बालविवाह विरुद्ध जागे किशोरी

 बुटवल । मर्चवारी गाउँपालिका वार्ड नम्बर २ अमवामा गठित उज्ज्वल सहकारीकी कोषाध्यक्ष हुन् सबिता बरई । तीन वर्षअघि समूहमा आबद्ध भएकी उनी बालविवाह विरुद्धकी अभियान्ता बनेकी छन् । आफ्नो परिवारका सदस्यलाई राम्रोसँग बालविवाहका असरका विषयमा बुझाएपछि उनलाई समूहमा लाग्न सहज भयो ।
बरईको समूहमा २० बढी किशोरी छन् । उनीहरु हरेक साता बैठक बस्छन् र बालविवाह, लैंगिक विभेदको विषयमा छलफल चलाउँछन् । आफूले सिकेको सीप सडक नाटक, ¥याली तथा खेलकुदमार्फत् समाजमा पु¥याउँछन् । सुरुमा यो अभियानमा लागेका किशोरीहरुलाई गैरसरकारी संस्थाहरुले सहयोग गरे ।
‘अहिले आवश्यक परे सहयोग लिन्छौँ, हामी आफै पनि कार्यक्रम गरेर चेतना बाँडेका छौं’, उनले भनिन् । शुरुमा उनीहरुका कुरा धेरैले वास्ता गरेनन् । तर तीन वर्ष बित्यो, मर्चवार क्षेत्रमा बालविवाहका घटना कम हुँदै गए ।
गएको वर्षमात्रै उनीहरुको समूहले तीन वटा बालविवाह रोके । एउटा विहे दाइजो बिना नै भयो । त्यसरी परिवर्तन भएपछि उनीहरु उत्साहित छन् । मर्चवारी गाउँपालिकासँगै सम्मरीमाई, ओमसतिया, कोटहीमाई, लुम्बिनी साँस्कृतिक नगरपालिकाका किशोरीहरु समूहमा आबद्ध भएर सचेतना अभियानमा लागेका छन् ।
कोटहीमाई गाउँपालिका बैरघाटकी सुनिता चौधरीलाई दश वर्षको उमेरमा विहे भएको भन्ने सात वर्षपछि थाहा भयो, जव गौनाको (केटाको घर जाने) समय आयो । अनमी पढेकी उनलाई विहे गरिदिएको केटासँग जाने मनै थिएन । बाबुआमाले इज्जत जाने भन्दै सुनिताको कुरा सुनेनन् । गौना जाने समय आउन चार दिन मात्रै थियो, उनले तरकारीका किरा मार्न हाल्ने औषधि पिइन् । ‘कसैले नसुनेपछि मर्छु भनेर आफै औषधि ल्याएर खाएँ, अस्पतालमा लगेर बाँचेँ’, उनले भनिन् ।
विषादी मुखमा हाले पनि उनले केटाको घर जानबाट छुटकारा पाइनन् । गएको वर्ष घर पुगिन् । श्रीमान् कम पढेको, गाली गलौज गर्ने भएकाले उनी दुई महिनाभन्दा धेरै घर बस्न सकिनन् । अहिले बाबुआमा घर जान दवाव दिन्छन्, उनी मान्दिनन् । पढाइको सदुपयोग गर्दै उनले असुरैनाको डिहुलीमा सुमन हेल्दी क्लिनिक नामक मेडिकल खोलेकी छन् ।
‘बाबुआमालाई इज्जतको सवाल छ, मलाई मेरो जिन्दगीको सवाल छ’, उनी भन्छिन्– ‘अब डिभोर्स दिएर, आफ्नो जीवन छुट्टै चलाउछु होला ।’ माइतीमा बस्दै आएकी सुनिता त्यसयता बालविवाह विरुद्धमा कठोर बन्दै गएकी छन् ।
सुनिताको गौना गर्दा ५ लाख खर्च भएको थियो । केटा पक्षले एक लाख नेपाली रुपैयाँ र एउटा भैसी दाइजो मागेर सुनितासँगै लगेका थिए । तर सुनिताको घरबार भएन । छोरीको घरबार नभएपछि आमाबुबा दुःखी छन् । ‘सानैमा विहे गर्नु हँुदैन रहेछ’ आमा मिना कुर्मीको चेत खुलेको छ । तीन छोरीमध्ये सुनिता जेठी हुन् । अरु बहिनीहरुको भने विहे भएको छैन ।
अमवा मर्चवारकी उर्मिला अग्रहरीलाई कक्षा पाँचमै पढ्दा घरमा विहे गर्ने कुरा चल्यो । उर्मिलाले विहे गर्दिन, अझै धेरै पढ्न हो भन्दै थिइन् । तर परिवारका सदस्यले मानेनन् । आफ्नो कुरा कसैले नसुनेपछि उनी मामाघर पुगेर कुरा राखिन् । मामाले कुरा बुझेपछि उनको बिहे हुने कुरा रोकियो ।
१७ वर्षीया उर्मिला अहिले कक्षा ११ मा पढ्छिन् । ‘सानो उमेरमा विहे हुँदा महिलाहरु कमजोर हुन्छन् । न पढ्न पाउँछन्, न अगाडि बढ्न सक्छन्, यस विषयमा उनी खुलेरै तर्क गर्छिन् । उर्मिला त्यहाँ गठित सूर्य सिद्धार्थ किशोरी क्लबकी सचिव पनि हुन् । उनको क्लबले किशोरीमा हुने शारीरिक परिवर्तन, यौनको विषयमा छलफल र बालविवाह विरुद्धको सचेतना गर्दै आएको छ ।
रुपन्देहीको दक्षिणी सीमा क्षेत्र मर्चवारमा एक दशक अघिसम्म प्रत्येक घरपरिवारमा हुने बालविवाह अहिले घट्दै गएको छ । बालविवाहको शिकार हुने बालिकाहरु नै यसको विरोधमा खुलेर बोल्न थालेका छन् । परिवारका सदस्यसँग ढुक्कले आफ्ना कुरा राख्ने किशोरीहरुले अरुका अभिभावकहरुलाई विभिन्न उदाहरण दिँदै सचेत बनाएका छन् ।
बालविवाह घट्नै जानुमा किशोर–किशोरीको भूमिका महत्वपूर्ण छ । मर्चवारका धेरै पालिकामा किशोर–किशोरीहरुको समूह छन् । उनीहरु त्यँहा छलफल गर्छन र कसैको विहे हँुदै भएको थाहा पाए अवरोध गरिहाल्छन् । बरगुठीकी जानकी यादवको गएको वर्ष विहे हुँदै थियो । कक्षा ८ मा पढ्दै गरेकी उनले अस्विकार गर्दा पनि परिवारले मानेनन् । किशोरी समूहमा आएर गुहार मागिन् । ‘धेरै दिनसम्म ६÷७ जना साथीहरु आएर भनेपछि बिहे भएन’, उनले भनिन् ।
स्नातक तह उत्तीर्ण गरेकी अकालमति पाल बालविवाह विरुद्धमा अभियान चलाउने महिला हुन् । उनले थुप्रै किशोरीका आमाबुबालाई भेटेर वालविवाहले हुने समस्याका बारेमा बताउने गरेकी छन् । ‘अहिले धेरै सुधार भएको छ । किशोरी पनि आफै बोल्न सक्छन्’, उनी भन्छिन् ।
छोरीको सानैमा विहे गरिदिँदा पुण्य कमाइने, इज्जत बच्ने धारणा विस्तारै फेरिँदै गएको छ । अहिले विहे अनि गौना हुदैन । एकै पटक विहे हुन्छ ।
जयदुर्गा किशोरी समूह भरौलियाकी अध्यक्ष शशिकला यादव भन्छिन्– ‘किशोरी अभियानले अभिभावकहरु छोराछोरीमा पनि भेदभाव गर्दैनन् । किशोरीहरुले पनि बढ्नुपर्छ भन्ने बुझेका छन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार