अकबरे खुर्सानीबाट राम्रो आम्दानी

गुल्मी ।यहाँका एक किसानले अकबरे खुर्सानीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ५ धनार्जीका हुमलाल भण्डारीले अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गरेका हुन् ।
गतबर्षदेखि शुरु गरेको व्यवसायकि अकबरे खुर्सानीबाट उनले वार्षिक ३ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । अघिल्लो बर्ष १ रोपनी जग्गामा मात्र लगाएको अकबरे खुर्सानीबाट राम्रो कमाई भएपनि उनले यस बर्ष २ रोपनी बढी जग्गामा अकवरे खुर्सानी लगाएका छन् । १ क्वीन्टलजति बिक्री गरियो होला भण्डारीले भने ‘काचाँे खुर्सानी प्रतिकेजी १ सय ५० रूपैयाँमा बिक्री हुने गरेको छ ।’ अन्य खेतीभन्दा निकै कम खर्च र मेहनतमा अकबरे खुर्सानीबाट धेरै आम्दानी हुने गरेको उनको अनुभव रहेको छ । समय–समयमा गोडमेल र पानी दिनुपर्छ, खासै मेहनत पनि पर्दो रहेनछ यस बर्षपनि म अनुभव नै गर्दैछु उनी भन्छन् ‘अन्य तरकारी, फलफूलमा जस्तो किरा रोगको पनि समस्या नहुँदो रहेछ, आम्दानी पनि राम्रै छ ।’ उनका अनुसार बजारको समेत कुनै समस्या नरहेको बताए । उनले उत्पादन गरेको अकबरे खुर्सानी घरबाटै आधाभन्दा बढी बिक्री हुने गरेको छ भने अन्य सदरमुकाम तम्घासमा बिक्री गर्ने गरेका छन् ।
अहिले बजारमा अकबरे खुर्सानीको माग राम्रो भएकाले पनि आफू यसतर्फ बढी आकर्षित भएको बताए । अन्य खेती गर्दा बाँदरले समेत हैरान पार्ने बताउने उनले खुर्सानीखेती गर्दा बाँदर हेर्न नपर्ने बताए । यसबर्ष २ क्वीन्टल बढी खुर्सानी उत्पादन र बिक्री गर्ने लक्ष्य आफूको रहेको बताए । भण्डारीले अकबरे खुर्सानीसँगै कुखुरा, तरकारी, डाले घाँसको नर्सरीलगायतलाई पनि आफ्नो आम्दानीको राम्रो श्रोत बनाएका छन् । उनले अकबरे खुर्सानी, तरकारी, कुखुरा, डाले घाँसको नर्सरीबाट बार्षिक ७÷८ लाख समेत आम्दानी गर्दै आइरहेका छन् ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रपाणि पन्थीका अनुसार हुमलाल भण्डारीले अकबरे खुर्सानीको व्यवसायिक खेतीमा लागेको बताए । अघिल्लो बर्ष अकबरे खुर्सानीको बारेमा बुझ्न कृषि कार्यालयमा आउनुभएको थियो पन्थीले भने ‘मैले उचित सल्लाह दिए, बीउसमेत यो किन्नुस् भनेपछि उहाँ त्यसतर्फ लाग्नुभएको हो ।’ भण्डारीले २ बर्षमै अकबरे खुर्सानीबाट राम्रो आम्दानी गर्न सफल भएकाले आफूहरू पनि खुसी भएको चक्रपाणिले बताए । तम्घास–सिमलटारी सडक छेउमै पर्ने उनको कृषि फर्म धेरैले अवलोकन गर्ने गरेको समेत उनले बताए ।
तत्कालीन कृषि विकास कार्यालयको प्रमुखसमेत आफू रहेकाले भण्डारीलाई विभिन्न प्राविधिक सहयोग र सल्लाह सुझाव दिएको पन्थीको भनाइ छ । रातो माटो सिंचाईको राम्रो सुविधा नभएपनि भण्डारीले सारै मेहनत गर्नुभएको छ, पन्थीले अगाडि थपे ‘अकबरे खुर्सानी, तरकारी खेती, बाख्रापालन, कुखुरापालन र डाले घाँसको नर्सरी उहाँको नमुना र हेर्न लायक नै भएको छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार