जगदीशपुरमा विकासका लागि डुंगा सञ्चालन

कपिलवस्तु ।विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदशीपुर तालको प्रवद्र्धन, प्रचारप्रसार र पर्यटकीय विकासका लागि तालमा डुंगा संचालन गरिएको छ । जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकारवाला मञ्चको अगुवाईमा तालमा ६ वटा डुंगा संचालन गरिएको हो । संचालनका लागि कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० ले १० लाख सहयोग गरेको मञ्चले जनाएको छ । यस्तै बाणगंगा सिंचाई प्रणालीअन्तर्गत जापानिज केएनसिएफ नामक संस्थाले समेत त्यसमा सहयोग गरेको मञ्चका सदस्य ललित गुरुङले बताए ।
लाइएफ ज्याकेटसहित एउटा डुंगाको लागत २ लाख रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल र कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले संयुक्त रूपमा उद्घाट गरी डुंगा संचालन गरेका थिए । सो अवसरमा समन्वय समितिका प्रमुख खनालले ओझेलमा परेको जगदीशपुर तालका पर्यटकीय विकासका लागि डुंगा संचालनपछि मद्दत मिल्ने बताए । तालको विकासमा स्थानीयबासीले समेत चासो दिनुपर्ने बताए । नगरप्रमुख सिंहले तालको समग्र विकास र प्रचारप्रसारमा डुंगा संचालन भए मद्दत मिल्ने बताए । उनले समग्र निग्लिहवाका विकास यही तालसँग जोडिएकाले यसतर्फ सबै सरोकारवालाहरू पनि ध्यान दिनुपर्ने बताए । उनले तालको विकासका लागि नगरपालिकाले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि नै प्रदेश नम्बर ५ को प्रमुख गन्तव्यको सूचीमा निग्लिहवा परिसकेको छ । केही महिनाका लागि मञ्चले नै डुंगा संचालन गर्ने जनाएको छ ।
टेन्डर प्रकृयामा गएर डुंगा संचालनको जिम्मा ठेकेदारलाई दिने गरी कार्यक्रम अघि ल्याइएको मञ्चका सदस्य ललित गुरुङले बताए । चराचुरुङ्गीहरूलाई ध्यानमा दिई हाललाई तालको पश्चिमी क्षेत्रतर्फ डुंगा संचालन गरिएको उनले बताए । ‘ प्रदेश नम्बर ५ कै प्रमुख गन्तब्यमा ताल परेको छ, हामीले पनि आफ्नो स्तरबाट यो कार्य अघि बढाएका हौँ’, उनले भने । तालमा जलक्रीडासहित चराचुरुङ्गीहरूको चिरबिराहट समेत सुन्न पाइने भएकाले यो आफैमा निकै रामो भएको स्थानीय सुन्दर पाण्डेयले बताए । बुधबारदेखि सुरु भएलगत्तै डुंगामा सयर गरेका उनले आफू निकै आनन्दित भएको बताए । उनले यसलाई दिगोरूपमा अघि बढाउनु पर्ने बताए । वडा नम्बर ९ का वडा अध्यक्ष शिवबहादुर वाग्लेले सबैको अथक प्रयासले तालमा डुंगा संचालन भएको बताए । उनले यसलाई दिगोरूपमा अघि बढाउन सबैले साथ दिनु पर्ने बताए । तालमा डुंगाको सयर सहित भ्यु टावरबाट चराहरू हेर्न पाइने भएपछि पर्यटकहरूको आगमन बढ्ने वडा नम्बर १० का अध्यक्ष मोहनराज शर्माले बताए । होमस्टे भ्यु टावर र डुंगा संचालन भएपछि अब तालमा रौनता थपिने उनले बताए । बुधबार सय बढीले डुंगामा सयर गरेका थिए । ४ सिट क्षमताको डुंगामा एक घन्टाका लागि प्रति व्यक्ति ७५ रूपैयाँ तोकिएको छ । ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा चुरुङ्गीहरू पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरू पाइने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । तालमा पेकिंग डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानीहा“स प्रशस्त देखिन्छन् । त्यस्तै तालमा सारश, सुनजुरे, भुडिफोर, ध्यानी बकुल्ला र सेतो गरुडलगायतका चराहरू पनि यहाँ आउँछन् । १५७ हेक्टर क्षेत्रफलमा फैलिएको ताल कृत्रिम रूपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो । ताल सन् २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्र रामसारमा सूचीकृत भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार