उफ् दुई तिहाई !

सबैलाई थाहा छ – अहिले देशमा दुईतिहाई बहुमतको सरकार छ । तर, सरकार दुई तिहाई बहुमतको हुँदैमा नागरिकले पनि दुई तिहाई सुख पाउने होइनरहेछ । सबै असल र राम्रा चिजहरूको पनि दुई तिहाई संग्रह हुने होइनरहेछ । दुई तिहाई विवेक र दुई तिहाई बुद्धि पलाउने होइनरहेछ । जनतामा दुई तिहाई हाँसो र दुई तिहाई खुसी आउने होइनरहेछ । दुई तिहाई सरकारले विकास र समृद्धिका बडेबडे गफ गरिरहँदा हाम्रै वर्तमानले भने गिज्याइरहेको भान हुन्छ । उता सरकार भने जर्बजस्त दुई तिहाई समृद्धिको मानक खडा गर्न खोजिरहेको छ । जसरी हुन्छ नागरिकमा आफ्नो बहुमत र शक्ति अजमाउन नै लागिपरेको देखिन्छ । यसो यताउति कुरा चल्यो कि सरकारी अहंकार भन्छ –‘यो परालको त्यान्द्रो जस्तो सरकार होइन, दुई तिहाई बहुमतको सतिसाल झैं दरिलो सरकार हो ।’ उफ ! उही दुई तिहाईको दम्भ !
आखिर यो सरकारलाई किन यसरी आफ्नो दुई तिहाईको बल जनतामा प्रदर्शन गरिरहनुपर्ने अवस्था आयो ? जुन कुरा घाम झैं छर्लंग छ, त्यही पुष्टि गर्न समय र स्रोत किन खर्च गर्नु ? अहिले पनि सरकार आम नागरिकमा आफ्नो दुई तिहाई हैसियत प्रमाणित गर्न समय अनि स्रोत साधन खर्च गरिरहेको छ । आखिर किन ? सरकारको काम आफ्नै हैसियत र शक्ति प्रदर्शन गर्ने होइन, नागरिकका सरोकारलाई सम्बोधन गर्ने र उनीहरूको जीवन सहज बनाउने हो । जसले चुनावमा बहुमत दिएर पठायो, यसैतर्फ फर्केर दम्भ प्रदर्शन गर्नु त अधिनायक शैली भइगयो नि । यसरी सरकारले नागरिकतर्फ फर्केर दुई तिहाईको जनादेश प्रमाणित गर्न खोज्नु नागरिक मतको अपमान हो ।
हामीलाई ज्ञान छ, यो इतिहासकै बलियो सरकार हो । तर, उल्लेख्य बहुमत पाएर पनि सहि बाटो समात्न नसकेर आफैंमा रुमल्लिएर दिशाबोध हुन नसकेको सरकार पनि शायद यही हो । सरकारले नागरिकलाई दुई तिहाई बहुमतको झल्को दिनेगरी काम गरे कोही पनि फुर्सदिलो भएर एकोहोरो सरकारको विरोध गर्दैनन् । तर, अहिले स्थिति फरक छ । चोक, गल्ली, चियापसल कहीं पनि सरकारले जनचाहना अनुसार काम गर्न नसकेको गुनासो र दुखेसोको पेटारो सुन्न पाइन्छ । जनताले रोजेको अनि भरोसा गरेको बहुमतको सरकारले आम नागरिकका सरोकारका विषयमा उदासिन भइदिँदा राजनीतिप्रति नै असन्तुष्टि पैदा हुने खतरा बढ्दै गएको छ, जुन राम्रो संकेत होइन ।
आखिर मुलुक अहिले दुई तिहाईको अराजकता र दुई तिहाईको सकसमा छ भन्दा के नै फरक पर्ला र ? सरकारले यातायात क्षेत्रमा जरा गाडेर बसेको सिन्डिकेट हटाउने भन्दै डंका पिट्यो र केही समय नागरिकको दैनिकी नै खल्बलियो । आम नागरिकले सरकारको कदमलाई साथ पनि दिए । दुःख, कष्ट सहेरै पनि सरकारको कदमलाई सहयोग गरे । तर, चाडपर्वको मुखमा तिनै सिन्डिकेटधारीसँग सम्झौता गरी चर्को भाडावृद्धि गर्न सरकार सहमत भयो ।
कामचोर र गैरजिम्मेवार ठेकेदारहरूको रोष्टर तयार गरेर कारवाही गर्ने गृहमन्त्रीको ध्वाँसले पनि हावा खायो । वर्षौंसम्म पनि राजधानी काठमाडौंको नाकैनिर केही किलोमिटर सडक निर्माण सम्पन्न हुन नसक्दा दैनिक राजधानी भित्रिने र बाहिरिने हजारौं नागरिकले सास्ती खेप्नुपरिरहेको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको बुटवल–बेलहिया व्यापरिक मार्ग आज ७ वर्ष वितिसक्दा पनि पूरा हुन सकेको छैन । दैनिक बुटवल–भैरहवा गर्ने यात्रुहरूको सास्तीको कुनै तथ्यांक छैन । व्यापारीहरूले उपभोग्य वस्तुहरूको मूल्यबृद्धि र आपूर्ति प्रणालीमा कृत्रिम अभाव सिर्जना गरिदिंदा प्रत्येक नेपालीको भातभान्सा प्रभावित भइरहेको छ । स्वदेशमा रोजगारी नपाउँदा मैलो अनुहार लगाएर खाडीतिर उड्ने दिनहीन नेपाली युवाहरूको लर्को घटेको छैन ।
बलात्कारपछि हत्या गरिएकी एक बालिकाका परिवार दोषीलाई कारवाही होस् भन्दै न्यायको भीख माग्दै हिंडेको दुई दुई महिना बितिसक्यो, तर हाम्रो न्याय प्रशासन निरीह बनेर तमासा हेरिरहेको छ । अझ प्रधानमन्त्रीको कर्कश ध्वनि सुनिन्छ –‘सरकारले बलात्कार र हत्या गरेको हो र ? अपराधी भेटिन १२ वर्षपनि लाग्न सक्छ ।’ दुई तिहाईकै ध्वाँस दिइरहने सत्तासीन पार्टीका मान्छेहरू अझ प्रधानमन्त्रीको भाषामा भन्नुपर्दा ‘अरिंगालको डफ्फा’ भने पछिल्लो समय बढ्दै गएको बलात्कार, हत्या हिंसालाई सरकारविरोधी षड्यन्त्र देख्छन् ।
नागरिक दिनदहाडै लुटिएका छन् । सयौं छोरी चेलीहरू आफ्नो अस्मिता गुमाउन बाध्य छन् । कयौं नाबालिकाहरूको शरीर चिथोरिएको छ । हत्या गरिएको छ । छोरीचेलीहरूलाई आफ्नै वरिपरिका नरनाता अनि छरछिमेकबाट जोगाउनै सकस छ । समाज नै संवेदनहीन बन्दैछ । दुई महिनाकै अवधिमा झण्डै दुई सय बलात्कारका घटना भएको तथ्यांंक छ । तर, सरकार रमिते बनिरहेको छ । न त अपराधीलाई दण्डित गर्ने तत्परता देखाउँछ, न त शान्ति सुरक्षाको प्रत्याभूति नै दिनसक्छ । सरकार त मन्दिरमा थपना गरिएको मूर्ति जस्तो पो छ– नागरिकको सरोकार र चासोको विषयमा कुनै पहलकदमी लिन नपर्ने, बस् सरकार छ भनेर मानिदिनुपर्ने । अझ दुई तिहाई बहुमतवाला सरकार!
अब यसो नागरिकको दैनिकी नियाल्यो सन्तुष्टि लिने ठाउँ कहिंकतै भेटिँदैन । महंगीले आकाश छोइसक्यो । शिक्षा र स्वास्थ्यको अवस्था त्यस्तै छ । शिक्षा यति अगम्य भइसक्यो कि सामान्य मानिसले आफ्ना केटाकेटी पढाउनै नसक्ने अवस्था छ । स्वास्थ्य सेवाको दुर्दशाको कुरा त आज पनि हामी जीवनजल र सिटामोलमै सीमित छौं । त्यति पनि नपाएर ज्यान गुमाउनु पर्ने अवस्थाको निरन्तरताले सत्तासीनहरूलाई कहिल्यै छुँदैन । सामान्य नागरिकले जिन्दगीमा सुविधासम्पन्न अस्पताल देख्दै पाउँदैन । उसले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा त सुनेकै हुँदैन । उपचारै नपाएर मर्नुपर्ने अवस्था सामान्य भइसक्यो । तर, ती दिनहीन नागरिकका लागि भने सदावहार दुई तिहाई समृद्धिकै खुराक पिलाइँदैछ ।
जब अहिलेको अवस्था र सरकारी समृद्धिका सपना दाँज्न खोजिन्छ – सरकारको दुई तिहाईवाला समृद्धिका कुरा भने भद्धा मजाक झैं प्रतीत हुन्छ । हो, समृद्धिका बडेबडे गफ गरिरहँदा हाम्रै यथार्थले भने गिज्याइरहेको भान हुन्छ । अनि वर्तमान अव्यवस्था र अस्तव्यस्तताले हाम्रो समृद्धिको खिल्ली उडाइरहेको छ । विगतमा हामी धेरै बरालियौं । हाम्रो आर्थिक नीति कार्यक्रम पनि बरालिन पुग्यो । पुग्ने लक्ष्य र हिंड्ने बाटोबीच तालमेल हुन सकेन । अनि आफ्नो गन्तव्य पनि अरूकै सहायताले पुग्ने लक्ष्य राख्यौं । परिणामतः हामी टुंगोमा पुग्न सकेनौं र बिचमै बरालियौं । अरूको बुई चढेर शिखर चुम्ने अभिलाषा राख्नु सहि हुँदैन, शिखर चुम्न आफ्नै खुट्टालाई विश्वास गर्न सक्नुपर्छ । त्यसैले हामीले समृद्धिको शिखर चुम्ने लक्ष्य निर्धारण गर्दैगर्दा त्यहाँ पुग्ने आधार कुनै विदेशी दाताको निगाहमा निर्माण गर्ने होइन, हामीले आफ्नै बलबुता र आर्थिक स्रोत परिचालनबाट गर्नुपर्छ । तर, हामीले त्यस्तो कुनै आधार खडा गर्न सकेनौं ।
दुःखद पक्ष त यो छ कि दुई तिहाईको समृद्धिले पनि त्यो आधार पहिल्याउन सकेको छैन । अब विद्यमान राष्ट्रिय अर्थतन्त्रको मूलभूत विशेषता नियालौं – नेपाल अझै अल्पविकसित देशहरूको समूहमा छ । अर्थतन्त्रमा उच्च गरिबी, न्यून आर्थिक वृद्धिदर, उच्च आर्थिक असमानता र उच्च बेरोजगारीको स्थिति विद्यमान छ । कूल अर्थतन्त्रको आकार करिब २६ खर्ब छ भने प्रतिव्यक्ति आय १ हजार ४ डलर पुगेको छ । करिब ३० प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् । आर्थिक बृद्धिदर विगत ३० वर्षमा औसत ५ प्रतिशत भन्दा मुनि रहेको छ ।
आयात निरन्तर बढ्दो र निर्यात निरन्तर घट्दो छ भने यसले भुक्तानी सन्तुलनलाई निकै दबाबमा राखेको छ । समाजको वर्गीय संरचनामा परिवर्तन भइरहेको छ र मध्यम वर्गको भूमिका बढ्दो छ, तर यसलाई सही आंकलन गरेर आर्थिक नीतिमा परिवर्तन गर्न सकिएको छैन । हरेक कुरामा परनिर्भरता बढ्दो छ अझ भारतसँगको निर्भरता झन् बढ्दै गएको छ । इतिहासको कुनै कालखण्डमा १ः५ को अनुपातमा रहेको आयात–निर्यात अनुपात अहिले १५ः१ पुगेको छ । अर्थात् कूल आयातको ५ गुणा निर्यात गर्ने देश अहिले कूल निर्यातको १५ गुणा आयात गर्ने अवस्थामा पुगेको छ । तै पनि देशमा समृद्धिका कुरा चलिरहेकै छ । विकासका गफले बजार लिईनैरहेको छ ।
ऊर्जालाई अझै पनि समृद्धिको आधार बनाउन सकिएको छैन । बिजुली विकासको १०० वर्षे इतिहास बोकेको नेपालमा हालसम्म १ हजार मेगावाटको वरिपरि मात्रै बिजुली उत्पादन भएको छ । कृषिलाई अझै पनि अफिशियल रूपमा अर्थतन्त्रको आधार मानिएको छ तर, अर्थतन्त्रमा कृषिको योगदान निरन्तर क्षयीकरण र कृषिवस्तुहरूको ठूलो परिणाममा आयात बढ्दो छ । सरकारको कृषिमा द्वेध नीति कायमै छ । एकातिर कृषिलाई अर्थतन्त्रको मेरुदण्ड भनिने अर्कोतिर कृषिलाई निर्वाहमुखीबाट माथि उठाउन सकिएको छैन । वैदेशिक रोजगारी र रेमिट्यान्स आयको भरमा टिकेको अर्थतन्त्र छ र समग्र मुलुकनै उपभोगको विशाल केन्द्र बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचीमा नेपालले भ्रष्ट मुलुकको सूचीमा अग्रस्थान ओगट्दैछ भने सरकार दैनन्दिनी भ्रष्टाचार अन्त्य गर्ने उद्घोष गरिरहन्छ ।
अब सरकारले दुई तिहाईको रटान गर्नुभन्दा गिर्दो अर्थतन्त्रका मूलभूत विशेषता नियालोस् र आर्थिक सुदृढीकरणका लागि केही ठोस कदम चालोस् । अनि आम नागरिकलाई दुई तिहाईको बहुमत प्रमाणित गर्न होइन उनीहरूका समस्या समाधानको पहल गरोस् । मुलुकलाई अहिलेको आर्थिक–सामाजिक दुरावस्थाबाट बाहिर निकालेर हामीले चाहेको विकास र समृद्धि हासिल गर्नका लागि दुई तिहाईको दम्भ होइन, समृद्धिको बृहत खाका तयार गरी कार्यान्वयन गरोस् ।
विकास र समृद्धिका अवयवहरू – भौतिक एवं पूर्वाधारको विकास, बृहत उत्पादन र न्यायोचित वितरण, स्रोतको संरक्षणसहितको उपयोग, व्यक्तिको आत्मिक सन्तुष्टिसहितको जीवनस्तर आदि हुन् । व्यक्तिको खुसीसहितको आर्थिक प्रगति नै समृद्धि हो । यो केवल प्रतिव्यक्ति आयमा हुने बढोत्तरी मात्र होइन । आयको अलवा व्यक्तिको सामाजिक प्रतिष्ठासहित शिक्षा, स्वास्थ्य, सुरक्षा, जीवनशैली र सामाजिक एवं आर्थिक हैसियतमा हुने बढोत्तरी नै समृद्धिको सूचक हो । त्यसैले सरकारले दुई तिहाईको शक्ति प्रमाणित गर्न होइन, नागरिकको दैनिकी सुधार्न समय खर्च गरोस् । बस् हामीलाई दुई तिहाईको शक्ति होइन, बेहत्तर दैनिकी चाहिएको छ ।
mबलष्पबच।लष्दबचतबmबल२नmबष्।िअयm

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार