मनपरी भाडा तोक्दा ठगिए यात्रु

बुटवल । बस व्यवसायीहरूले मनपरी भाडा तोकेर यात्रुमाथि ठगी गरिरहेका छन् । सरकारले असोज १ गतेबाट लागू हुने गरी पहिले तोकेको मूल्यमा १० प्रतिशत भाडा बृद्वि गर्न सहमति भएकै अर्काे दिनबाट भाडा बढाइएको हो । यातायात व्यवसायीहरू आन्दोलनमा बसेर सवारी नचलाएपछि सरकार १० प्रतिशत भाडा बढाउन बाध्य भएको थियो ।
यातायात व्यवसायीहरू भने पहिले तोकेको भाडामा नभई आफूहरूले लिइरहेको भाडाको आधारमा भाडा बृद्वि गरी लिइरहेका छन् । अहिले यातायात व्यवसायीहरूले पहिले ४ किलोमिटरको लागि लिएको १५ रूपैयाँको १० प्रतिशत बढाएर २० रूपैयाँसम्म लिने गरेका छन् । जुन करिब ३० पतिशतको हाराहारी हुन आउँछ ।
पहिले ४ किलोमिटरसम्मको लागि सरकारले तोकेको १४ रूपैयाँ भएपनि १५ रूपैयाँ लिने गरेका थिए । जसबाट प्रतिव्यक्ति १ रूपैयाँ ठगी भइरहेको थियो ।
नेपाल सरकारले बढाएको भाडा जिल्ला प्रशासन कार्यालयले तोक्नुपर्ने भएपनि पश्चिम नेपाल बस व्यवसायी समितिले नै तोकेको भाडालाई नै मान्य गराउने चलखेल भइरहेको जानकारी स्रोतले दिएको छ ।
भाडामा भएको बृद्विले सबै यात्रुहरू समस्यामा परेका छन् । एक यात्रुले भने –‘प्रशासन पनि मौन छ, सरकारले नै केही गर्न सक्दैन भने प्रशासनले के गरोस् । केही गर्न खोजे घुस दिए प्रशासन चुप लाग्छ । ’
यता पश्चिम नेपाल बस व्यवसायी समितिका सचिव रामचन्द्र भुषालले सरकारले पहिले तोकेको भाडा अनुसारमा १० प्रतिशत भाडा लिएको बताउँछन् । उनले भने– ‘सरकारले तोकेको पहिलेको भाडामा १० प्रतिशत बढाएर लिन सबै सवारी चालक तथा सवारीधनीलाई आग्रह गरेका छौं । ’
उनले राउण्ड फिगरमा ५० पैसासम्म भए सोही रूपैयाँ र ५० पैसाभन्दा बढी भएमा एक रूपैयाँ बढी लिन आग्रह गरेको बताए ।
बढेको भाडाले यात्रुबाट खुल्ला रकम नभएको भन्दै खुद्रा फर्काउने चलन पनि सवारी साधनमा छैन ।
यसबाट पहिले नै प्रतियात्रु १ रूपैयाँ ठगी भएको थियो । अब बढेको भाडामा पनि खुद्रामा भाडा आउने भएकोले अब पनि यातायात व्यवसायीबाट भाडाको नाममा थप ठगी हुने निश्चित भएको छ ।
रूपन्देहीका विभिन्न स्थानबाट छुट्ने सवारीको भाडामा पहिलेकोमा १० प्रतिशत बढाएर लिएको सिद्वार्थ यातायात समितिका अध्यक्ष सन्जीव रोक्काले जनाए ।
उनले पश्चिम नेपालसँगको सहकार्यमा नयाँ भाडा तयार गरेको र सोही भाडा अनुसार नै लिएको र खुद्रा पैसाको हकमा आफूहरू संवेदनशील रहेको र यसको लागि प्रशासनको निर्णय कुरिरहेको बताए ।
यता उपभोक्ता हित संरक्षण मञ्च रूपन्देही सचिव डिआर घिमिरेले सरकारले गरेको कुरामा अडिक रहन नसक्दा सवारी भाडाको मूल्य बृद्वि भएको बताए । उनले सिण्डीकेट हटाउने सरकारको नेतृत्वले आफ्नो कुरामा अडिक रहन नसक्दा भाडा बढेको बताए ।
उनले भने–‘सरकारले वैज्ञानिक रूपमा भाडा बढाउन सकेन । सिण्डीकेटबाट आक्रोशित यातायात व्यवसायी भाडा बढाउन माग गरेका हुन् ।’ सरकारबाट केही आशा रहेको भएपनि उनले सरकारले केही गर्न नसकेको आरोप लगाए । उनले पहिले तोकेको भाडाभन्दा बढी नै लिएको भन्दै सरकारको पहिलेको भाडामा १० प्रतिशत थपे पनि बढाउन नपर्ने बताए । उनले खुद्राले भाडामा दैनिक यात्रुलाई ठगिरहेको बताए ।
उनले भाडा जथाभावी लिएपनि प्रशासनले कडाईका साथ निगमन गर्नुपर्ने बताए । यता जिल्ला प्रशासन कार्यालय रूपन्देही भने आफै भाडा तोक्ने अवस्थामा नरहेको बताएको छ । प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर रहेको बताउँदै रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी गौतमले प्रमुख जिल्ला अधिकारी आउँदासाथ कार्य गर्न तयार रहेको बताए । उनले भने –‘सिडियो साब बाहिर हुनुहुन्छ, उहाँ आएपश्चात अनुगमनको प्रक्रिया गर्छौ । ’
बुटवल उपमहानगरपालिकाको बुटवलदेखि तामनगरसम्मको भाडा पहिले १५ रूपैयाँ भएपनि पछिल्लो समय बढेर २० भएको छ । जहाँ बढीमा २ रूपैयाँ बढेको भएपनि ३ रूपैयाँ सेवाबाट ठगी भएको हो ।
पछिल्लो समय बुटवलदेखि शंकरनगरसम्म १५ रूपैयाँ, बुटवलदेखि ड्राईभरटोल २० रूपैयाँ, बुुटवलदेखि नयाँमिल २५ रूपैयाँ, बुटवलदेखि मणिग्राम ३० रूपैयाँ, बुुटवल देखि मंगलापुर ३५ रूपैयाँ, बुटवलदेखि भलवारी ३५ रूपैयाँ, बुुटवलदेखि पथ्थरडाँडा ४० रूपैयाँ, बुटवलदेखि मधौलिवा ४० रूपैयाँ, बुुटवलदेखि कोटिहवा ४५ रूपैयाँ, बुटवलदेखि लखनचोक ४५ रूपैयाँ, बुटवलदेखि ठुटीपिपल ४५ रूपैयाँ, बुटवलदेखि भैरहवा ५० रूपैयाँ, बुटवलदेखि बेलहिया ६५ रूपैयाँ, बुुटवलदेखि बनबाटिका १५ रूपैयाँ, बुुटवलदेखि शिवपुर, भवानीपुर ४० रूपैयाँ, बुुटवलदेखि कान्छीबजार ५० रूपैयाँ, बुटवलदेखि तीनधुरा ५० रूपैयाँ, बुटवलदेखि डिंगनगर २० रूपैयाँ, बुटवलदेखि १० नं. २५ रूपैयाँ, बुटवलदेखि महबारी ४० रूपैयाँ तोकिएको छ । जसमा खुद्रा रकम प्रत्येकमा १ देखि ३ रूपैयाँसम्म बढी लिइएको हो ।
यातायात व्यवसायीहरूले ४ किलोमिटरसम्म १५ रूपैयाँ, ४ देखि १० किलोमिटरसम्म २० रूपैयाँ आफै–आफै तोकेर भाडा लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार