लालपूर्जा छिट्टै ः गिरी

बुटवल । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सुकुम्वासी क्षेत्रमा लालपुर्जा वितरणको काम छिट्टै शुरु हुने बताएका छन् ।

खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ नहरपुर–बुद्धनगरको पाँचौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री गिरीले सुकुम्वासीका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर बनेर लागेको बताए ।

निर्वाचनका बेला गरेका वाचा पूरा गर्न आफूहरू लागिपरेको भन्दै उनले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको पहलमा छिट्टै लालपुर्जा वितरण गर्ने बताए ।

उनले अहिले कानुन निर्माणको क्रममा रहेको भन्दै लागत संकलनका आधारमा लालपुर्जा वितरण गर्ने बताए । संकलित लागतहरूको पुनरावलोकन गरेर मात्र लालपुर्जा वितरण हुने भन्दै जनतालाई ढुक्क हुन उनले आग्रह गरे ।

उनले बर्षेनि बढ्दै गइरहेको तिनाउको त्रासलाई कम गर्न पनि प्रदेश सरकारले योजना बनाएको बताए । तिनाउ नदीले कटान गरेको क्षेत्रमा ग्रिनरी बनाउने योजना प्रदेश सरकारको रहेको भन्दै उक्त कार्यमा साथ दिन स्थानीय उपभोक्तालाई उनले आग्रह गरे ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाहीले स्थानीय सरकार बनेपछि विकास निर्माणले तीव्रता पाएको भन्दै उपभोक्ता समितिको सहयोग जरुरी रहेको बताए । कतिपय योजनाहरू वडामा आएपनि उपभोक्ताका कारण रकम फ्रिज भएर जाने स्थिति बनेको भन्दै यसमा उपभोक्ताहरू सचेत हुन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष डिवी रसाइलीले उपभोक्तालाई सहज रूपमा खानेपानी पुराउन विभिन्न कार्यक्रमहरू बनाएको बताए । कार्यक्रमको संचालन सचिव आशिष सूर्यवंशी र कोषाध्यक्ष सुनिता गहतराजले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार