लुम्बिनीका लागि ल्याइएका विद्युतीय बस साझालाई लुम्बिनीमा सास्ती, काठमाडौंमा मस्ती !

प्रदीप आचार्य/ लुम्बिनी । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीका लागि ल्याइएका अत्याधुनिक विद्युतीय बस साझा यातायातले लुम्बिनी विकास कोषसँग सहमति नहुँदै जबर्जस्ती काठमाडौंमा सञ्चालन गरेको छ ।
एसियाली विकास बैंक एडिबीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्म सञ्चालन गर्नका लागि भन्दै ती बस कोषलाई दिएको थियो ।
विमानस्थल निर्माण सम्पन्न नभएको अवस्थामा बस सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल गर्र्दै गर्दा चिनियाँ कम्पनी विवाइडीले साझा यातायातको व्यवस्थापनमा काठमाण्डौंमा बस सञ्चालन गर्न पर्यटन तथा संस्कृति मन्त्रालयमार्फत चलखेल गरेको थियो । लुम्बिनीको तुलनामा काठमाण्डौंमा बस सञ्चालन गर्दा आफ्नो कम्पनीको प्रचार हुने र व्यवसायिक दृष्टिले फाइदा पुग्ने देखेपछि साझा यातायात र विवाइडीले मन्त्रालयका अधिकारीहरू सँग ती बसहरू काठमाण्डौंमा सञ्चालन गर्न लबिङ गरेका थिए ।
तर मन्त्रालयका सहसचिव निता अर्यालले साझा यातायातलाई बस दिने विषयमा आफूलाई कुनै जानकारी नभएको बताइन् । मन्त्रालयमार्फत साझा वा लुम्बिनी विकास कोष कसैलाई पनि यो विषयमा पत्राचार नभएको दावी गरिन् ।
मन्त्रालयको निर्देशनमा कोषले बस काठमाण्डौं पठाए पनि लुम्बिनीलाई केन्द्रमा राखेर सञ्चालन गर्नुपर्ने र सबै बस काठमाण्डौं लैजान नपाउने शर्त राखेको थियो ।
तर साझा यातायात र विवाइडीका अधिकारीहरूले लुम्बिनी विकास कोषसँग कुनै सम्झौता नै नगरी प्रधानमन्त्रीमार्फत बस उद्घाटन गरेर सञ्चालनमा ल्याएको दावी लुम्बिनी विकास कोषको छ ।
कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार कोषले ती बसहरू साझा यातायातलाई दिने विषयमा कुनै निर्णय गरेको छैन ।
यद्यपि एअरपोर्ट सञ्चालनमा नआउँदासम्म तीन वटा बस साझाको व्यवस्थापनमा सञ्चालन गरेपनि काठमाण्डांै—लुम्बिनी, पोखरा—लुम्बिनी, नारायणगढ—लुम्बिनी सञ्चालन गर्नुपर्ने र बाँकी दुईवटा बस लुम्बिनी वरिपरिका बौद्ध स्थलहरूमा सञ्चालन गर्नुपर्ने प्रस्ताव कोषले राखेको थियो । तर साझाले प्रधानमन्त्रीमार्फत बस उद्घाटन गराएर सबै बस काठमाण्डौंमा सञ्चालन गर्ने घोषणा गरेकोप्रति लुम्बिनी विकास कोष असन्तुष्ट छ ।
एडिबीसँग विद्युतीय सवारी सञ्चालनका लागि अनुरोध गर्ने तत्कालीन सदस्य सचिव अजितमान तामाङले लुम्बिनी क्षेत्रका लागि ल्याइएका विद्युतीय बस काठमाण्डौंमा सञ्चालन गरेर थोत्रा भएपछि लुम्बिनी लैजाने निर्णय भएकोप्रति आश्चर्य प्रकट गरे । उनले कोषलाई पर्यटन मन्त्रालयको दबावमा काम गर्नुपर्ने अवस्था आएको प्रति दुःख व्यक्त गरे ।
एसियाली विकास बैंकले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँ आउने पर्यटकहरूलाई बौद्ध स्थलहरूसम्म पु¥याउनका लागि ५ वटा ठूला विद्युतीय बस र ११ वटा ७ सिटे विद्युतीय कार सञ्चालन गर्न ३० करोड बजेट दिएको थियो ।
जसमध्ये १५ करोड रूपैयाँ ४४ किलोमिटर सडक क्षेत्रमा पर्ने लुम्बिनी, बुटवल, भैरहवा, तिलौरोकोट, रामग्राम लगायतका क्षेत्रमा चार्जिङ स्टेशन र सर्भिस सेन्टर निर्माणमा खर्च हुनेछ । लुम्बिनीमा चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत भएको छ । लुम्बिनी क्षेत्रमा सोलारमार्फत चार्ज गर्ने प्रविधि जडान हुँदैछ । अरू स्थानमा पनि जोड्ने प्रक्रिया चाँडै शुरु हुने निमित्त सचिव भट्टराईले बताए ।
तत्कालीन सदस्य सचिव अजितमान तामाङले प्रदूरणरहित सवारी सञ्चालनका लागि एसियाली विकास बैंक(एडिबी)सँग ऋण सहयोग गर्न आग्रह गरेका थिए ।
लुम्बिनी विकास कोषका सद्भावना दूत नोबुओ कासाईको सहयोगमा बैंक अफ जापानका प्रमुखमार्फत एसियाली विकास बैंकलाई विद्युतीय सवारी सञ्चालनका लागि गरिएको अनुरोध एडिबीले स्वीकृत गरेको थियो ।
त्यसपछि कोषले त्यस्ता सवारी सञ्चालनका लागि कार्यविधि बनाउन सेन्स नामक बङ्गलादेशी कम्पनीलाई परामर्शदाताको रूपमा छनोट गरेको थियो । उक्त कम्पनीले लुम्बिनी क्षेत्रका यातायात व्यवसायी र स्थानीय सँग छलफल गरेर विद्युतीय सवारी सञ्चालनका लागि कार्यविधि बनाएको थियो ।
सोही कार्यविधि अनुसार बस सञ्चालन गर्ने योजना बनाउँदै गर्दा साझा यातायातले बस मागेको कोषको दावी छ । यद्यपि एअरपोर्ट सञ्चालन नहुँदासम्म ती बसहरू कसरी सञ्चालन गर्ने भन्नेमा कोष अलमलमै थियो ।
पछिल्लो पटक बस तथा चार्जिङ स्टेशनका सामान खरिदका लागि लुम्बिनी विकास कोषलाई ओभरटेक गर्दै पर्यटन तथा संस्कृति मन्त्रालयले टेण्डर आव्हान गरेपछि बस सञ्चालन गर्ने निर्णयमा समेत मन्त्रालयले कोषलाई नजरअन्दाज गरेको बुझाइ कोषका कर्मचारीहरूको छ ।
लुम्बिनीमा विरोध
लुम्बिनीका लागि ल्याइएका विद्युतीय सवारी काठमाण्डौंमा सञ्चालन गर्ने निर्णय भएकोप्रति लुम्बिनी क्षेत्रका सर्वसाधारणले व्यापक विरोध जनाएका छन् ।
लुम्बिनी क्षेत्रमा अहिलेसम्म एउटा पनि पर्यटनमैत्री बस सञ्चालन नभएको अवस्थामा लुम्बिनीकै लागि ल्याइएका बस एकाएक काठमाण्डौंमा सञ्चालन गर्नु आपत्तिजनक रहेको संस्कृतिविद् डा. गितु गिरीको भनाइ छ ।
गिरीले त्यस्ता बस काठमाण्डौंमा सञ्चालन गर्नुपूर्व भैरहवा—लुम्बिनी खण्डमा चल्ने सार्वजनिक यातायातको यात्रा गर्न सुझाव दिए । लुम्बिनी होटल एशोसिएसनका महासचिव लिलामणि शर्माले ती बसहरू तत्काल लुम्बिनी क्षेत्रका बुद्धिष्ट साइटहरूमा सञ्चालन गर्नुपर्ने बताए ।
उनले भैरहवाबाट लुम्बिनी आउने पर्यटकले सार्वजनिक यातायातमा शास्ति भोग्नुपरेकोप्रति गम्भीर हुन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार