देवी देवताका नाममा पशु बलि रोकांै

कसैको हत्या गर्नु, काटमार गर्नु महापाप हो । यसपालि पनि देशभरका विभिन्न मठ मन्दिरहरू र शक्ति पीठहरूमा आफनो जिब्रोको स्वादका लागि मानिसहरूले लाखौं प्राणीहरूलाई भगवानका नाममा पशु बलि दिँदैछन् । म दशैंको नाममा हुने कथित बलि जसले देवीलाई खुशी तुल्याइने गर्छ भन्ने भनाइप्रति एकरत्ति विश्वास गर्दिन । शास्त्रकै कुरा गर्ने हो भने सनातनमा कुनैपनि शास्त्रमा देवी देउतालाई अर्काको ज्यान लिएर खुशी हुन्छन् भन्ने लेखिएकै छैन । त्यो त लोभी पण्डाहरूले आफ्नो झोला भर्न दिएको तर्क मात्र हो । संसारको सर्वोत्कृष्ट प्राणि हामी मानिसनै आज आफ्नो खुशी र भगवानको नाममा भन्दै पशुको हत्या गर्ने काम गर्दछौं । आफ्नो खुशीको लागि आफ्नो मिठोको लागी खशी, बोका, कुखुरा, राँगा, भैंसीलगायतका निर्दोष पशुहरूको हत्या गर्छन् ।
किन हामी विभिन्न चाडवाडको नाममा कसैको हत्या तथा काटमार गरेर रमाउँछांै ? निर्दोष विचरा ती पशुको हत्या गरेर हामी रमाउने प्रवृति कहिलेसम्म ? अरूलाई दुःख दिने काम गर्छौ, हामीमा अलिकति पनि चेतना छैन कि हामीले गलत काम गरिराखेका छौं । फरक यत्ति हो कि मानिस एक सामाजिक बौद्धिक प्राणी हो । जसरी मानिस मानिसबीचमा काटमार गर्दा, मानिसको कसैले हत्या गर्दा वा दुःख पर्दा मानिसमा जुन छट्पट हुन्छ । मान्छेमा महशुस हुने पीडा त्यसरी नै पशु पंक्षीमा पनि तेस्तै पीडा हुन्छ भन्ने कुरा हामी किन हेक्का राख्न सक्दैनौ ? आज हाम्रा सन्तानले हाम्रै संस्कार संस्कृति भुलिसकेका छन् । आफ्नो भेषभूषा, भाषा, धर्म भुल्दै गएका छन् । यसो गर्दै गर्दा कतै हामी नेपाली हांै हाम्रो देश नेपाल हो भन्ने कुरा त हामी बिर्सदै छैनौ ? हामीले हाम्रो धर्म भुल्नु हुँदैन । कुनै प्राणीलाई बलि दिएर आफूहरू रमाउने अर्थात पशु बलि प्रथाको अन्त्य हामीले कहिले गर्ने ।
दशैंको बहाना पारि घरबाट टाढाटाढा रहेका दाजु भाइ, दिदी बहिनीहरू दशैँ मनाउनका लागि आफ्नो घर तथा आफन्तिजनकोमा जान्छन् । राम्रो,नयाँ लगाउँछन् र मिठो खान्छन् । मासुको विभिन्न परिकारहरू बनाएर खान्छन् र त्यसैलाई रमाइलो भन्ने ठान्दछन् । यसो गर्दैगर्दा हिन्दु अधिराज्य हाम्रो देश नेपाल, यसभित्र रहेका हामी नेपालीहरू पश्चिमेली शैली र संस्कारको सिको गर्दै हामीले हाम्रो संस्कृति, संस्कारलाई बिर्सदै गइरहेका छौं । निश्चय पनि धर्म शास्त्रभित्र विभिन्न ग्रन्थमा विभिन्न तरिकाले बलिको प्रथा र विधिबारे उल्लेख गरिएको पनि भेटिन्छ । बलि प्रथा शास्त्रीय हो भन्ने प्रमाणहरू रहेका पनि छन । तसर्थ बलि प्रथा अशास्त्रीय हो भनेर कुर्लनेहरूले सबै किताब पढेका रहेनछन् भन्ने कुरामा म विश्वस्त छु । त्यसो भए के त अहिले चलेको पशु पंक्षी हत्या वा विभिन्न मठ मन्दिरहरू र शक्तिपिठहरूमा हुने भगवान वा मान्छेको चाहाना पूरा गर्ने नाममा भएको बलिहरू ठिक हुन त ? यसै प्रश्नको उत्तरमा वर्तमान समाजसँगै आज म पनि अल्मलिएको अनुभव गरेको छु ।
बलि प्रथा अशास्त्रीय हैन र छैन तर बलि प्रथा योग्य व्यक्तिबाट उक्त प्राणीको आत्मा मुक्ति गर्नसक्ने स्थितिमा राजीखुसीले हुने सिद्द साधकहरूको युगको प्रथा हो । हामी जस्तो बेहोस् जन्म र मरणको रहस्य नबुज्ने आफ्नो मन वा इन्द्रियको प्यास मेटाउन निर्दोष प्राणीहरूलाई मारेर विभिन्न परिकार बनाएर क्षणिक भोगको लागि खाने अशुरी प्रवृत्तिको लागि बलि प्रथा हैन र छैन । आफ्नो निजी इच्छापूर्तिको लागि अन्य कुनै पनि कुराको अनैतिक प्रयोगलाई धर्मले निषेध नै गर्छ । जुन प्राणीको आत्मा तपाईले मुक्त गर्न सक्नु हुन्न त्यो प्राणीको बलि बलि नभएर हत्या हो । हत्याको जगन्य पाप लाग्छ जस्को कारण आज यो विश्व दुनिया स्रोत साधन, विश्वविद्यालय, सरकार र संसार बनाएर पनि दुःखी छ । जसरी भगवान नै साक्षात्कार भएर तपाईको छोराछोरी मलाई देऊ भन्दा तपाई नरवलीको रूपमा छोरा छोरी दिन तयार हुनुहुन्छ त्यस्तै भगवानको सृष्टी भगवानमै मिल्ने भएकोले बोका बाख्रा रांगा कुखुरा वा अन्य जीव बलि तयार हुन्थे । तर अहिले कुनै जंगली जनावर बाघलाई खान तपाई आफ्नो छोराछोरी दिनु हँुदैन त्यस्तै अहिलेका पशुपंक्षी र प्राणीहरूलाई हामी जंगली जनावर बाघजस्तै बनेका छौं । तसर्थ कुनै पनि पशुपंक्षी र प्राणी हामीले काटेको मारेको र बलि दिएकोमा सहमत छैनन् र सबै जनावर र पं
क्षीले हामीलाई मुख्य राक्षस शत्रुको रूपमा हेरेका र बुझेका छन् । साधना नगरेको, भगवत सत्ता थाहा नपाएको, सृष्टिको रहस्य नबुझेका मान्छेले जबरजस्ती परम्परा धान्ने नाममा पशु हिंसा गर्नु पाप हो र जगन्य अपराध पनि हो भन्नु म आज । विजया दशैं हिन्दुहरूको सबैभन्दा ठूलो चाड मानिन्छ तर हिन्दुधर्म आएको भनिएको भारतमा नवरात्र भर कुनै हिंसाकर्म गरिदैन । फलाहार बसेर दशैं मनाइन्छ । हामीमा कसले घुसायो यस्तो पाशविक प्रथा भन्ने कसैले खोजेको छ अहिलेसम्म । आफूलाई गणतन्त्रवादी भन्नेहरूले समेत हिंजो शाहीकाल, राजा महाराजाहरूले जनतालाई युद्धमा पठाउन हिंसक बनाउने राजनीतिबाट आएको यस्तो प्रथालाई खुरुखुरु पछ्याइरहेका छन् ।
भनिएला मासु नै नखाने त ? तर त्यसो भन्न खोजिएको पक्कै होइन । आफ्नो आवश्यकता एक ठाउँमा छ तर मोजमस्ती गर्न अर्काको ज्यानको हत्या गरे त्यो पनि देउताको नाम लिएर कति घृणित छ ? नेपालीहरू जसले बलि प्रथालाई पछ्याइरहेका छन् उनीहरू वास्तविक रूपमा दैवीभक्त नै होइनन् । नत्र खुल्लमखुल्ला आफुले पुज्ने देवीको अगाडि आफ्नो जिब्रोको लागि यति धेरै झुठको खेती नै गर्ने थिएनन् । यस्तो झुठ कर्म गर्न सिकाउने भक्तजनहरूले आफ्ना सन्ततिलाई कसरी धर्म मार्गमा लगाउलान् । बदमासी गर्न सिकाइने यस्तो चालाले हाम्रो समाजमा राक्षसशरु नजन्मिएर कहाँ जन्मिएला ? यस्तो समाजमा अपराध चोरी नबढेर के अपेक्षा गर्न सकिएला ? धर्मको नाममा हुने यस्तै बदमासीका कारण मान्छेहरू धर्मको वास्तविक शिक्षामै विश्वास गर्न छाडेका छन् । नास्तीकहरूको संख्यामा बृद्धि भैरहेको छ । यस्ता कर्मले धर्मको बिस्तार गर्दैन झन खुम्च्याँउछ । त्यसैले देशमा बदमासहरूको बाहुल्य बढिरहेको छ । केही राम्रो भैरहेको छैन । कहिले आउला हामी निर्दोष पशुको हत्या गरेर रमाउने दिनको अन्त्य । धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ । धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ । धर्म शब्द कुनै हिंसाको द्योतक हैन । मन, वचन र कर्मले कसैको हिंसा–हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरू हुन् । हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरूले पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको भेटिदैन । अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या गलत तर्क गर्न खोज्नु अल्पज्ञताको नै परिचय हो । बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर पछिल्लो समय अहिले समाजमा आवाजहरू पनि उठ्न थालेको छ । यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ । नयाँ सोच,नयाँ विचार, नयाँ भावनाको विकास हुँदै जानु समयको माग,परिवर्तन एवं विकास क्रमको नियम पनि हो र शास्त्रसम्मत निर्णय पनि यही नै हो । खुनको बलिले हैन नरिवल कुभिन्डो आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ । देवतालाई प्रसन्न गर्न सकिन्छ । देवताहरू सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्य हुदैनन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार