क्रिकेटका लागि खेलाडी अक्सन

बटौली ।रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आगामी कार्तिक २६ गतेदेखि हुने तिलोत्तमा प्रिमियर लिग २ को लागि खेलाडी अक्सन सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी हुने विभिन्न ८ वटा टिमका वनर, म्यानेजर, कोच र मार्की खेलाडीहरूको उपस्तिथिमा भएको अक्सनमा १ सय १२ खेलाडीमा बोली लागेको छ ।

योसँगै अक्सनमा आवेदन दिएका अन्य १ सय ५९ खेलाडीहरू टिपिएल खेल्न नपाउने भएका छन् । नेपालका राष्ट्रिय, क्षेत्रीय, जिल्ला, स्थानीय र विद्यालय तहका जम्मा २ सय ७१ खेलाडीहरू अक्सनको मैदानमा उत्रेका थिए ।
रोयल शंकरनगरले अक्सनमा खेलाडीका लागि सबैभन्दा बढी रकम खर्च गरेको छ । रोयलले १ लाख ३५ हजार ५ सय खर्चेर सन्दिप सुनार, सुसन भारी, फैजल खान लगायतका चर्चित खेलाडीहरूलाई आफ्नो टिममा पार्न सफल भएको छ ।

त्यस्तै १ लाख ३१ हजार खर्चेको ज्ञानोदय गोल्ड्सले सन्तोष क्षेत्री, देबेन्द्र सोमरे, निर्मल थापा, राहुल बिकेलगायतका खेलाडीसहितको दावेदार टिम खडा गरेको छ ।

त्यस्तै मणिग्राम किङ्सले कृष्ण कार्की, लाल बहादुर अधिकारी सहितको टिमका लागि १ लाख २८ हजार खर्च गरेको छ भने समान रकम खर्चेको रोयल च्यालेजरले एक्लख अहमद, प्रकाश केसीलगायतका खेलाडी आफ्नो टिममा पार्न सफल भएको छ । यसैगरी कुशल भुर्तेल नुसि वारियर्समा परेका छन् भने सौरभ खनाल र सहव आलमलाई बुटवल डाइनामाइटले किनेको छ ।

लुम्बिनी कासाइले महेश मिश्रा, कुसल मल्ललगायतका खेलाडीसहितको टिम निर्माण गरेको छ भने निश्चल चौधरी, अनिल खरेल र बिक्रम भुसाललाई एस आर एन एस सि ए टाइगर्सको बोली लागेको छ ।
प्रतियोगिताले जिल्लास्तरमा रहेका खेलाडीहरूको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडीहरूसँग खेल अनुभव साटासाट गर्ने अवसरका साथै खेलाडीहरूलाई समेत प्लेटफर्म मिल्ने आयोजकको दावी छ ।
आगामी कार्तिक २६ गतेदेखि शुरु हुने प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लबको खेल मैदानमा हुनेछ । प्रतियोगिताको बिजेताले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
तिलोत्तमा नगरपालिकाको नयाँमिलमा बुधबार अबेरसम्म संचालित अक्सनको रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले उद्घाटन गरेका थिए । तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव राजेन्द्र केसी र कृष्ण भण्डारीले गरेको संस्थाका सिइओ दीपक भुर्तेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार