शिवगढी, सोनवागढ ओझेलमा

माधव बेल्वासेर
कपिलवस्तु । कपिलवस्तु जिल्ला एक प्राचीन मौलिक महत्व बोकेको जिल्ला हो । जिल्लाको पूर्वी भागदेखि पश्चिमी भागसम्म पर्यटकीय स्थलले भरिभराउ कपिलवस्तु जिल्ला प्रचार प्रसार र पयाप्त स्रोत साधनको अभावमा सधै पछाडि छ ।
यहाँका पर्यटकीय स्थललाई सदुपयोग गरी पर्याप्त पर्यटकलाई भित्राउन सकिने सम्भावना प्रवल छ । कपिलवस्तु जिल्ला पर्यटकीय हिसाबले मात्र पनि धेरै हदसम्म सक्षम बन्न सक्छ । प्राचीन कपिलवस्तु नगरी भगवान बुद्धको २५ वर्षे जीवनको क्रिडास्थल, राजा शुद्धोधनको राजधानी शाक्य नगर कपिलवस्तु नगरपालिका १२ स्थित तौलिहवादेखि ३ कि.मि. उत्तर क्षेत्रफल करिव ३५ विगाहा सरकारी स्वामित्व रहेको कुरा सबैमा अवगतै छ । भगवान् गौतम बुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट क्षेत्र, तौलेश्वर मन्दिर, गौतम बुद्धसँगै सम्बन्धित गोटिहवा लगायतका प्रशस्त क्षेत्र, विश्व सिमसार क्षेत्र जगदीशपुर ताल, भितरिया मन्दिर, शिउराजका महत्व बोकेका क्षेत्र, उमरी गुफालगायतका धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व बोकेका स्थल कपिलवस्तुमै छन् ।
शिवगढी मन्दिर ः
पश्चिमी क्षेत्रको पहाडी इलाकामा पर्ने शिवगढी मन्दिर ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबको लागि निकै उचित देखिन्छ । तर शिवगढी मन्दिरको त्यति प्रचार प्रसार र विकास हुन नसक्दा अझै पनि मन्दिर पर्यटकीय हिसाबले ओझेलमै देखिन्छ । यो मन्दिरको विकास र प्रचार गर्न सके मन्दिरसँगै जिल्लाको नाम जोडिएर आर्थिक र पर्यटकीय हिसाबले अगाडि आउने देखिन्छ । तर त्यस मन्दिरको राम्रोसँग प्रचार प्रसार नगर्दा उक्त मन्दिरको महत्व दिन प्रति दिन ओझेलमा पर्दै गएको छ । शिवगढी मन्दिरमा वर्षै भरी आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । यहाँ विशेष गरी शिवरात्रिको अवसरमा ठुलो मेला लाग्ने गर्दछ, हजारौको संख्यामा दर्शनार्थी यहाँ आउने गर्दछन् । शिव रात्रिको समयमा यो मन्दिरमा ५ दिनसम्म मेला लाग्ने गर्दछ । यस मन्दिरको राम्रो विकास हुन नसक्दा अन्य समयमा भने हिंड्न गाह्रो हुने भएको हुँदा त्यति पर्यटक वा दर्शनार्थी मन्दिर जाने गरेको पाइदैन । व्यापार संघ कपिलवस्तुलगायतका विभिन्न संघ संस्थाले पछिल्लो समय शिवगढी मन्दिरमा केवलकारको बारेमा केही पहल गरे पनि अहिलेसम्म मन्दिरमा जाने राम्रो बाटोसम्म छैन ।
कपिलवस्तु जिल्लाको पश्चिमी सिमाना धानखोला बाट करिब डेढ घण्टाको ठाडो पहाडी उकालो हिंडे पछि शिवगढी मन्दिरमा पुग्न सकिन्छ । साविक शिवगढी गा.वि.स. अन्तर्गत रमुवादहबाट समेत यस मन्दिरमा पुग्न सकिन्छ । धान खोलाको दक्षिण पश्चिम पट्टिको चुरे पहाडको चुचुरोमा यस शिवगढी मन्दिर अवस्थित रहेको छ । मन्दिरको केही तलतिर चौध वर्षसम्म भगवान शिवको तपस्यामा बसेका बाबाको कुटी पनि रहेको छ । जसलाई मौनि बाबा भनेर पनि चिनिन्छ । यहाँबाट अर्घाखाँचीका केही गाविस, राप्ति नदी, दाङ जिल्ला र कपिलवस्तुका घना जङ्गल, फाँटका साथै भारतका केही स्थानसमेत दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समयमा यस क्षेत्रमा पराना इँटाहरू फेला परेकोले उत्खनन् गरिने बताइएको छ ।
सोनवागढ ः
कपिलवस्तुको शिवराज नगरपालिका ३, भितरियास्थित प्राचीन कालिन मन्दिर सम्बन्धित निकायको ध्यान जान नसक्दा ओझेलमा पर्दै गएको हो । एकातिर मन्दिर नदी कटानको चपेटामा पर्दै जाँदा धरापमा पर्न थालेको हो । वर्षेनी नदीले जमिन कटान गर्दै जाँदासमेत कसैले संरक्षणपट्टि ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित उक्त मन्दिर बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सोनवागढ राखिएको स्थानीयबासी बताउँछन् । संरक्षणका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा मन्दिरमा रहेका पुरातात्विक बस्तुहरू चोरी हुने गरेका छन् । यसरी मन्दिरमा रहेका महत्वपूर्ण वस्तुहरू चोरी हुँदै जानु र नदी कटानको चपेटामा पर्दै जानुले मन्दिरको अस्तित्व धरापमा पर्ने खतरा बढेको स्थानीय संचारकर्मी तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खरालले बताए ।
लुम्बिनी र तिलौराकोटका जस्ता बौद्धकालीन इँटाबाट निर्माण गरिएका संरचना र मायादेवीको एक मात्र मूर्तिले हजारौँ वर्ष पुरानो भएको प्रमाणित गर्दछ । हजारौं वर्ष पुरानो तथा धार्मिक धरोहरका रूपमा रहेको सोनवागढ मन्दिरको महत्व बढ्दै गए पनि संरक्षण नहँुदा मन्दिरको अस्तित्वसमेत संकटमा पर्दै गएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार