ओरालो लागे हिमालका भेडा

गुल्मी । नेपालीहरुको महान् पर्व दशैं नजिकिँदै गर्दा गुल्मीमा भेडा च्याङ्ग्राको बिक्री वितरण शुरु भएको छ । दशैं पर्वमा देवी देवताहरुका मठ मन्दिरहरुमा भेडा च्याङ्ग्राको बली चढाउने प्रचलनलाई लक्षित गरी गुल्मीमा भेडा च्याङ्ग्राको बिक्री वितरण केही दिनदेखि सुरु भएको छ ।
दशैं नजिक आउँदै गर्दा गुल्मीमा आसपासका जिल्लाबाट खसीबोका भित्रिन थालेका हुन् । छिमेकी जिल्लाहरु अर्घाखाँची, प्युठान, दाङ्ग, रोल्पा, रुकुम लगायतका स्थानबाट कृषकहरुले बिक्रीका लागि भेडा च्याङ्ग्राका साथै खसीबोका गुल्मीमा ल्याउन थालेका छन् । हिन्दुहरुको महान् पर्व दशैंमा देवी देवताहरुका मठ मन्दिरहरुमा भेडा च्याङ्ग्रासँगै अत्यधिक मात्रामा खसीबोकाको बली चढाउने चलन भएकाले गुल्मीमा पनि भेडा च्याङ्ग्रा र खसीबोकाको अत्यधिक मात्रामा कारोबार हुने गर्दछ । खसीबोकाको कारोबार गरेर कतिपय परिवारले आफ्नो वर्षभरिको गुजारा चलाउनुका साथै दशैंसमेत मान्ने गरेका छन् ।
गत हप्ता दाङ्गको लमही नगरपालिका ५ विजौरीबाट भेडा बिक्रीका लागि गुल्मीको सदरमुकाम तम्घास आएको बताउने बाबुराम पाण्डेले यस वर्ष गुल्मीमा गत वर्षभन्दा धेरै भेडा भित्रिनुका साथै बिक्री वितरण हुने बताए ।
‘म १० वर्षदेखि लगातार यहाँ दशँैको समयमा भेडा र बोका बिक्री गर्न आउने गरेको छु’, पाण्डेले भने, ‘अघिल्ला अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष धेरै भेडा बिक्री हुने लक्षण देखिएको छ ।’
उनका अनुसार आएको ५ दिन पुग्न नपाउँदै १० भन्दा बढी भेडा बिक्री भैसकेको बताए । उनले बिक्री गर्न ल्याएका भेडाको ८ हजारदेखि १५ हजारसम्म पर्ने बताए । दाङ्गमा ५ सय ३५ रुपैया प्रतिकेजीमा खरिद गरेर गुल्मीमा प्रतिकेजी आफूले ७ सय ५० रुपैयाका दरले बिक्री गर्ने गरेको उनले बताए । गत वर्ष ५ हजारदेखि १३ हजारमा बिक्री भएका भेडा यस वर्ष भने मूल्य वृद्धि भएको उनले बताए ।
भेडा च्याङग्रा पाल्न धेरै दुख हुने तथा भेडा माग प्रत्येक वर्ष बढ्दै गएकाले हरेक वर्ष यसको मूल्य वृद्धि हँुदै गएको सदरमुकाम तम्घासमा मुस्ताङ्गवाट आएका अर्का व्यापारी कृष्ण गुरुङ्गले बताए ।
उनले मुस्ताङ सहित मुगु र केही मात्रामा तिब्बतबाट समेत भेडा –च्याङग्रा खरिद गरेर यस वर्ष २ हजार बढी भेडा च्याङग्रा पोखरा, स्याङजा, पाल्पा, बुटवल र गुल्मीमा बिक्री वितरण गर्न हिंडेको बताए । उनका अनुसार १० हजारदेखि २५ हजार मूल्य बराबरमा भेडा च्याङग्राको बिक्री भएको छ । यस वर्ष भेडा च्याङग्रा ल्याउदा ठाँउ ठाँउमा कर तिर्नु पर्ने झनझट भयो उनले भने, ‘अघिल्लो वर्षभन्दा केही महङ्गोमा भेडा च्याङग्रा बिक्री गरेका छौँ ।’ उनका अनुसार ७ जनाले सामुहिक भेडा च्याङग्रा खरिद गरेर आफू गुल्मी आएको बताए ।
पोखरा क्षेत्रमा मात्रै दशैंको अवसरमा कम्तीमा पनि आफूहरुले बर्षेनी १ हजार बढी भेडा च्याङग्राको बिक्री गर्ने बताए । भेडा बिक्रीका लागि दाङ्गवाट आएका अर्का ब्यापारीका महमद आजम कुरैसीका अनुसार दशैँमा मात्र १ लाखभन्दा बढी आम्दानी भेडाबाट हुने बताए । ‘लामो समयदेखि गुल्मीमा दशैँको वेला भेडा बिक्री गर्न आउँछु उनले भने, ‘अघिल्लो वर्षभन्दा केही महङ्गोमा भेडा बिक्री भएकाले आम्दानी राम्रो हुने देखिएको छ ।’ उनले वर्षभरि नै भेडा लगायत खसीवोकाको कारोवारवाट बार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्ने बताए । उनी पनि ७ वर्षदेखि लगातार गुल्मीमा आउने गरेका छन । दाङ्गबाट मात्रै दशैँमा गुल्मीमा ५ सयको हाराहारीमा भेडा आउने गर्दछन् ।
यता गुल्मीका उपभोक्ताहरुलाई सहुलियतमा भेडा च्याङग्रा उपलब्ध गराउने उद्देश्यले जिल्ला समन्वय समितिले कर नउठाउने भएको छ । ‘नेपालीहरुको महान पर्वमा भेडा च्याङ्ग्राहरु धेरै वाहिरी जिल्लाबाट भित्रिन्छन्’, जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले भने, ‘भेडा च्याङग्रा ल्याउँदा कहीँ कतै कुनै कर उठाउने निर्णय भएको छैन र उठाइँदैन ।’ उनले कसैले उठाएको पाएमा कारवाही समेत गर्ने बताए । जिल्लाका विभिन्न ठाउँमा दशैंमा बढी भेडा च्याङ्ग्रा र वोका खपत हुने गरेको छ । हिमाली भेगमा बहुमूल्य जडिबुटी खाएर हुर्किएका भेडा च्याङ्ग्राको मासु स्वास्थ्यको लागि पनि निकै राम्रो हुने भएकाले पनि भेडा च्याङग्राको खपत बढेको व्यापारीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार