टरिगाँउमा ओर्लियो डाँफे

  • कहिले नियमित हुन्छ दाङको हवाई सेवा ?
  •  

    दशरथ घिमिरे/
    दाङ । दाङको टरिगाउँ विमानस्थलमा छैठौँ पटक मंगलबारदेखि फेरी नियमित हवाई सेवाका लागि परीक्षण गरिएको छ । गतबर्ष २०७४ साल पुस २३ गतेदेखि गोमा एयरले नियमित उठान भरेपनि केही महिनादेखि नै उडान रोकेको थियो ।
    स्थानीय सरकार गठन भएपछि मंगलबार दोस्रो पटक टरिगाउँ विमानस्थलमा फेरी विमान सेवाको परीक्षण थालिएको छ । मंगलबार नेपाल एयर लाइन्सको डाँफे विमान टरिगाउँ विमान स्थलमा अवतरण भएको छ ।
    विमान उठान कम्पनीले यसलाई पनि परीक्षण भनेको छ । दाङ काठमाडौंको भाडा दर ५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । टरिगाउँमा विमान अवतरण गराएका क्याप्टेन आङनुरी शेर्पाका अनुसार विमान सञ्चालनका लागि प्राविधिक कठिनाई नरहेको र नियमित उडान गर्न सकिने पत्रकारहरुलाई प्रतिक्रिया दिए ।
    २०११ सालबाट सञ्चालनमा आएको टरिगाउँ विमानस्थलमा यसअघि पटक पटक गरेर ५ पटक रोकिदै र सञ्चालन हुँदै आएको थियो । अहिले छैठौँ पटक फेरी जहाज सञ्चालनका लागि स्थानीय सरकारसँगै दाङबासी लागेका छन् ।
    विमानस्थलमा इन्धन डिपो र प्रयाप्त यात्रु नहँुदा हवाई सेवा अनियमित बनेको छ । हवाई सेवा नियमित नहुँदा पनि यात्रुहरुले हवाई सेवाको सुरक्षित यात्राको विकल्प नेपालगञ्ज र भैरहवाबाट उड्ने गरेका छन् ।
    पर्यटनमन्त्री रविन्द्र अधिकारी र विभागमा महानिर्देशक सञ्जीव गौतमले साना जहाजमात्रै सञ्चालन गर्न सकिने र ठूलो जहाजका लागि क्षेत्र बिस्तार सम्भव नभएको बताए । टरिगाउँ विमानस्थलमा स्तर बृद्धि गर्न नसकिने प्राविधिकहरुको भनाइपछि दाङमा वैकल्पिक विमान स्थलको चर्चासमेत सुरु भएको छ ।
    नेपालगन्जमा ‘पार्किङ वे’ थपिँदै
    अन्तर्राष्ट्रिय उडान गर्ने उद्देश्य बोकेर नेपालगन्ज विमानस्थलमा थप स्तरउन्नति निर्माण सुरु गरिएको छ । उडानका लागि आवश्यक अन्तर्राष्ट्रिय टर्मिनल भवन, पार्किङ वे, इमिग्रेसन, कस्टम, एक्सरे मेसिन, सिसिटिभी क्यामेरालगायत पूर्वाधार आवश्यक हुन्छ ।
    यी भौतिक संरचनामध्ये पार्किङ वे निर्माण कार्य भने असोज महिनाभित्र सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि नेपालगन्ज विमानस्थलमा ६ वटा पार्किङ वे थप गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक त्रिलोचन पौडेलले जानकारी दिए ।
    एटिआर ७२–५०० विमान अटाउने ६ वटा पार्किङ वे निमार्णका लागि प्राधिकरणले कान्छाराम कन्स्ट्रक्सन प्रालिलाई दिइएको छ । २८ करोड ५३ लाख ४० हजारमा यो पार्किङ वे निर्माण गर्ने कार्य उक्त कन्स्ट्रक्सनले पाएको हो । १८ महिनामा पार्किङ निर्माणका काम सक्ने सहमति पनि प्राधिकरण र कन्स्ट्रक्सनका बीच भएको छ ।
    अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ वेका साथै अन्य पूर्वाधारसमेत आवश्यक हुन्छ । विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, पार्किङबाहेक अन्य भौतिक पूर्वाधार निर्माणका लागि डिजाइन तयारी भइसकेको छ । कार्तिकमा डिजाइन तयार भइसक्ने उनले बताए । सरकारले नेपालगन्ज लगायत जनकपुर, विराटनगर र धनगढी विमानस्थलको स्तरोन्नति गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गर्ने योजना बनाएको छ ।
    हाल नेपालगन्ज विमानस्थलबाट पश्चिम र सुदूर पश्चिमी नेपालका दुर्गम क्षेत्रमा उडान हुँदै आएको छ । यो विमानस्थलामा एटिआर–७२ विमानका लागि २ वटा पार्किङ वे रहेका छन् । अन्तर्राष्ट्रिय उडान हने बेलासम्म ८ वटा पार्किङस्थल हुने छन् । आन्तरिक उडानका लागि नेपालगन्ज विमानस्थलको धावनमार्ग १ हजार ५ सय ५ मिटर लामो छ । विमानस्थलका प्रमुख ठाकुरले भने, ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको छलफलमा धावनमार्ग ५ सय मिटर बढाएर २ हजार मिटरको बनाउने निर्णय भएको छ ।’
    नेपालगन्ज विमानस्थबाट पर्यटकीय मौसममा ९० बढी र अन्य समय ४४ को हाराहारीमा उडान तथा अवतरण हुने गरेका छन् । काठमाडौं–नेपालगन्ज हवाई रुट अन्तर्गत नेपाल वायुसेवा निगम, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, यति एयरलाइन्स, बुद्ध एयरलले उडान गर्दै आएका छन् । नेपालगन्जलाई आधार बनाएर जुम्ला, बाजुरा, सिमिकोट, रारा र डोल्पालगायतका स्थानमा उडान हुने गरेका छन् । उपरोक्त दुर्गम क्षेत्रमा तारा एयर, सिता एयर र समिट एयरले उडान भर्र्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार