किसानका साथीका रूपमा कमलराज रेग्मी

(गताङ्कको बाँकी) ‘दिल्ली सम्झौता धोखा हो’ भन्ने आन्दोलनलाई के.आइ सिंहहरूले अगाडि बढाए । यस क्रममा यो आन्दोलनलाई मलजल गर्ने काम नेकपा हो भन्ने आरोपमा २००८ साल माघ २० गतेदेखि २०१३ सालसम्म कम्युनिष्ट पार्टीमाथि नेपाली काँग्रेसको मातृका सरकारले प्रतिबन्ध लगायो । प्रजातन्त्र आउदा पनि प्रजातान्त्रिक ढङ्गले पार्टी संगठन निर्माण, विस्तार र प्रचार गर्न नपाएपछि नेकपाले विभिन्न जनसंगठनको माध्यमबाट जागरण र संगठन निर्माण र संघर्षका गतिविधिलाई अगाडि बढायो । त्यस क्रममा २००८ सालदेखि २०१३ सालको अवधिमा यहाँ किसानहरूले सामन्त साहू, महाजन, सुदखोर, जाली, फटाहाहरूबाट भोग्नु परेका पीडा र दमनका विषयलाई उठान गरेर ठूलठूला किसान आन्दोलनहरू भए । अखिल नेपाल किसान संघको नाउँबाट प्रतिबन्धित नेकपाले आफ्नो गतिविधिलाई देहाय बमोजिम अगाडि बढायो । यहाँ छोटो झलक मात्र प्रस्तुत गरिन्छ ।
बाँधा मुक्ति आन्दोलन साहूमहाजनबाट सानो रकम ऋण लिए पनि कहिल्यै चुक्ता नहुने अवस्था थियो । ऋण तिर्न नसकेपछि गरिब किसान साहूको घरमा बाधा÷दास भएर काम गर्नुपर्ने अवस्था थियो । बाँधाको छोराछोरी पनि बाँधा, बाँधाको नाति पनाति दरसन्तान नै बाँधा रहनु पर्ने अवस्थालाई तोड्न अभियान चालियो । बाँधा राख्नेहरूलाई मुक्त गर्न पर्चाबाट आह्वान गरियो । कतिपय साहूमहाजनलाई कारवाही गरेर पनि बाँधाहरूलाई मुक्त पारियो ।
कीर्ते तमसुक च्यात आन्दोलन सुदखोर साहूहरूको पहिचान गरी कीर्ते तमसुक च्यात्न लगाइयो र किसानहरू अऋणी भए । ढुङ्गाना बेसीको तमसूक च्यात्ने संघर्ष स्मरणीय छ ।
आर्मीहरूको रासनका लागि सरकारले किसानहरूबाट मालपोत वापत धान उठाउने गर्दथ्यो । धान संकलन गर्न तानसेन, रामपुर, खस्यौली, झडेवा, बुढीकोट, धोबादी जस्ता ठाउँहरूमा गोदाम बनेका थिए । ती गोदाममा किसानहरूले तोकिएको दरमा अबल माटो मुरी १ को ६ पाथी, दोयमको ४ पाथी, सीमको ३ पाथी, चाहारको २ पाथी कादरले धान बुझाउन पर्ने र पाखोबारीको रकम तिर्नुपर्ने प्रथा खड्ग शमशेर गौडा प्रमुख भएर पाल्पा आएपछि थिति बाँधेका थिए । त्यसका विरुद्ध “गुल्मी आदि जिल्लामा हालिदैन धान पाल्पा आदि जिल्लामा धान हाल्ने किन ?” जस्ता गीत गाएर प्रचार गरियो । गोदाम प्रथा तोड्न जुलुस प्रदर्शन पनि गरिए । ताहूँ घुर्चिसफाँट र ज्यामिरेमा हुँगीका पन्तहरूको निजी गोदाम थिए । त्यसको पनि विरोध गरियो ।
मुखिया जिम्वाल विर्तावाल, गुठियार आदिलाई तिज, तिहार दसैंमा र सेर्मा तिरो बुझाउँदा घ्यू खाने भनेर मालमोग केरा, कुराउनी, तरुल, मह, हलो, स्याखु यस्तै यस्तै उपहार चढाउनु पर्ने बाध्यकारी उपहारलाई ओलक भनिन्छ । यसको पनि धनधोर विरोध भयो । अन्त्यमा खारेज भयो ।
सैनिहरूका हातहतियार अर्जाप्नका लागि अँगाहा खोला जस्ता गाउँबाट तोकिएको मात्रामा गोल (अँगार) सरकारलाई बुझाउन पर्दथ्यो । यसको विरोध भयो र खारेज पनि भयो ।
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले जनसहभागिता जुटाउन झारा सेना वा स्वेच्छिक स्वयं सेवक सेनाको व्यवस्था गरेका थिए । पछि राणाकालमा सामन्तहरूले र वडा हाकिमहरूले यसलाई दुरूपयोग गरेर आफ्नो दरबार, महल, घर गोठ निर्माण र आफ्नो यात्राका लागि बाटो निर्माण गर्न लगाउन थाले । रानीघाट दरबार होस वा अर्गली दरबार झाराबाट नै बनेका हुन् । झारा बेठबेगारी प्रथाको घनघोर विरोध भयो र खारेज भयो ।
रुक्मागत अधिकारी बगनासकाली–६ गुँगा निवासी थिए । किसानका भाषामा उनी यस पाल्पा क्षेत्रकै कुख्यात र धूर्त फटाहा थिए । उनी यस भेकका कुख्यात सुदखोर थिए । उनी कहाँबाट कसैले एकपटक ऋण लियो भने आजीवन र सन्तान दरसन्तान उनको ऋणी बनिरहनु पर्ने बाध्यता थियो । उनले कुनै पनि व्यक्ति उँभो लाग्न थाल्यो भने उसलाई जालसाजी मुद्दा हालेर वा कुनै षडयन्त्रबाट फसाउन उनी खप्पिस थिए । उनको जालसाजी, कीर्ते रकमी व्यवहारले हजारौं घरकुरियाबासीहरू आजित थिए । भनिन्छ, महिलाहरूको इज्जत प्रतिष्ठा समेत लुटिएको थियो । तर ती रुकमागत मुखिया गौंडा प्रशासकका अत्यन्त प्रिय थिए, एक किसिमले उनले पाल्पाको गौंडा नै चलाएका थिए । उनले सात खुन अपराध गरेपनि माफ हुन्थ्यो । त्यसैले उनको नाम सुने जाने जतिले उनलाई फटाहा रुके मुखियाको नामले चिन्दथे । यसलाई कवि ईश्वरी आचार्यका कवितांशबाट यसरी बुझ्न सकिन्छ ।
दर्पुके हिमलालको धन लुट्यो करकाप तम्सुक¬ ग¥यो ।
सम्वत् दो हजार पछिको चैत्र पन्धौं प¥यो ।
यो सुन्दा सब किसानहरूको आङै भयो जर्जर ।
नारा दुष्ट विरोध गुञ्जित भए आङै भए थर्थर ।
स्मरणरहोस् दर्पुकका दुर्गामणि भट्टराई, भीमलाल भट्टराई लीलाधर अधिकारी, कृष्ण बोटेले २०१० साल चैत्र १५ गते सामूहिक रूपमा ऋण ब्याज बुझाए । तमसुक फट्टा गर भन्दा उल्टै किसानहरूलाई लठैत लगाएर कोठमा थुनियो र कुटियो । यसपछि चैत्रको २१,२२,२३ मा अखिल नेपाल किसान संघको झण्डा फराउँदै पाल्पा जिल्ला भरिका हजारौं किसानहरू जुटेर रुके मुखियाको घर घेराउ गरी विरोध गरे । रुकेले गौडासँग सम्पर्क गरी मेरो घरमा लुटपाट गरियो भन्ने मुद्दा दियो । जुगे असईको नेतृत्वमा प्रहरी पठाएर दमन पनि गरियो । तर किसानहरू आफ्नो मुद्दामा अडिग रहे । यही मुद्दालाई लिएर २०११ भाद्र १९ गते सयौं किसानहरूलाई वारेण्ट काटियो, गिरफ्तार गरियो । वारेन्ट काटिएका र गिरफ्तार भई जेलमा पर्नेहरू हरिप्रसाद कोइराला (डा. भगवान कोइरालाका बाबु), बहादुर गाहा सुनादीका धनपति भट्टराई, गणेशमान अमात्य (राम्दी), खगुपति अधिकारी, दर्पुकका टीकाराम न्यौपाने, दर्लमडाँडाका खगराज गैरे, छेलुङ्गका पुरुषोत्तम बस्याल, गुँगाका गोपाल जैसी, भक्त कँवर, दर्पुकका भीमलाल भट्टराई, मलेङका नेत्रलाल न्यौपाने, दरुङ्गाका चेतनारायण कोइराला वर्खाखर्कका देवीप्रसाद न्यौपाने, हिमलाल बस्याल, घण्टप्रसाद अर्याल, बासुदेव नेपाल, ईश्वरीप्रसाद आचार्य, श्यामप्रसाद श्रेष्ठ, भेषराज खनाल, हुमबहादुर श्रेष्ठ, नरेन्द्र मुँडभरी, गणेशमान अमात्य आदि रहेका थिए । यसका विरुद्ध थुनामा परेकालाई रिहा गर भनी आन्दोलन गरियो । वडा हाकिम तारकबहादुर शाह निकलीजा भनेर तानसेनमा नारा जुलुश गरियो । वारेण्ट र गिरफ्तारी हुँदै गरे, तर जुलुश रोकिएन स्मरण रहोस् २०१८ सालमा दौडाहा टोलीका प्रमुख शंकरप्रसाद शर्माले रुकेको घाँटीमा खुकुरी राखेर काटुँ काटँु पारी कडा कारवाही गरे ।
“फटाहाले फटाँइ छोड नत्र हाम्रो गावैं छोड, वडा हाकिम तारकबहादुर शाह मूर्दावाद, घुस्यो नृप बहादुर मूर्दाबाद, घुस्याहा मकर ध्वज मूर्दावाद, जाली फटाहा मूर्दावाद जस्ता नाराहरू किसानहरूको सहभागितामा पाल्पा जिल्लाभरि सञ्चालित भए । किसान वर्गका माग र समस्यालाई उठान गरी आन्दोलनहरू सञ्चालित भएकाले सामन्त, जाली फाटाहा, जिम्बाल, मुखिया र गौंडा प्रमुखहरू थरिकम्पन्न भए भने किसान वर्गमा जागरणको लहर आयो । न्याय र अधिकार प्राप्तिका लागि अखिल नेपाल किसान संघमा आफ्ना जल्दाबल्दा मुद्दा लिएर किसानहरूले आवेदन दिन थाले । अखिल नेपाल किसान संघका नेताहरू कमलराज रेग्मी र वी.आर. राई प्रेम प्रकाश नेपालहरूले ठाउँका ठाउँ न्याय दिन थाल्नु भयो । परिणाम के भयो त भने कमलराज रेग्मी किसानका बीचमा अत्यन्त लोकप्रिय नेताका रूपमा वा किसानका साथीका रूपमा स्थापित हुनु भयो । किसान जनताले अखिल नेपाल किसान संघलाई किसान पाटी भनेर चिन्न थालें । हाइ हाइ कमलको गाथा गुन्जिन थाल्यो ।
राजनीतिक आन्दोलन र वर्गीय आन्दोलन मात्रै भएका थिएनन् । सामाजिक आन्दोलन पनि भएका थिए । जातीय विभेद र छुवाछुत प्रथाका विरुद्ध सामाजिक समानताका लागि पनि अभियान चलाइएका थिए । कृषि प्रधान देशमा बाहुन जातिले हलो जोते जात जान्छ भन्ने मान्यतालाई तोड्दै तनहुँ दुराडाँडाका तोयनाथ अधिकारी, शेषकान्त अधिकारी, मायानाथ पौडेल, हरिभक्त अधिकारीले हलो जोत्ने अभियान २००६ सालमा चलाए झैं पाल्पामा पनि कमलराज कै नेतृत्वमा बाहुनहरूले हलो जोत्ने अभियान चलाए । रहवास चिर्तुङका पण्डित देवीप्रसाद रेग्मी र मदनपोखराका बाहुन किसानहरू घण्टप्रसाद अर्याल, खोमनाथ खनाल, सोमनाथ घिमिरे, लक्ष्मीभक्त घिमिरे, झिल्लु पौडेल, नन्दलाल भण्डारी,भवानी प्रसाद भण्डारी, हिमलाल र थानेश्वर आदिले जसलाई हलो क्रान्ति भनेर चिनिन्छ । हलो जोत्ने अभियान चलाएका थिए ।
२०१५ सालको आम चुनावमा पूर्वी पाल्पाबाट कमलराज र पश्चिम पाल्पाबाट केशरजङ्ग रायमाझी उम्मेदवार बन्नु भयो । नेकपाले ४ सीट संसदमा जितेका मध्ये १ सिट पाल्पाकै हो । त्यो सिटमा कमलराज रेग्मीले नै विजयमाला पहिरिन सफल हुनु भएको हो । शोषण दमनमा परेका किसान वर्गको पृष्ठपोषण हुने गरी आन्दोलनहरू सञ्चालन गरेकै कारण कमलराज रेग्मी र नेकपा पाल्पामा संस्थागत हुन सकेकोमा दुईमत हुँदैन ।
२०१७ साल पौष १ गते राजा महेन्द्रले दलहरू माथि प्रतिबन्ध लगाउँदै संसद विघटन गरें । राजनीतिक दलहरू प्रतिबन्ध भएपछि राजाको कदमलाई स्वागत नगर्ने नेता र सांसदहरू क्रमशः गिरफ्तार र जेल चलान हुन थाले । नेकपा संस्थापक महासचिव पुुष्पलाल बनारसमा निर्वासित हुन बाध्य हुनु भयो । डा. केशरजङ्ग रायमाझी जो त्यति बेला मस्कोमा थिए उनले राजाको कदमलाई स्वागत गरे । तर कमलराजले राजाको कदमलाई स्वागत नगरेकै कारण गिरफ्तार हुनु भयो । पाल्पा जेलमा राखे जनताले सम्पर्क गर्छन् विद्रोह भड्किएला भन्ने डरले उहाँलाई पाल्पा जेलमा नराखी उहाँलाई कोर्कामा बोकाएर जुम्ला जेल चलान गरी घर परिवारको सम्पर्कबाट बंचित मात्र गरिएन शारीरिक र मानसिक यातना दिइयो । प्रारम्भिक चरणका केही वर्ष उहाँ विचलित नभई सती सालझै उभिनु भयो भने पछिल्ला दिनमा राजनीतिक नैराश्यता आर्थिक र पारिवारिक समस्याले पनि उहाँलाई अवश्य नै गाँज्यो । पार्टीका संस्थापक नेता पुष्पलाल लगायतले निर्वासित भएर बनारसबाट राजनीतिक चेतना फैलाउन र संगठन निर्माण गर्नतिर लाग्नु भयो भने जेलबाट छुटेपछि कमलजीले त्यो बाटो पक्रिन सक्नु भएन । यसका पछाडि अवश्य नै जल्दा बल्दा भौतिक कारणहरू रहेको अनुमान गर्न सकिन्छ । नेकपाका नेताहरू गिरफ्तार र निर्वासित भएकाले उहाँलाई पार्टीका तर्फबाट सम्पर्क गर्न कोही नआउनु पार्टी नेता कार्यकर्तालाई संरक्षण उत्साहित गर्ने वातावरण पार्टीका तर्फबाट नहुनु, पार्टी विघटन प्रायः हुनु प्रहरी प्रशासनले वाच गरिरहनु, जेल परेका नेताहरूका पारिवारिक समस्या समाधान गर्ने बारे ठोस योजना पार्टीमा नहुनु, पुष्पलाल निर्वासित भएपछि कम्युनिष्ट नेता कार्यकर्ताहरू रानो हराएको मौरी भैmँ हुनु आदि कारणहरू रहेको देखिन्छ । क्रमशः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार