विदेशी लगानी आए स्वदेशी डेरी उद्योग धरासायी

पाल्पा । विदेश लगानी भित्रियो भने स्वदेशी डेरी उद्योग धरासायी बन्ने नेपाल डेरी एशोसियसन केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । उनले मुलुकभित्र अहिले लगानीमा रहेका उद्योगहरूलाई धरासायी हुनेगरी सरकारले विदेशी लगानी भित्रिन दिन नहुनेसमेत बताए । एशोसिएसनको पाल्पामा भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले दूधको मूल्यदेखि गुणस्तरसम्म राज्यको निगरानी रहेकोले गुणस्तर कायम भइरहेको र यसमा सरकारले विदेशी लगानी भित्रिन दिन नहुनेमा जोड दिए । अध्यक्ष सापकोटाले गत भदौ १ गतेदेखि लागू हुने गरी दूधको मूल्यमा ६ रूपैयाँ बढाएको बताए । सबै हिसाबले हेर्दा मूल्य बढाउनुपर्ने बाध्यता भएको उनले बताए ।
नेपालमा उत्पादित दूध एसियाको सबैभन्दा महंगो दूध पर्छ । लागत मूल्य बढी भएकोले दूधको मूल्य महंगो हुन गएको अध्यक्ष सापकोटाले बताए । महासचिव प्रल्हाद दाहालले डेरी उद्योगमा विदेशी लगानी आउँदा स्वदेशी डेरी धरापमा पर्ने भएकाले यसतर्फ बेलैमा सोच्नुपर्नेमा जोड दिए । विदेश लगानी स्वदेशमा भित्रिए स्वदेशका डेरी बन्द हुने र २० अर्बको डेरी उद्योग जोखिममा पर्ने उनले बताए ।
पूर्वअध्यक्ष मेघराज भण्डारीले उपभोक्ताले गुणस्तरीय दूध पाउनुपर्ने र किसानले उचित मूल्य पाउनुपर्नेमा जोड दिए ।यही लक्ष्यका साथ आफूहरू लागेको बताउँदै उनले गुणस्तरीय दूध नपाउने विषयमा हामी स्वीकार नगर्ने बताए ।
प्रशोधन गरेको दूधका बारेमा पर्याप्त प्रचार हुन सकेको छैन । मानिसहरूले प्याकेजको दूध खान चाहदैन, प्याकेजको दूधप्रति विश्वास नहुँदा उपभोक्ता झनै समस्या खेपेको उनले बताए । बाहिर देख्दा डेरी सञ्चालक सुकिला मुकिला देखिए पनि भित्री रूपमा भने समस्या प्रशस्तै रहेको उनले बताए । महासचिव दाहालका अनुसार श्रम ऐन २०७५ पास भई न्यूनतम पारिश्रमिकमा वृद्धि हुन गएकोले आर्थिक भार बढ्न गएको, बैंकको ब्याज बढ्न गई आर्थिक भार बढ्न गएको लगायतका समस्या छन् ।
डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागर दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको संख्या बर्सेनि बढेको हो ।
पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा आकर्षण बढेपछि डेरी उद्योग फस्टाएको छ । डेरी उद्योग फस्टाउँदा उपभोक्ताले घरघरमा दूध पाउन थालेका हुन् । अध्यक्ष राधाकृष्ण नेपालमा डेरी उद्योगमा लगानी बढ्दा बेरोजगार युवाले डेरीबाट रोजगार पाउन सफल भएको बताए । डेरी उद्योगको विकासका लागि २० अर्बभन्दा बढी लगानी रहेको र दैनिक ५० हजार लाख लिटर दूध उत्पादन हुनेमा फर्मल सेक्टरमा १७ र इनफर्मलमा ३३ प्रतिशत र किसान स्वयंले उपभोग गर्ने ५० प्रतिशत दूध खर्च हुने गरेको उनले उल्लेख गरे ।
महासचिव दाहालका अनुसार दैनिक तीन करोडभन्दा बढी रकम शहरबाट गाउँमा प्रवाह हुँदै आएको छ । वार्षिक एक अर्ब राजश्व डेरी क्षेत्रबाट सरकारलाई बुझाउने गरिएको महासचिव दाहालको भनाइ छ । विदेशी लगानीमा डेरी उद्योगको सञ्चालन गरेको अवस्थामा स्वदेशी डेरी उद्योगहरू धराशायी हुने उद्योगीको धारणा रहेको छ । डेरी एशोसिएसनले विदेशी लगानीमा स्वदेशमा डेरी उद्योग सञ्चालनमा आएमा चार लाख ५० हजार किसानको घरपरिवारको रोजीरोटी गुम्न सक्ने अवस्था प्रति सचेत गराएका छन् । डेरी क्षेत्रमा रु २० अर्बको लगानी जोखिम हुने र स्वदेशी पैसा विदेशिन सक्छ भन्दै विदेश लगानीलाई नेपाली भूमिमा प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्ने पक्षमा छैनन् । श्रम ऐन २०७५ पास भई न्यूनतम पारिश्रमिकमा वृद्धि हुन गएकाले र बैंकको ब्याज दर बढ्न गई आर्थिक भार बढ्न गएको, घर भाडा बढेर आर्थिक भार बढ्न गएको डेरी व्यवसायीको भनाइ छ । विसं २०५५ मा नेपाल डेरी एशोसिएसन नेपालको स्थापना भएको हो । हाल डेरी उद्योग ७७ जिल्ला शाखा विस्तार भएको छ । यस संस्थामा देशभरका २ सय ५० भन्दा बढी उद्योग आबद्ध छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार