असत्यमाथि सत्यको विजय

घटस्थापनादेखि नै हिन्दूहरूले विभिन्न शक्ति पीठहरूमा दुर्गा सप्त शनि, चण्डी र भगवतीको स्त्रोत पाठ गरी विशेष गरी दूर्गा भवानीको आराधना गरिन्छ । परम्परागत दसै पर्वमा खड्ग यात्रा र पूजाको प्रचलन भएकाले यो पर्व नेपालमा तन्त्र यानको प्रादूर्भाव भएदेखि नै भएको हो भन्नेतर्क एकथरि विद्वानहरूको छ । तर इतिहासले भने राजा हरिसिंह देवले नेपाल सम्वत ४४४ अर्थात आजभन्दा ६९० वर्ष पहिले तुलाजा भवानीसमेत लिएर नेपाल प्रवेश गरी उपत्यकामा राज्य सञ्चालन गर्ने क्रममा दशंैको पर्व सुरु भएको भन्ने पनि छ । देवी पुरान धर्मग्रन्थमा उल्लेख भए अनुसार सत्य युगमा देवासुर सग्राम भएदेखि नै दशैंै पर्व मनाउन थालिएको कुरा धार्मिक विद्वानहरू बताउँछन् । चाहे जे जसरी पर्वको सुरुवात भएपनि परम्परागत मनाउँदै आएको दशंैपर्व आज पनि हिन्दू समाजमा उत्तिकै लोकप्रिय चाडकारूपमा मनाउँदै आइएको छ । असत्यमाथि सत्यको विजय उत्सव मानि सुरु भएको दशंै पर्व पछिल्ला दिनमा देवीलाई बली दिनुपर्दछ भन्ने मान्यता लिई दशंै पर्वमा लाखांै पशुपन्छीहरूलाई शक्तिपीठ मानिएका देवीदेवताको मन्दिर र दशैं घरमासमेत बलि दिने गरिन्छ ।
तलेजु मन्दिर वर्षको एक दिन अर्थात् नवरात्रको महानवमीको दिन मात्र खुल्छ । त्यसैले उक्त दिन यो शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लाग्छ । अझ नेवार समुदायले त इष्टदेवीकै रूपमा तुलजा भवानीलाई पुज्ने गर्दछन् । तुलजा भवानीलाई मातृशक्ति भगवतीका रूपमा पूजा गर्ने परम्परा मल्लकालदेखि नै चलेको हो । तत्कालीन सिम्रौगढका राजा हरिहरसिंहदेवले तुलजा भवानीलाई नेपालमा भित्राएका थिए । कर्नाटवंशी राजाहरूले तुलजा भवानीलाई कुलदेवीका रूपमा परम्परादेखि नै मान्दै आएका थिए । भारतीय मुसलमान शासक गयासुद्दीनले सिम्रौगढमा आक्रमण गरेपछि हरिहरसिंह तलेजु भवानीलाई साथै लिएर भक्तपुर आइपुगेको इतिहास छ । भक्तपुरमा विधिपूर्वक तुलजा भवानीलाई प्रतिस्थापन गरिएपछि काठमाडौं ललितपुरलगायत अन्य राज्यमा पनि तुलजा भवानीलाई तत्कालीन समयमा स्थापना गरिएको थियो । अहिलेको काठमाडांै हनुमानढोका दरबार क्षेत्रमा रहेको यो मन्दिरको स्थापना मल्ल राजा रत्न मल्लले गरेका हुन । मल्लराजाहरूको इष्टदेवीका रूपमा तुलजा भवानीलाई पुज्न थालेपछि शाहवंशीय राजाहरूले पनि तुलजालाई इष्टदेवीकै रूपमा पूजा गर्न थालेको इतिहास छ । वि.सं. १६२० मा महेन्द्र मल्लले मन्दिरलाई भव्य रूपमा पुननिर्माण गराएका थिए । पछि प्रताप मल्लले पनि यो मन्दिरको जीर्णोद्वार गरे । प्रताप मल्ललाई तलेजु भवानीले प्रत्यक्ष दर्शन दिन्थिन् भन्ने किंवदन्तीसमेत पाइन्छ । प्रत्येक वर्षको दशंैको महानवमीको दिनमात्र सर्वसाधारणका लागि एक दिनमात्र खुल्ने भएकोले यो शक्तिपीठको ठूलो महत्व रहेको छ । काठमाण्डौमा उक्तदिन तुलजा भवानीको दर्शन गर्न मानिसहरूको ठूला भीडलाग्ने गर्दछ ।
पौराणिक शास्त्र अनुसार नेपालमा शक्तिपीठहरू ५१ रहेका छन तर आजभोलि ५२ शक्तिपीठ हुन् भन्ने कुराहरू पनि आउने गरेको छ । जे होस् पौराणिक शास्त्रले सतिदेवीको अंग पतन भएको स्थानलाई शक्तिपीठ मानिदै आएको छ । तर मानव समाजको विकास र नेपालमा भुरे–टाकुरे राजाहरूको पालामा विभिन्न अवसरमा स्थापना गरिएका देवीको मन्दिरहरू पनि अतिपय जिल्लामा शक्तिपीठकै रूपमा मान्दै आएको पाइन्छ । अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठान जिल्लाको सेरोफेरोमा दशंैको अवसरमा निकालिने सराँय नाचले भुरे–टाकुरे राजाहरूले स्थापना गरेका मन्दिरहरू शक्तिपिठको उधारण लिन सकिन्छ । तर पनि शास्त्रमा उल्लेख भएका शक्तिपीठहरूको महत्व भने छुट्टै रहेको छ । काठमाडौं उपत्यकामा बाग्मती नदीको दक्षिणी किनारमा गुह्येश्वरीदेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको गुह्य पतन भएको विश्वास गरिन्छ । त्यहाँ देवीको कुनै मूर्ति छैंन । सतीदेवीको गुह्य पतन भएको भनिएको स्थानमा मन्दिरको गर्भगृह छ । जहाँ एउटा सानो प्वाल मात्र छ । त्यही प्वालमा पूजाआजा गर्छन् । उक्त स्थानमा सर्वप्रथम तेत्तीस कोटी देवताले पूजा–आराधना गरेको विश्वास गरिन्छ । घटस्थापनाको दिनदेखि नै गुहयेश्वरी मन्दिरमा विशेष पूजा–आराधना गरिन्छ । पूर्वी नेपालको सुनसरी जिल्लाको धरानमा दन्तकाली देवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । बडादशैंको अवसरमा घटस्थापनाको दिनदेखि नै भक्तजनको भीड लाग्ने तथा विशेष पूजा–आराधना गरिने यो मन्दिरमा सर्वप्रथम गंगा प्रभृति नदीहरूले पूजा–आराधना गरेको विश्वास गरिन्छ ।
नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि करिब ८ किलोमिटर दक्षिणमा त्रिशूली र तादी नदीको सङगम देवीघाटमा जालपादेवीको मन्दिर छ । उक्त ठाउँमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । उक्त स्थानमा सर्वप्रथम कामधेनु गाईले पूजा–आराधना गर्दा देवी प्रसन्न भएर इच्छित वर प्रदान गरेको मानिन्छ । नेपाल अधिराज्यका एकीकरणकर्ता पृथ्वीनारायण शाहको दाहसंस्कार यहीं मन्दिर नजिकैको घाटमा गरिएकाले पनि इतिहासमा यो मन्दिरको विशेष स्थान छ । बाँके जिल्लाको नेपालगञ्जमा वागेश्वरीदेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको जिब्रो पतन भएको मानिन्छ । एउटा ठूलो तलाउको किनारमा अवस्थित यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपाल अधिराज्यमा गाभिएपछि मात्र पत्ता लागेको हो । बडादशैंको अवसरमा घटस्थापनादेखि नै वागेश्वरीमा विशेष पूजाआजा हुन्छ । उक्त स्थानमा सर्वप्रथम किन्नरगणले पूजा–आराधना गरेको धार्मिक विश्वास गरिन्छ । काठमाडौं जिल्लाको गोकर्णमा भैरवीदेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको देब्रे कान पतन भएको विश्वास गरिन्छ । बडादशैंको अवसर पारेर यो मन्दिरमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ । उक्त स्थानमा सर्वप्रथम विष्कुम्भकहरूले पूजा–आराधना गरेको बताइन्छ । सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षी देवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको देब्रे करङ पतन भएको विश्वास गरिन्छ । एउटा पहाडका रूपमा रहेको यो मन्दिरमा करङजस्तै आकृतिहरू देखिन्छन । बडादसैंको उपलक्ष्यमा घटस्थापनादेखि नै कमलाक्षीदेवीको विशेष पूजा–आराधना गरिन्छ । उक्त स्थानमा सर्वप्रथम योगमार्गीहरूले तपस्या एवं आराधना गरेको विश्वास छ । सल्यान जिल्लाको अर्को शक्तिपीठ हो छायाक्षेत्रमा छत्रेश्वरीदेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको शरीरबाट पतन भएर शेष रहेका सबै अंग पतन भएको विश्वास गरिन्छ । कुनै समय भगवान् शंकरले विशेष अनुष्ठान गरेकाले यो मन्दिरमा कुनै पनि अवसरमा बलि चढाइँदैन । नेपाल अधिराज्यभित्र रहेका देवी मन्दिरमध्ये यो एक मात्र त्यस्तो मन्दिर हो जहाँ बलि दिइँदैन । उक्त स्थानमा सर्वप्रथम अष्टभैरवले पूजा–आराधना गरेको विश्वास गरिन्छ ।
पश्चिम नेपालको ज्वालादेवी शक्तिपीठ दैलेख जिल्लाको सदरमुकामदेखि करिब पाँच किलोमिटर पश्चिमतर्फ नाभी र छामगाड खोलाको किनारमा ज्वालादेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । बडादशैंको अवसरमा घटस्थापनादेखि नै ज्वालादेवीको विशेष पूजा–आराधना हुन्छ । उक्त स्थानमा सर्वप्रथम हनुमानले पूजा–आराधना गरेको मानिन्छ । गलेश्वरी म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा अवस्थित गलेश्वर महादेवको मन्दिर निकै चचिर्त छ । म्याग्दी जिल्लामा मात्र होइन नेपालमा गलेश्वरीदेवीको पनि आफनै विशिष्ट महिमा रहेको छ । उक्त स्थानमा सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । त्यहा सर्वप्रथम पृथ्वीमाताले पूजा–आराधना गरेको विश्वास गरिन्छ । आफैं उत्पत्ति भएका श्री भवानीका केही प्रमुख मन्दिर पाथीभरा ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा १२ हजार फिटको उचाइमा पाथीभरादेवीको मन्दिर छ । यहाँ श्रीभवानीको ठूलो मूर्ति छ । विन्ध्यवासिनी कास्की जिल्लाको पोखरास्थित विन्ध्यवासिनी नेपालमा आगन्तुक देवी मानिन्छिन । पौराणिक कथनअनुसार दक्षिण भारतको विन्ध्याचल पर्वतबाट श्रीभवानी उत्तरको हिमालय पर्वततर्फ जाने क्रममा उक्त स्थानमा रोकिएकी थिइन । बडादशैंको अवसरमा यो मन्दिरमा निकै भीड लाग्ने गरेको छ ।
चण्डेश्वरी काभ्रे जिल्लाको बनेपामा चण्डेश्वरी मन्दिर रहेको छ । बडादशैं तथा चैतेदशैंका अवसरमा ठूलो घुइँचो लाग्ने यो शक्तिपीठमा अन्य दिनमा पनि मानिसहरू दर्शनको लागी जाने गर्दछन् । गढीमाई बारा जिल्लाको सदरमुकाम कलैया बजारदेखि दक्षिणमा पर्ने गढीमाई स्थानीय जनताको ठूलो आस्थाको केन्द्र हो । हरेक पाँच वर्र्षमा ठूलो मेला लाग्ने यो मन्दिरमा नेपालमा रहेका अन्य शक्तिपीठमा भन्दाबढी बलि चढाइन्छ । बडादसैंका अवसरमा पनि यहाँ विशेष पूजा–आराधना हुन्छ । कन्काइमाई यो मन्दिर झापा जिल्लाको कन्काई नदीको किनारमा छ । कन्काइमाई झापाका आदिबासी राजवंशीहरूकी आराध्यदेवी हुन । कन्काइमाईले रोगबाट रक्षा गर्ने जनविश्वास छ । ते¥हथुम र पाँचथर जिल्लाको सीमाक्षेत्र यासोकमा सिंहवाहिनीको मन्दिर छ । यो मन्दिर परापूर्वकालमा बटुवाहरूले पत्ता लगाएको विश्वास गरिन्छ । बडादशैंको अवसरमा यो मन्दिरमा टाढाटाढाका मानिसहर पनि पुग्ने गर्दछन । बडिमालीका शक्तिपिठ बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट तीन दिन पैदल यात्रा गरेपछि पुग्न सकिन्छ । यो शक्तिपिठ सामुन्द्रिक सतहबाट १२ हजार फिटको उचाइमा छ । बडादसैं एवं चैतेदसैंमा मेला लाग्ने यो मन्दिरमा स्थानीय भक्तजन मालिकादेवीकी आमा अर्थात बडीमालिकाको पूजाआजा गर्छन । त्यसै गरी अर्को शक्तिपिठ मालिकादेवीको मन्दिर पनि बाजुरा जिल्लामै १४ हजार ४ सय फिटको उचाईमा छ ।
सप्तरी जिल्लाको सीमावर्ती इलाकामा सखडा भगवतीको मन्दिर छ । छिन्नमस्ता भगवती समेत भनिने यो मन्दिरलाई ते¥हौं शताब्दीमा बंगालका सुल्तान समसुद्दीनले ध्वस्त पारेका थिए । पछि पुननिर्माण गरिएको यो मन्दिरमा बडादशैंको अवसरमा ठूलो मेला लाग्छ । कास्की जिल्लाको पोखरास्थित फेवातालमा रहेकी तालबाराहीलाई सबै किसिमका तालतलाउहरूकी स्वामिनीका रूपमा पूजाआजा गरिन्छ । बडादशैंको अवसरमा यहाँ दर्शन गर्ने भक्तजनको भीड हुने गरेको छ । यस्तै धनकुटाकी छिन्ताङ भगवती, सिन्धुलीकी कमलामाई, सप्तरीकी कंकालिनी माई, सिन्धुपाल्चोककी तौथलीमाई, धादिङकी मैदी भगवती, लमजुङकी कालिकादेवी, अर्घाखाँचीकी अर्घाकोटदेवी, सुपादेउराली, पाल्पाको रैनादेवी र रम्वादेवी तानसेनको भगवतीको मन्दिर, सल्यानकी खैराबाङदेवी, दाङको अम्विकेश्वरी मन्दिर, सुर्खेतकी देउतीबज्यै, डोल्पाकी त्रिपुरासुन्दरी,अछामकी वरदादेवी, डडेलधुराकी उग्रतारादेवी, कन्चनपुरकी महाकाली, रुकुमकी डिग्रे भगवती, कैलालीकी नैनादेवी, मकवानपुकी भुटनदेवी, वीरगन्जकी संसारी माई तथा गोरखाको गोरखकालीका र मनकामनामाई पनि नेपालका प्रसिद्ध शक्तिपीठका देवीहरू मन्दिरहरू हुन् । यी सबै मन्दिरमा वडादशैंका अवसरमा मात्र होइन, अन्य समयमा पनि भक्तजनको घुइँचो लाग्छ । यसबाहेक काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पर्ने दक्षिणकाली, शोभाभगवती, बगलामुखी, नक्साल भगवती, मैतीदेवी, नरदेवी, इन्द्रायणी, विजेश्वरी, भद्रकाली, बज्रयोगिनी, धूम्वाराही, तलेजु भवानी, पलाञ्चोक भगवती, कालिकादेवी आदि मन्दिरमा पनि निकै ठूलो भीड लाग्ने गरेको छ । नेपालका हरेक जिल्ला र गाउँहरूमा यी मन्दिर बाहेक पनि अन्य देवीका मन्दिरहरू रहेका छन् । सबै देवीका मन्दिरहरूमा शक्ति पीठमा गरने पूजा–आजा जस्तै दशंैको अवसरमा पञ्चवली, भाकल र दुर्गामाताको पूजाआजा एवं देवीको दर्शन गर्नेहरूको भीड लाग्ने गर्दछ ।
हाम्रो दशंैपर्व शक्तिपीठमा पूजागर्ने काम,क्रोध, वासनालाई अर्पण गर्नुको सट्टा पशुपक्षिहरूको बलि दिएर शक्तिपीठका देवीहरू खुसी हुन्छन भन्ने मान्यतामा अगाडि बढेको छ । बलिशब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु ! रागो रुपि–क्रोध, भेडारूपी–मोह वोकारूपी–कामवासना अर्थात काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनु पर्दछ भन्ने हाम्रो शास्त्रको भाव हो । तर हामीहरूले बलि भनेपछि पशुहरूलाई काटेर बलि दिने गरिन्छ । यसको बारेमा दशै पर्व मनाउनेहरूले सोच्न जरुरी छ । हिंसालाई बलि –अर्पण दिएर अहिंसा परमो धर्मको मूलमर्म हामीले सिक्न जरुरी छ । चाणक्यले मासुले मासु बढाउँछ भन्दै मासु खानेलाई दया हुँदैन भनेका थिए । बलिप्रथाको पराजित मानसिकतालाई हटाउदै दशैंपर्व मनाउन सिकौ ! यही शुभ–कामना ।
लेखक ः संस्कृति विद् हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार