सात स्थानीय तहका भवन भाडामा

  • सल्यानका जनप्रतिनिधि कार्यालय भवनको जोहो गर्दै
  • बुद्धिमान पुन/
    सल्यान । स्थानीय तहको निर्वाचन भएको झण्डै डेढ बर्ष भयो । यो अवधिमा जनताले जनप्रतिनिधिबाट धेरै आशा र अपेक्षा गरेका थिए । जनताले विकास निर्माणसँगै सेवासुविधा, स्तरीय, राम्रो, गुणात्मक पाउने आशामा थिए । तर पनि डेढ बर्ष बितिसक्दासमेत सल्यानका अधिकांश स्थानीय तहका कार्यालयहरु भाडाका भवनबाट सञ्चालन भैरहेका छन् । जसले गर्दा जनतालाई सेवा लिन समस्या भैरहेको छ ।
    अहिले यहाँका अधिकांश स्थानीय तहहरूले भाडाका भवनबाट नै दैनिकी रुपमा कामकाज सञ्चालन गरिरहेका छन् । ३ नगरपालिका र ७ गाउँपालिका गरेर १० वटा स्थानीय तह र ८३ वटा वडा रहेको जिल्लामा अधिकांश स्थानीय तह तथा वडा कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गर्दै आएका छन् । अहिले जिल्लाका ७ वटा स्थानीय तहले भाडाका भवनबाट कामकाज सञ्चालन गर्दै आएका छन् ।
    जिल्लाका दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, शिद्धकुमाख गाउँपालिका, कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका र वागचौर नगरपालिका भाडाको भवनमा बस्दै आएका छन् । यस्तै वनगाड कुपिण्डे नगरपालिकाले प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको स्वास्थ्यचौकीको पुरानो भवन प्रयोग गरिरहेका छन भने अन्य विषयगत शाखाहरू भाडाको भवनमा सञ्चालित छन् । यस्तै, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र कालीमाटी गाउँपालिकाले भने साविकका गाविस कार्यालयलाई नै पालिकाको कार्यालयको रूपमा प्रयोग गरिरहेका छन् ।
    भाडामा लिइएको कार्यालयबाट दैनिक कामकाज सञ्चालन गर्न गाह्रो भइरहेको स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको गुनासो छ । एउटै कोठाबाट धेरै काम गर्नुपर्ने बाध्यता छ’, वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले भने । उनका अनुसार पर्याप्त कोठा नहुँदा दैनिक कामकाज सञ्चालन गर्न असहज हुने गरेको छ । ‘धेरै कामहरु एउटा कोठामा बसेर गर्दा सेवाग्राहीको भिड हुन्छ, काम गर्न पनि असजिलो हुन्छ’— उनले भने ।
    जनप्रतिनिधि आएपछि जनताले सेवा सुबिधा सहज रुपमा पाउने सबैको अपेक्षा थियो । तर, भवनका कारण सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकिरहेका छैनन् । बागचौर नगरपालिका १० का स्थानिय दिपक लामिछाने स्थानिय सरकारबाट ठूलो अपेक्षा गरेपनि सोचे अनुसारको सेवा पाउन नसकेको बताए । उनले जनप्रतिनिधिको कार्यकाल कार्यालय व्यवस्थापनमा नै सकिने सम्भावना रहेको बताए । ‘विकास निर्माण र सेवा प्रवाहमा त कुरै छोडौँ, अहिले जनप्रतिनिधिलाई स्थानीय तह कार्यालय भवन बनाउन ठिक्क छ’ उनले भने— ‘डेढ बर्ष बितिसक्यो, अबका बाँकी दिनहरु पनि जनप्रतिनिधिहरुको कार्यालय भवन व्यवस्थित गर्नमा नै कार्यकाल बित्ने सम्भावना देखिएको छ ।’
    जिल्लाका १० स्थानीय तह अन्तर्गतका ८३ वडामध्ये ४५ वटा वडाहरूले पनि भाडाकै भवनबाट आफ्नो दैनिक कामकाज सञ्चालन गरिरहेका छन् । भाडाको भवनबाट दैनिक कामकाज सञ्चालन गर्दा समस्या भएको वडा कार्यालयहरुको भनाइ छ । केही वडाहरुले साबिकका गाविस कार्यालयबाट सेवा प्रवाह गर्दै आएपनि जीर्ण भवनका कारण समस्या भएको बताउने गरेका छन् । अहिले जिल्लाका केही स्थानीय तहको भवन निर्माण कार्यलाई अगाडि बढाएका छन् । शारदा नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै बागचौर नगरपालिका र कपुरकोट गाउँपालिकाको भवन पनि निर्माणाधीन अवस्थामा रहेका छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार