स्वास्थ्य कार्यालय तहमा गाभिएपछि सहजै पाइन्छ औषधि

बुटवल ।रुपन्देहीको तिलोत्तमा शंकरनगरकी ३८ वर्षीया उमा चौधरी सामान्य उपचारका लागि घरभन्दा २ किलोमिटर टाढाको शंकरनगर स्वास्थ्य चौकी जान्छिन् । सासू–ससुरा वृद्ध भएकाले पनि स्वास्थ्य जाँच गर्न र गराउन उनलाई स्वास्थ्य चौकी गइरहनुपर्छ । पहिले स्वास्थ्य चौकी पुग्दा औषधी पाइँदैनथ्यो । स्वास्थ्यकर्मी पनि सधैं भेटिँदैनथे । अहिले भने उनलाई स्वास्थ्य चौकीको अवस्था फेरिए जस्तो लागेको छ ।
शंकरनगर स्वास्थ्य चौकीमा सरकारले निःशुल्क दिने भनेका ३५ प्रकारका औषधीको अहिले अभाव छैन । स्वास्थ्य चौकी ईन्चार्जले बिरामी जाँचेर सामान्य औषधी सधैँ दिने हुनाले उपचारका लागि निजी क्लिनिकमा जान छाडेको उनी बताउँछिन् । चौकी ईन्जार्च सिर्जना पछाईले भनिन्– ‘पहिला जिल्लाबाट औषधि ल्याउँदा समस्या थियो । अहिले त्यस्तो समस्या छैन ।’
गतबर्ष तिलोत्तमा नगरपालिकाले औषधी खरिदको लागि १४ लाख रुपैयाँ छुट्याएको थियो । औषधी१० वटा स्वास्थ्य संस्थामा वितरण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक काशीराम बन्जाडेले बताए ।
यस वर्ष सो नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि भनेर एकमुष्ठ रकम छुट्याइएको छ । केन्द्रबाट आएको बजेटले औषधि किन्न नपुगेमा नगरपालिकाले व्यहोर्ने जनाइएको छ ।
स्वास्थ्य संयोजका बन्जाडेका अनुसार औषधी सकिएको थाहा भएको चौबीस घण्टाभित्र पु¥याउने नीति सो नगरपालिकाले लिएको छ । बजेटका कारणले औषधी अभाव हुन नदिने वाचा मेयर बासुदेव घिमिरेले गरे । उनले भने–‘सरकारले तोकेका औषधी सबै स्वास्थ्य संस्थामा पुग्नुपर्छ । बिरामीले औषधी नपाएको भए तत्काल मलाई फोन गर्न पटक पटक आग्रह गरेको छु् ।’
सैनामैना नगरपालिकाले गत वर्ष १० लाखको औषधी खरिद गरेको थियो । अहिले के कति रकम छुट्याउने भन्ने टुङ्गो लागेको छैन । केन्द्रबाट आउने रकम गत सालभन्दा घटेकाले नगरपालिको आफ्नै बजेटबाट खरिद गरी औषधी अभाव हुन नदिने तयारी गरेको छ । उक्त नगरपालिकाअन्तर्गत ३ वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् । ती स्वास्थ्य संस्थामा औषधी खरिद गर्न कोटेसन र डेन्टर दुवै प्रक्रिया अपनाइएको छ । सो नगरपालिकाको मुर्गियामा रहेको स्वास्थ्य चौकीमा पनि सिटामोलदेखि एन्टीबायोटिक्ससम्मका औषधी अहिले पाइरहेको मुर्गियाकी धना चौधरीले बताइन् । उनले भनिन, ‘अहिले पहिला जस्तो छैन ।पहिला स्वास्थ्य चौकीमा चेक गरायो अनि औषधी किन्नको लागि निजी क्लिनिकमा जानुपथ्र्याे । अहिले औषधी यहीँबाट पाइएको छ ।’
सैनामैना नगरपालिकाका लागि स्वास्थ्य विभागले गतवर्ष ८ लाख रुपयाँको औषधी खरिद गरेको थियो । बाँकी औषधी नगरपालिकाले किन्ने निर्णयअनुसार जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ । अहिले पनि अनुदानबाट खरिद गर्न ५ लाख रुपैयाँ छुट्याइएको छ ।
पहिले चार–पाँच वर्षसम्म स्वास्थ्य संस्थामा औषधी अभाव हुन्थ्यो । तर अहिले औषधी पाइन्छ् ।
बुटवल उपमहनगरपालिकाले गतवर्ष औषधी किन्नका लागि १९ लाख ५५ हजार रुपैयाँ बजेट छट्याएको थियो । अहिले केन्द्रले १८ लाख रुपैयाँ छुट्याएको छ ।
बुटवलमा औषधी खरिद गर्दा सार्वजनिक आर्थिक खरिद ऐन ले तोकेको प्रकृया अपनाइएको छ । बुटवल उपमहानगरपालिकामा ७ वटा स्वास्थ्य संस्था छन् । अहिले स्वास्थ्य सेवाको लागि एकमुष्ठ रकम छुट्याइएको छ । केन्द्रबाट अनुदान पनि आएको छ । नगरपालिकाले एलोपेथिक औषधी खरिदको लागि भनेर अहिले बजेट छुट्याएको छैन तर आयुर्वेदिक औषधीका लागि ३ लाख रुपैयाँ छुट्याएको छ । बुटवल उपमहानगर पालिकाका स्वास्थकर्मी कपिल गौतमले भने– ‘जिल्ला जनस्वास्थ्य कार्यालय र केन्द्रबाट पठाएको रकम र थप चाहिएमा स्वास्थ्य क्षेत्रबाट नगरपालिकाले छुट्याएको रकमले औषधी अभाव हुन नदिने उपमहानगरको योजना छ ।
कन्चन गाउँपालिकाअन्तर्गत रुद्रपुर स्वास्थ्य चौकी र गजेडी स्वास्थ्य चौकी रहेका छन् । ती दुई स्वास्थ्य चौकीका लागि संघीय सरकारले दिएको ४ लाख ८० हजार रुपैयाँबाट औषधी खरिद भएको छ । आवश्यकताअनुसार थप औषधी गाउँपालिकाले खरिद गर्ने निर्णय भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र बास्कोटाले दुवै स्वास्थ्य चौकीमा आवश्यकता अनुसार औषधी रहेको बताए ।
यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिकामा पनि बिरामीले सहज रुपमा औषधी पाएका छन् । ओमसतिया गाउँपालिकामा ५ वटा स्वास्थ्य संस्था छन् । केन्द्रले छुट्याएको ५ लाख रुपैयाँबाट औषधी खरिद भइसकेको छ । गाउँपालिकाले स्वास्थ्य सेवाका लागि ४६ लाख रुपैयाँ छुट्याएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद भट्टराईले बताए ।
उनका अनुसार यस वर्ष निःशुल्क वितरण हुने औषधीको अभाव हुनेछैन । “हामीले अहिले स्वास्थ्य संस्थाबाट माग फारम मागि रहेका छौँ । जुन स्वास्थ्य संस्थालाई जुन औषधी चाहिन्छ त्यो तत्काल पठाउँछौँ,” भट्टराईले बताए ।
गैडहवा गाउँपालिकामा ४ वटा स्वास्थ्य संस्था छन् । ती संस्थामा दुई महिनाअघि नै टेन्डर प्रक्रियाबाट औषधी खरिद भइसकेको छ । गाउँपालिकाबाट ६ लाख रुपैयाँ र नेपाल सरकारबाट ६ लाख ७० हजार रुपैयाँ बजेट औषधी खरिदका लागि छुट्याइएको थियो ।
गत वर्ष सिद्धार्थ नगरमा औषधीका लागि बजेट छुट्याएको थिएन भने अहिले १० लाख रुपैयाँ छुट्याएको छ । दुईवटा शहरी स्वास्थ्य क्लिनिक संचालनमा रहेको नगरपालिकाले गतवर्ष एक रुपैयाँ पनि नछुट्याउँदा धेरै ठाउँबाट आलोचना भएको थियो ।
सिद्धार्थ नगरपालिकाले भने औषधी खरिदको लागि शुरुमा एक रुपैयाँ पनि बजेट छुट्याएको थिएन । सो नगरपालिका मातहत भीम अस्पताल र दुईवटा शहरी स्वास्थ्य केन्द्र छन् । ती स्वास्थ्य संस्थका लागि औषधि खरिद गर्न स्वास्थ्य विभागले ९ लाख रुपैयाँ छुट्याइाएको थियो । उक्त रकमको औषधीले नै नगरका स्वास्थ्य केन्द्रले काम चलाएका छन् । सिद्धार्थ नगरपालिकाको वार्ड नम्बर १० को शंकरपुर र वार्ड नम्बर ९ दुमदुममा रहेका शहरी स्वास्थ्य केन्द्रमा औषधी अभाव हुने देखिएको छ ।
नगरपालिकाका स्वास्थ्य संयोजक गीतादेवी न्यौपानेले आफूले औषधी खरिदको लागि नगरपालिकाको परिषद् बैठकमा लिखित प्रस्ताव पेश गरेको तर नगरपालिकाले औषधी खरिद गर्न रकम नछुट्याएको बताइन् । अहिले आएर १० लाख रुपैयाँ छुट्याएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहरसिंह गोदारले रुपन्देहीका सबै गाउँपालिकाले समन्वय गरेर काम गरेको बताए । ‘केन्द्रबाट पठाएको औषधी हामीले स्थानीय तहमा दिने गरेका छौँ । हामीसँग नभएका केही औषधी स्थानीय आवश्यकताअनुसार स्थानीय तहबाट खरिद हुने गरेको छ’, उनले भने । केन्द्रबाट पठाउँदा गतवर्ष पठाएको रेकर्ड हेरेर औषधी पठाउने हो तर गतवर्ष लागेको रोग अहिले कम देखिन पनि सक्छ, त्यस्तो अवस्थामा धेरै औषधीको डेट एक्सपायर हुने गरेको अनुभव उनीसँग छ । अब स्थानीय सरकारले खरिद गर्दा आफ्नो क्षेत्रमा कुन रोगको कुन औषधी आवश्यक छ त्यो हेरर मात्रै खरिद गर्ने हुँदा सहज हुने उनले बताए ।
सिद्धार्थ नगरपालिकामा गतवर्ष औषधीका लागि ९ लाख रुपैयाँ केन्द्रबाट आएको थियो । अहिले घटेर ४ लाख आएको छ । औषधी खरिदका लागि तिलोत्तमा नगरपालिकाको बजेट गत साल शून्य थियो । अहिले २ लाख नगरपालिकाले छुट्याएको छ भने केन्द्रले ९ लाख छुट्याएको छ ।
बुटवल उपमहानगरपालिकामा औषधि खरिदका लागि केन्द्रबाट गत वर्ष १९ लाख ५० हजार आएकोमा यस वर्ष १८ लाख मात्र आएको छ । अन्य स्थानीय तहमा पनि औषधी खरिदको बजेट घटेर आएको छ । स्थानीय सरकारहरुले भने बजेट बढाउँदै लगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख गोदारले भने स्थानीय तहलाई जिम्मेवारी बोध गराएर सोही अनुसार लैजाने रणनीति भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार