कपिलवस्तुको गौरवशाली इतिहास र कपिलधाम

वर्तमान नेपालका ७७ जिल्लामध्येको एक जिल्ला कपिलवस्तु जिल्ला पनि हो । यो जिल्ला प्रदेश नं. ५ मा पर्दछ । ७ प्रदेशमा विभाजित नेपालको प्रदेश नं ५ मा पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम ६ वटा पहाडी जिल्ला पर्दछन् भने तराईमा नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र बर्दिया ५ जिल्ला पर्दछन् । दाङ–१ जिल्ला भित्री मधेससमेत १२ जिल्लाले प्रदेश नं. ५ बनेको छ ।
यी १२ जिल्लामध्ये तराईमा पर्ने एक जिल्ला कपिलवस्तु हो । कपिलवस्तु जिल्ला ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, हिसाबले गौरवपूर्ण इतिहास बोकेको जिल्ला हो भने अर्कोतर्फ राष्ट्रकै पहिचान राख्ने गौरव बोकेका पूजनीय, ऋषि, महर्षिहरूको तपस्थली, कर्मस्थली र जन्मस्थलीका रूपमा रहेको मुलुककै महत्वपूर्ण जिल्ला हो । यसैगरी विभिन्न जात, जातिका भाषा साहित्य, कला संस्कृति र परम्पराको जीवन्त इतिहास बोकेको जिल्ला पनि हो – कपिलवस्तु ।
साहित्यमा नेपालकै प्रथम कोटीका साहित्यकार जन्माएर संसारमै प्रसिद्धि कमाएको जिल्ला पनि कपिलवस्तु हो । जहाँ हिन्दु धर्मावलम्बीहरूका पूजनीय देवता विष्णुका पाँचौं अवतारको रूपमा पिता कर्दम र माता देवहुतिको १० औं सन्ततिका रूपमा महर्षि कपिलको जन्म भएको थियो । यस जिल्लालाई आआफ्नो जन्मभूमि र कर्मभूमिको रूपमा प्रयोग गरेर पुण्यस्थली बनाउने इतिहासकै महत्वपूर्ण ऋषि महर्षिहरूमा विभाण्डक ऋषि, श्रृङ्गी ऋषि, क्रक्कुच्छन्द बुद्ध, कनक बुद्ध, गौतम बुद्ध, पतन्जली ऋषि र लवकुश आदि थिए । महर्षि कपिलले समकालीन शाक्य वंशीय राजाहरूलाई साँख्य दर्शनसँगसँगै राज्य सञ्चालनका विविध गतिविधिहरूमा शिक्षा, ज्ञान, उपदेश प्रदान गरेका थिए । यसैको प्रभावबाट शाक्यवंशी राजाले नै आफ्ना गुरुको सम्मानमा यस जिल्लाको नाम गुरुको नामबाट कपिलवस्तु राखेका थिए । साँख्य दर्शनका जनक ज्ञाता, व्याख्याताका साथै आध्यात्मिक, आदिभौतिक, आदिवैदिक साहित्यबाट कपिल ऋषिले प्रारम्भ गरेको यस जिल्लाको ऐतिहासिक गौरव बोकेको साहित्यिक यात्राले वर्तमानसम्म आइपुग्दा असंख्य स्रष्टा जन्माउने श्रेय पनि यस जिल्लाले प्राप्त गरेको छ ।
विभिन्न भाषा भाषी, धर्म, संस्कृति र जातजातिहरूको धार्मिक एवम् साँस्कृतिक गौरवमय प्राचीन महत्व बोकेको यो जिल्ला ऐतिहासिक पुरतात्विक धरोहरको रूपमा विश्व प्रख्यात छ । प्राचीनकालदेखि नै पाली, संस्कृत, अवधी, थारु, उर्दू, नेपाली (खस), नेवारी, मगर, गुरुङ्गलगायतका भाषाले यस क्षेत्रमा मौलाउने अवसर पाएका छन् र भाषालाई तिखार्ने सिगार्ने काम साहित्यले गर्दै आएको छ । भाषा, साहित्य, कला र संस्कृति नै राष्ट्र र राष्ट्रबासीका असल पहिचान हुन् । यस अर्थमा कपिलवस्तु जिल्लाले विगतदेखि नै आफ्नो गौरवपूर्ण इतिहास निर्माण गरिसकेको छ । १९७३ सालमा स्व. मथुराप्रसाद श्रेष्ठले श्रीराम पुस्तकालयको स्थापना गरेर शिक्षा र साहित्यको क्षेत्रमा पहिलो पाइला चालेको इतिहास यस जिल्लामा रहेको छ । सो पुस्तकालयको समुद्घाटन गरेका तत्कालीन वडा हाकिम किशोर नरसिंहले यसै वर्ष श्रीराम भजन प्रेमावली पद्य संग्रह लेखेर आधुनिक साहित्यको जग बसालेका थिए । हालको तौलेश्वर संस्कृत मा.वि. १९७८ सालमा संस्कृत पाठशाला स्थापना हुनु, १९९३ सालमा पशुपति पुस्तकालय स्थापना गरी भाषा साहित्यको विकासमा यथासक्य सहयोग गर्ने तत्कालीन साहित्यकार रश्मी राज अर्याल, भवानी भिक्षु जसले १९९३ सालबाटै साहित्य सिर्जना गरे र विभिन्न विधाका ५३ वटा लेख रचनासमेत प्रकाशित गरेका थिए ।
यिनले नेपाली साहित्य भण्डारमा ठूलो योगदान दिए । यसै समयमा पुस्तकालय, विद्यालय स्थापना र सञ्चालन गर्ने साहित्य सिर्जनामा विशेष चासो राख्ने र हिन्दी, उर्दू, बंगाली र अंग्रेजी भाषाका समेत पुस्तक संकलन गरी पुस्तकालयलाई धनी बनाउने कार्यमा सक्रिय रहेका टेकबहादुर पन्थी, देवराज अर्याल, पाली भाषाका ज्ञाता केशवराज अर्याल, पदमबहादुर सिंह, भोलानाथ शर्मा, बलभद्र पाठक, शेरबहादुर श्रेष्ठ र रामवरण शर्मा (पत्रकार) लगायतका समकालीन स्रष्टाहरूले नेपाली साहित्य सिर्जनामा विशिष्ट योगदान पु¥याएको स्वर्णाक्षर लिखित दस्तावेजहरू यस जिल्लामा प्राप्त छन् ।
२००४ सालदेखि भोलानाथ शर्मा कविता लेखमा सक्रिय रहे । २०१२ मा त उनीहरूले हस्तलिखित पत्रिका नयाँ दिशा प्रकाशन गरे । यसरी १९७२ देखि आधुनिक साहित्य र्सिजनामा पाइला टेकेको हालसम्म आइपुग्दा यस जिल्लाले असंख्य स्रष्टा जन्माउन सफल भएको छ । विभिन्न विधामा र भाषामा कलम चलाएर ३० वटा कृति समाजमा पस्किसकेका लाटो साथी प्रा.डा. विष्णुराज आत्रेयले भवानी भिक्षुको स्वर्गारोहण पछि कपिलवस्तु जिल्लाको साहित्यिक नेतृत्व गर्दै आउनु भएको छ । त्यसरी नै नित्यान्द पाण्डे, गयाप्रसाद शाह, दयाशंकर मुन्सी, चन्द्र भूषण पाण्डेलगायतका स्रष्टाहरूले यो चरणमा विभिन्न विधामा साहित्य सिर्जना गर्ने र विद्यालयहरूमार्फत मुखपत्र प्रकाशन गर्ने, गराउने काम गरे ।
२०२७ सालमा तौलेश्वर सं.मा.वि.मा डा. दुर्गाप्रसाद अर्यालहरूले साहित्यिक पत्रिका प्रकाशन गरेर २०४४ सालमा कपिलवस्तु साहित्य परिषद् नामक संस्था गठन गर्नु जस्ता कार्यमा चासो राख्नेहरूमा नारायण प्रसाद पौडेल, मुमाराम खनाल, कमल चुँदाली, मेघराज ज्ञवाली र हरिराज शर्मा, पार्वती शर्मा, खेम कोपिला, दयाराम न्यौपाने,फणिन्द्र नारायण सिग्देल, बाबुराम भण्डारी, लक्ष्मण निर्मल, दिनेश पन्थी, युवराज अर्याल, तेजकुमार बौद्धाचार्य, दान बहादुर श्रीवास्तव, भवानी शंकर पौडेल, धर्म भुसाल, रामप्रसाद घिमिरे लगायतले भाषा, साहित्य कला र संस्कृतिलाई उभो लगाउने काम गरे र समाजमा ठूलो गुन लगाएका छन् । यसैगरी केशव राज अर्याल, राम निवास पाण्डे, अलका आत्रेय, दिनेश पन्थी, सन्ध्या पहाडी, विश्वनाथ पाठक, मोहम्मद इद्रिसहरू पनि कपिलवस्तुका बिर्सन नहुने स्रष्टा हुन् । यस समयमा धेरै रचनाहरू प्रकाशित हुँदै आएका छन् । थुप्रै भाषा भाषिले आ–आफ्नो क्षेत्रबाट विशिष्ट प्रकारको योगदान दिंदै आएका छन् । देवी प्रसाद पौडेल, निर्मल, वि.क., होमराज आचार्य, आत्मराज आचार्य,भोजराज शर्मा, रुद्र ज्ञवाली, चिरन्जीवी थापा छन् भने प्रा.डा. विष्णुराज आत्रेय र फणिन्द्रनारायण सिग्देलले संस्कृत भाषामा समेत कृति प्रकाशन गरी ठूलो गुन लगाएका छन् ।
यस पछिका अनगिन्ती स्रष्टाहरू छन् । जसको नाम र प्रकाशित कृतिको संख्या बताउन यो छोटो लेख र समयले पुग्दैन । अर्जुन सर जस्ता स्रष्टाले खोज, अनुसन्धान गरेर तयार पारेको लेख कपिलवस्तु वर्तमानको साहित्य दर्पण– र यस्तै अन्य खोजमूलक लेख रचना अध्ययन गर्नुपर्ने हुन्छ । तथापि नारायण प्रसाद घिमिरे, बासु जमर कट्टेल, ऋषिकेशव भारद्वाज, दधिराम सापकोटा, बालकराम बुढामगर, ओली महम्मद हुसेन, राघवेन्द्र श्रीवास्तव, यमुना प्रसाद गौली, पुनाराम गिरी, रूपा भट्टराई, विक्रममणि त्रिपाठी, हरि पंगेनी, राम प्रकाश, पार्वती शर्मा, विशाल गौरे, श्याम सुन्दर यादव, बासुदेव चौधरी,पसुपतिमणि त्रिपाठी, खुवीराम आचार्य, खुवीराम आचार्य, ईश्वरी भुसाल,शमीर शायर, भक्तिराम पन्थी, विष्णु घर्ती भन्भनेली, कुलप्रसाद पन्थी लगायतका स्रष्टाहरू हुनुहुन्छ ।
हाल आएर यस जिल्लाको साहित्यिक, भाषिक, साँस्कृतिक र ऐतिहासिक विकासको निमित्त संस्थाहरू गठन गरी संस्थागत रूपमा गर्दै आएको विकास अत्यन्तै प्रशंसनीय छ । विभिन्न संस्थाहरूमा आबद्ध स्रष्टाहरूप्रति यो जिल्लाले आभार व्यक्त गर्नुपर्ने सय आएको छ । हाल सक्रिय रहेका साहित्यिक संघ संस्थाहरूमा कपिलवस्तु वाचनालय, शोभादेवी भोलानथ ट्रष्ट विश्वनारी नेपाली साहित्य समाज, तिलौराकोट साहत्य समाज, वाणगङ्गा साहित्य प्रतिष्ठान, वाणगङ्गा सामुदायिक पुस्तकालयm, दधि स्मृति साहित्य समाज, अवधि साँस्कृतिक विकास परिषद, छन्दवादी समाज कपिलवस्तु, शिवगढी साहित्य संगम, नवकपिलवस्तु साहित्य समाज, लुम्बिनी वाङ्मय प्रतिष्ठान कपिलवस्तु, चेतनशील प्रतिष्ठान, नेपाल साहित्यिक पत्रकार संघ कपिलवस्तु, नेपाली लेखक संघ, कपिलवस्तु, कपिलवस्तु संस्कृति एवं कला परिषद र वार्षिक मुखपत्र प्रकाशन गरेर साहित्यिक विकासमा विशिष्ठ योगदान पुराइरहेका विभिन्न तहका विद्यालयहरू र थुप्रै सामाजिक संघ संस्थाहरू छन् ।
यसै गरी सञ्चार क्षेत्रमा सक्रिय रहेका संघ संस्थाहरूले पनि साहित्यिक कार्यक्रम सञ्चालन गरेर यथेष्ठ सहयोग पुराउँदै आएका छन् । नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तु, बुद्ध दर्पण राष्ट्रिय दैनिक, रेडियो बुद्ध आवाज, बुद्ध टेलिभिजन, रेडियो वाणगङ्गा रेडियो हटबिट, सञ्चारका समूह कपिलवस्तु, सामुदायि रेडियो कपिलवस्तु, रेडियो समानता, रेडियो तिलौराकोट, रेडयो भ्वाइस एफएम, रेडियो परिवर्तन, मायादेवी एफएम आदिबाट साहित्यिक गतिविधि हुँदै आएका छन् । विभिन्न साहित्यिक पत्रपत्रिका संघ संस्थाका प्रकाशन र साहित्यिक संस्थाहरू समेतले पचासौं साहित्यिक प्रकाशन गर्दै यस जिल्लको साहित्यिक विकासमा महत्वपूर्ण योगदान दिदै आएका छन् । यस्तै अनगिन्ती संघसंस्था, व्यक्ति, सबै प्रशंसायोग्य र धन्यवादका पात्र छन् । पछिल्लो समयमा कपिल आरोग्य मन्दिर, कपिलधाम नामक संथाले वाणगङ्गा ९ मा आफ्नो कार्यालय स्थापना गरी धार्मिक, पर्यटकीय, आयुर्वेद र प्राकृतिक उपचार केन्द्र बनाएको छ । यसका साथै साहित्यिक गतिविधिहरू पनि सञ्चालन गरी प्रशंसनीय कार्यहरू गर्दै आएको छ । यस संस्थाले प्रज्ञा नामक पुस्तकालयको स्थापना गरिसकेको छ । अन्य विविध विधाका साथै सहित्यिक धाम बनाउने यसको लक्ष अनुसार साहित्यको क्षेत्रबाट राष्ट्रमा विशिष्ठ योगदान पुराएका राष्ट्रिय सम्मा प्रदान गर्न योग्य स्रष्टाहरूको शालिक स्थापना गरेर राष्ट्रिय विभूतिहरूलाई सम्मान प्रदान गर्दै आएको छ ।
अहिलेसम्म विभिन्न विभिन्न् साहित्यिक संघ संस्था र प्रतिष्ठानहरूले शालिक स्थापना गरिसकेका मान्यवर स्रष्टाहरूमा आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौडेल, जनकवि केशरी धर्मराज थापा, रश्मिराज अर्याल दधिराम मरासिनी, सिद्धिचरण श्रेष्ठ छन् भने थुप्रै स्रष्टाहरूका शालिक निकट भविश्यमा नै स्थापना गरिने क्रममा छन् ।
यसरी साहित्यिक संघ संस्था स्थापना गरी साहित्यकारहरूको सम्मान गर्ने र साहित्यिक गतिविधि सञ्चालन गरी यस कपिलधामलाई साहित्यिक धाम बनाउने कार्यमा यहाँको सञ्चालक समिति क्रियाशील देखिएको छ । कपिल ऋषिको नामले सुप्रसिद्धि कमाएको यो कपिलधाम साहित्यिक धाम बनेर यो धामबाट भाषा साहित्य, कला र संस्कृतिक क्षेत्रबाट विभिन्न जात, जाति र भाषाभाषीलाई एकताको सूत्रमा आबद्ध पार्दै राष्ट्रको विकासमा यथायोग्य सहयोग पुराउने कपिलधाम र यस संस्थासँग संबद्ध सम्पूर्ण सेवीहरूलाई पूर्ण सफलता प्राप्त होस् र कपिलधाम साहित्यिक र सांस्कृतिक धाम बनोस् । शुभकामना ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार