पीडितले न्याय कहिले पाउने ?

ए मम्मी निर्मला दिदीलाई बलात्कार गरेर मारेछन् । बलात्कार गरेर मार्नेलाई केही सजाय हुन्न मम्मी ? एउटा बच्चालाई बलात्कार गरेर मार्नेलाई सजाय दिन नसक्ने कस्तो सरकार है मम्मी ? त्यही पनि बालअधिकार अरे …… । छोरीले यस्ता शब्दहरू सोध्दा निशब्द भएँ । ५४ औं राष्ट्रिय बालअधिकार दिवसको दिन थियो, मनमा त्यो नौ वर्षीय छोरीले सोधेका र भनेका शब्दहरू मेरो मतिस्कमा गुञ्जिरहे । देशभरि राष्ट्रिय बालदिवस मनाइरहँदा यस्तै यस्तै विषयमा धेरै चर्चा भए । बालबालिकाको समग्र विकासका कुरालाई जोड तोडका साथ उठाइयो । तर ५० दिन अगाडि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई कानुनको कठघरामा ल्याउने कुरामा सरकार चुक्यो । निर्मलाको हत्याको विषयमा अनुसन्धानको कुरा तिमी रोए जस्तै गर, म पिटे जस्तै गर्छु जसरी भएको छ त्यो अत्यन्त्यै निन्दनीय छ । सोही विषयमा अधिल्लो हप्ता पनि मैले ‘चुक्यो प्रहरी, ढाकछोप गर्नु झन ठूलो अपराध भन्ने’ शीर्षकमा आफूले घटनाका विषयमा सुने बुझेका विषयलाई विश्लेषण गर्न खोजेको थिए । आजको यो लेखमा किन यति धेरै अपराधीकरण भयो एउटी अबोध बालिकामाथि भन्ने प्रश्नले बारम्बार सताइरह्यो । त्यसकारण मनलाई समाल्न सकिन र सुरु गरें निर्मलाको हत्या गर्ने अपराधी कहिले सार्वजनिक हुन्छ सरकार ? ३ करोड नेपालीको एउटै प्रश्न छ । पीडित कहिलेसम्म यसरी न्यायका निम्ति छटपटाइरहने ?
भनिन्छ, बालबालिका शान्ति क्षेत्र हुन् । तर तिनै शान्ति क्षेत्र मानिने बालबालिकाहरू अहिले कहींकतै सुरक्षित छैनन् । सरकार पनि बालबालिकाको क्षेत्रमा त्यत्ति संवेदनशील देखिएन् । उदाहरणको लागि कञ्चनपुरकी निर्मला पन्तको घटनालाई लिन सकिन्छ । साउन १० गते हत्या गरिएकी निर्मला पन्तका आमाबुवाको आँखा अहिलेसम्म ओभाएको छैन । आफ्नी अबोध १३ वर्षीय छोरीलाई बलात्कारपछि मारेर उखु बारीमा मिल्काउने अपराधीलाई अहिलेसम्म सार्वजनिक गर्न सकेको छैनन् । यति लामो समयसम्म अपराधीलाई गिरफ्तार गर्न नसक्नुले कतै अपराधमा झनै अपराधीकरण भएको त छैन भन्ने शंका उब्जाएको छ । जनताले तिरेको कर खाएर जनताकै सुरक्षा गर्न खटिएका प्रहरीले यस्तो जगन्य अपराध जस्तो घटनामा संवेदनशीलता नदेखाउनुले प्रहरीको यो घटनामा राम्रै साँठगाँठ छ, संलग्नता छ कि भनी शङ्का गर्न कत्ति अप्ठयारो लाग्दैन ।
प्रहरी प्रमाण जोगाउनतिर भन्दा प्रमाण मेटाउन खप्पिस देखियो । रातारात घरमा रंगरोहन गर्ने, घर अगाडिको अम्बाको रुख काट्ने जस्ता कुराले स्पष्ट देखिन्छ । पीडितलाई न्याय दिने कुरामा मानवीय संवेदनशिलता कत्तिको छ भन्ने कुरा । यो सामान्य व्यक्तिले पनि बुझेकै कुरा हो । प्रहरीले प्रमाण मेटाउनका लागि किर्ते ग¥यो, हत्याको आरोपमा मानसिक समस्या भएका व्यक्तिलाई घटना भएको २४ दिनमा सार्वजनिक ग¥यो । घरमा गएर सुकाई राखेको सर्टको टक्रा काटेर घटनास्थलमा राख्यो भन्ने कुरा बाहिर आयो । जनताको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी यतिसम्म त्रुटि गर्छ भन्ने सायद कसैले सोंचेको थिएन् । तर कञ्चनपुर निर्मला हत्याकाण्डमा यस्तै भयो । प्रहरीले पीडितलाई न्याय दिनुको सट्टा अपराधीलाई जोगाउनतिर लाग्यो । पीडित परिवारको पीडामा मलमपट्टी लगाउनुको सट्टा घटनालाई थामथुम पार्ने काममा लागिरह्यो । प्रहरीले यतिसम्म दादागिरी देखायो हत्या भएको दिन उजुरी दर्ता नगर्ने, बलात्कारको निशान मेटाउन निर्मलाको सुरुवाल र गुप्ताङ्ग पखाल्नु, पीडाले छटपटाइरहेका निर्मलाका आमाबुवालाई धम्की दिने, इन्सपेक्टरले सिडियो,एसपी सबै मैहुँ भनी थर्काउने, घटनाको विषयमा बोल्नेलाई चुटी चुटी जाकिदिन्छु भनेर थर्काउने, हत्यामा संलग्न रहेका भनिएका बम दिदी बहिनी रोशनी र बवितालाई पक्षपोषण गर्ने तर मृतक निर्मलाको हत्या गर्ने अपराधीलाई सार्वजनिक गरी कारवाही गर भन्दै पीडितको न्यायका निम्ति पैरवी गर्ने अधिकारकर्मी लक्ष्मी मल्ल माथि शत्रुको जस्तो व्यवहार गर्नु, निर्मलाको पक्षमा बोलेको भन्दै बन्दूकको नालैनालले हान्नु,डरधम्की दिएर लासलाई तुरुन्तै जलाउनका लागि दबाव दिनु जस्ता विषयले निर्मला हत्या प्रकरणमा प्रहरीको राम्रै संलग्नता छ कि भन्ने कुरा स्पष्ट देखिन्छ ।
लोकतन्त्र आएपछि देशमा शान्ति मिल्ला, सबै नागरिक सुरक्षित भइएला भन्ने आशाको त्यान्द्रोमा बाँचेका नेपाली जनताहरू सायद कहिल्यै सोंचेका थिएनन् यति ठूलो जगन्य अपराधका विरुद्ध न्याय माग्दा बन्दुकको नाल तेस्राइन्छ भन्ने कुरा तर निर्मला पन्तको घटनामा यस्तै भयो । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा भएको अपराधीकरणले लोतन्त्रप्रतिको विश्वास चुडिन थालेको आभास भएको छ । गाउँ गाउँमा सिंहदरवार भन्ने जुन भनाइ थियो । त्यो खाली हुने खाने र ठूला बडाका लागि मात्र रहेछ भन्ने कुरा यो घटनाबाट स्पष्ट देखिन्छ ।
यस्ता खालका अपराध गर्नेलाई कुनै पनि हालतमा छिटो भन्दा छिटो सार्वजनिक गरी त्यो यौन पिपासु, हत्यारा र त्यस घटनालाई लुकाउन छिपाउन लाग्ने मतियार सबैलाई कानुनको कठघारामा उभाइनुपर्छ । एक पटक छातीमा हात राखेर सोचौं त निर्मला पन्तको जस्तो घटना एसपी डिल्लीराज विष्टको छोरीलाई भएको भए के अवस्था निर्मलाको जस्तै हुन्थ्यो ? मेयरकी छोरीलाई भएको भए घटना भएको ७० दिन कट्दासम्म यस्तै हुन्थ्यो ? यस्तो कदापि हुन सक्दैन । घटनालाई सामान्य रूपमा लिइएको छ । बालिकाको यौवन लुटियो बाँच्न पाउने अधिकार खोसियो यसको जवाफदेही हुनुपर्छ की पर्दैन ? यस्तो जगन्य अपराधमा संलग्न अपराधीहरू वरिपरि घुमिरहेका छन् । यति लामो समयसम्म अपराधीलाई कानुनको कठघरामा ल्याउन किन सकस भो सरकार ? किन अवोध बालिकाको हत्याको सत्य तथ्य खोज्ने प्रमाण नै मेटाउन थाले प्रहरी ? यस्तो अपराधलाई लुकाउने मतियारहरू झन धेरै दोषी छन् सरकार ती मतियारहरूलाई निलम्बन होइन् बर्खास्त गरेर देखाऊ सरकार ? एउटा अबोध बालिकालाई बलात्कार गरी हत्या गर्ने त्यो दानवरूपी अपराधी र सुरक्षाका नाममा अपराध लुकाउने मतियारहरू सबैलाई कानुनको कठघरामा उभाई विधिको शासन स्थापित गर सरकार ।
अर्को महत्वपूर्ण कुरा एउटा मानसिक समस्याले जेलिरहेको व्यक्तिलाई बलात्कार र हत्याको अपराधी भनेर जुन व्यक्तिको आत्मसम्मानमा चोट पु¥याउने काम भयो । त्यो पनि कानुनको नजरमा अपराध हो । गर्दै नगरेको अपराधलाई अपराध गरेको भनी विभिन्न शारीरिक तथा मानसिक यातना दिने प्रहरीलाई कानुनको कठगारामा उभ्याई पीडितलाई उसको मानसम्मानमा चोट पुगेकोले मुलुकी संहिता ऐन अनुरूप क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गर्दछु । भनिन्छ, ‘बरु हजारौं अपराधी छुटोन, तर एकजना पनि निर्दोश व्यक्ति नपरोस्’ त्यस कारण आफ्नो अपराध लुकाउनका लागि अर्काको मान सम्मानमा चोट पु¥याउने काम कदापि सह्य हुनसक्दैन । यो मानव अधिकारको दृष्टिकोणले मानव अधिकारको ठाडो उल्लंघन हो । यस्तो कार्य गर्ने मतियार जो सुकै होस त्यसलाई कानूनको कठगारामा ल्याउन सरकार उदासिन बन्नु हुँदैन । ती अबोध बालिकाको हत्या गर्ने अपराधी र अपराधलाई पक्षपोषण गर्ने जो कोही होस त्यस्ता अपराधीलाई आजीवन कारावासको सजाय होस सरकार । छोरीको पीडामा छटपटाइरहेका मृतकका बाबा आमालाई साथ नदिने केही बोले धम्काउने प्रहरीले कञ्चनपुरमा आफ्नो शासन जमाइसकेको रहेछ । रातारात सादा पोसाकमा मृतक निर्मलाकी सहेली भनिएकी रोशनी बम र निजकी दिदी बबिता बमको सुरक्षा गर्न खटिइरहे भन्ने कुरा बाहिर आएको छ । यो अत्यन्त्यै दुखद पक्ष हो प्रहरी पीडितमैत्री देखिएन । छोरीको पीडामा छटपटाइरहेकी एउटा निर्दोश आमा जसलाई प्रहरीले वास्ता नगर्नु सामान्य कुरा होइन । घटनालाई जतिसक्यो त्यसरी दबाउन लागेको प्रहरीले विचरा ती छोरीको वियोगमा आँसु बगाइरहेकी आमाको पीडा के सुन्थ्यो ? सुनोस् पनि कसरी आफ्नो राम्रै हिमचिम भएको घटनामा । न्याय दिनुको सट्टा प्रहरीले अपराधलाई अर्केतिर मोड्न खोजेको देखियो । न्याय दिन्छ कि दिदैन भन्ने कुरा महत्वपूर्ण कुरा हो । भनिन्छ, ‘ढिलो न्याय दिनुभनेको न्याय नदिनु सरह हो’ कतै न्यायका आसमा भौतारिएका मृतक निर्मलाका बुवाआमाले आफ्नो छोरीको हत्यारालाई पत्ता लगाउन नसके आफूहरूलाई पनि गोली ठोकेर मार्न सरकारलाई चुनौती दिन बाध्य भए । नौ महिना गर्भमा राखेर १३ वर्षसम्म विभिन्न दुख कष्ट जेलेर आफूले खाई नखाई यहाँसम्म ल्याएका आमा बाबुले यति ठूलो अपराधलाई लुकाएर अपराधीको संरक्षण गरेर आफ्नो पीडामा खेलवाड गर्ने सरकारलाई न्याय नदिने भए गोली ठोकेर मार हामी पनि मर्न तयार छौं भन्नु शिवाय अरू बाँकी केही रहेन पीडितहरूसँग ।
आफ्नी छोरीको हत्यारालाई कानुनको कठगारामा ल्याइ आफुले न्याय पाउने आशाको त्यान्द्रो लिएर काठमाण्डौमा भौतारिएका पीडित परिवारले कही कतैबाट न्यायको अनुभूति गर्न नपाउँदा यस्तो आक्रोश कुन बाबु आमालाई नहोला र ? सरकारको उच्च ओहोदामा बसेका व्यक्तिहरूका छोरी, बुहारीलाई यस्तो अवस्था भएको भए के साँच्चिकै यसरी नै पीडामा छटपटाएर न्यायका लागि भौतारिनु पथ्र्यो ? प्रश्न अनुत्तरित छ ।
घटनाको विषयमा छानविन गर्न गठित सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा रहेको उच्चस्तरीय छानविन समितीले घटनाको छानविन निष्पक्ष नगरिएको त्रुटिपूर्ण रूपमा छानविन भएको ठहर सहितको प्रारम्भिक प्रतिवेदन गृहमन्त्रालयमा पेश गरेको छ । प्रतिवेदन पेश भए लगत्तै गृह मन्त्रालयले अनुसन्धान त्रृटिपूर्ण भएको र निष्पक्ष रूपमा नगरेको भन्दै प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेठी र केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी नायव उपरीक्षक अंगुर जि.सी., प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक राम सिंह धामीलाई निलम्बन गरिएको गृह मन्त्रालयका गृह प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा घटनाको विषयमा सरकारले गमभीरतापूर्वक अनुसन्धान गरिरहेको छ । घटनामा जोकोही संलग्न भए पनि कानुनी दायरामा ल्याई कारवाही गर्ने प्रतिबद्धता जनाएको छ ।
उता अनुसन्धानको पछिल्लो सिआइबीको टोलीले अधिल्लो अनुसन्धानलाई मात्रै केलाएको छैन् । शंकाको घेरामा तानिएका एसपीका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष बिष्टको फोन डिटेल समेत हात पारेको कुरा छ । प्रहरीले त्यसमा पनि कुनै क्लु फेला नपरेको कुरा बाहिर आएको छ । अनुसन्धानमा संलग्न एक प्रहरीले मृतक निर्मलाको पोष्टमार्टम रिपोर्टबारे डाक्टरले गरेको व्याख्याको विषयमा सुनाएको कुरा बाहिर आएको छ । मृतकको घाँटीको भोक्कल कर्ड भाँचिएको छ । घाँटीमा एक हातको पाँच औंलाको डोब देखिन्छ । त्यसका आधारमा भन्न सकिन्छ हत्या गर्दा एउटा हातको प्रयोग भएको छ । यसरी यो रिपोर्टलाई आधार मान्ने हो भने यसरी हत्या गर्ने मान्छे सामान्य होइन भन्ने संकेत देखिन्छ । प्रहरीले मृतक निर्मलालाई बलात्कार कहाँ गरियो, हत्या कहाँ कसरी भयो र शवलाई कसरी कुन साधनमा राखेर ओसारियो भन्ने कुराको अनुसन्धान प्रहरीले गर्न सकेको छैन । प्रहरीले अनुसन्धानको क्रममा सामान्य अनुसन्धानका प्रोटोकललाई चासो नदिनु, घटनाको सत्यतथ्य पत्ता लगाउनमा भन्दा प्रमाण मेटाउनमा अभ्यस्त हुनुले निर्मला पन्त हत्या काण्डमा प्रहरीको ठूलो हात रहेको स्पष्ट छ । त्यस कारण अपराधको निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय दिनुको सट्टा प्रमाण मेटाउने र विभिन्न प्रलोभनमा फस्ते प्रहरीलाई निलम्बन होइन बर्खास्त गरी समाजबाटै बहिस्कार गर्नुपर्छ अनिमात्र अपराध मौलाउन पाउदैन । यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लागि पर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार