मनोज पुनका तीन सहयोगी तारेखमा रिहा

बुटवल । चर्चित गुण्डा नाइके मनोज पुनलाई अपराधमा सघाएको आरोपमा पक्राउ परेका तीन जनालाई अदालतले तारेखमा रिहा गरेको छ ।
रुपन्देहीको देवदहका दुई व्यवसायी तथा तत्कालीन एमाले भ्रातृ संगठनका नेता दुर्गा तिवारी र वसन्त पौडेलको हत्यामा देवदहकै व्यक्तिले सघाउ गरेको प्रहरीले भेट्याएको थियो । अडियो कुराकानीका आधारमा गत वैशाखमा पक्राउ परेका तीन जनालाई अदालतले रिहा गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले रुपन्देहीले मनोज पुनलाई अपराध गर्न उस्काउने, फिरौती संकलन गर्नेलगायतका अपराधमा सघाएको भन्दै तीनै जनालाई केही महिनाअघि पक्राउ गरी मुद्धा चलाएको थियो ।
तुल्सीपुर उच्च अदालत बुटवल इजलासले बिहिबार तीन जना अभियुक्त लेखनाथ न्यौपाने, तुल्सी न्यौपाने र हरि श्रेष्ठलाई तारखेमा रही पूर्पक्ष गर्ने गरी छाडेको हो । उनीहरुसँगै पक्राउ परेका उत्तम आचार्य र रोशन खड्का भने रिहा भएका छैनन् । रिहा भएका लेखनाथ तत्कालीन माओवादीका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ मदिरा व्यवसायी हुन् ।
मदिरा व्यवसायी श्रेष्ठले पुनसँग नभई आफ्नै नातेदार भाइलाई हत्या गर्न सुपारी दिएको आरोपमा पक्राउ परेका थिए । रुपन्देहीमा प्रहरी प्रमुख रहेका श्याम ज्ञवालीले यी पाँचसहित आठ जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेका थिए । उनी सरुवा भएलगत्तै अभियुक्तहरु धरौटीसमेत नबुझाई तारेखमा रिहा भएका हुन् ।
बुटवल इजलासका मुख्य न्यायाधिश कुमार प्रसाद पोखरेल र न्यायाधीश कृष्ण कमल अधिकारीको संयुक्त इजलासले बहसपछि तारेखमा छाड्ने निर्णय गरेको हो । एक नम्बर इजलासमा भएको यो मुद्धामा अभियुक्तको तर्फबाट वरिष्ठ अधिवक्ता कमल जोशी, पूर्व मुख्य न्यायाधिवक्ता मुक्ति प्रधान, अधिवक्ताहरु लिलाधर मरासिनी, शिव गौडेललगायतले बहस गरेका थिए ।
रुपन्देहीका दुई जना व्यवसायीको हत्या गर्ने मनोज पुन र उनका सहयोगी सोम आलेलाई भने गत फागुन ९ गते देवदहको भवानीपुरमा प्रहरीले इन्काटरमा मारेको थियो । त्यसलगत्तै उनलाई सहयोग गरेको अभियोगमा तत्कालीन माओवादी नेता न्यौपाने, व्यवसायी श्रेष्ठ, तत्कालीन युवा संघका नेताहरु सुजु मल्ललगायतलाई पक्राउ गरेको थियो । अभियोगमा पक्राउ परेकाहरुलाई बचाउन राजनीतिक तहबाटै ठूलो लबिङ भइरहेको चर्चा चलेको छ । यो काण्डमा मनोज पुनलाई ठूलै नेताको साथ रहेको बताइए पनि प्रहरीले पक्राउ गर्न सकेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार