागि सानो गाडी भाडामा ल्याएको भए पनि त्यो पर्याप्त नभएको बताए ।
“दुःख गरेर उब्जाउ गरेको कुरा उचित मूल्यमा बेच्न पाइएन भने कसरी यसलाई निरन्तरता दिन सकिन्छ ?,” जयरामले भने ।
किसानहरुका समस्या समाधान गरेर उनीहरुलाई व्यावसायिक तरकारी खेतितर्फ थप अगाडि बढाइने तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख तिलक केसीले बताए ।
उनले किसानलाई खेतमै कृषि प्राविधिक उपलब्ध गराउनका लागि उपमहानगरपालिकाले पहल गरिरहेको बताए ।
उपमहानगरपालिकाका आर्थिक समिति संयोजक माधव वलीले किसानहरुलाई कृषि उपज बिक्री वितरणमा सहज होस् भन्नका लागि उपमहानगरपालिकाले कृषि उपज बजार केन्द्र निर्माण गर्न लागेको बताए । उनले किसानहरुको सम्मानका लागि कृषि परिचय पत्र वितरण गर्न लागेको समेत जानकारी दिए ।
वडा नम्बर २ का वडाध्यक्ष राजु आचार्यले सिँचाईको समस्या समाधानका लागि पहल गर्ने बताए । उनले डिप बोरिङ निर्माणका लागि वडाले पहल गर्ने समेत बताए ।
(((((

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार