जीप दुर्घटनामा पाँचको मृत्यु

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका–७, चारघरे गुघरी भीरबाट जन्ती बोकेको जीप खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जीप पाल्पाको निस्दी गाउँपालिका–७, हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जन्ती बोकेको जीप साँझ ५ः३० बजे दुर्घटनामा परेकोे हो । जीप दुर्घटनामा परि दुलाहाका बुबा ५८ वर्षका सन्तबहादुर सारुकोसमेत मृत्यु भएको छ ।
दुर्घटनामा निस्दी गाउँपालिका–७, चारघरेका ४६ वर्षका खड्गबहादुर सोमै, सोही स्थानका ५६ वर्षीय देविलाल खन्गाहा, हुवासका ४६ वर्षीय लालबहादुर सारु र निस्दी गाउँपालिका–५, गल्धाका अन्दाजी २६ वर्षका चालक बुद्धिबल सोतीको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए । घटनास्थलमा रहेका स्थानीय नर बहादुर नेपालीले जीप तीव्र गतिका कारण दुर्घटनामा परेको हुन सक्ने देखिएको बताए । उनका अनुसार जीपमा रहेका १५ जना २ सय मिटर टाढा धवला भन्ने स्थानमा झरेर हिड्दै आएका कारण बाँच्न सफल भएका छन् ।
जीप दुर्घटनास्थल जिल्ला सदरमुकाम तानसेनबाट झण्डै ६० किलोमिटर पूर्वमा पर्दछ । बेहुला र बेहुली दुलहीको माईतीमा छाडेर जन्ती लिएर गएको जीप फर्कंदै गरेको अवस्थामा दुर्घटनामा परेको हो । बिहेमा अधिकांशले मदिरा सेवन गरेको र चालकलेसमेत गरेको हुन सक्ने स्थानीयले आरोप लगाएका छन् । अप्ठेरो र भीरको बाटो भएकाले अन्य यात्रु केही टाढा झेरर हिड्दै आइपुग्दा जीप दुर्घटनामा परिसकेको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार