समाज विकासको बाधक ‘महिला हिंसा’

रमा पौडेल ‘प्रभात’

श्रीमान् श्रीमती बीचमा यौन सम्पर्क राख्ने स्वतन्त्रता भए पनि श्रीमतीको इच्छा विपरीत श्रीमान्ले जबर्जस्ती यौन सम्पर्क गरेमा पनि बलात्कार मानिन्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ ।

प्रत्येक व्यक्तिको सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउने अधिकार छ । यो अधिकारको हनन गर्दै कसैले अर्को व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हिंसा हो । हालैका दिनमा यस्ता हिंसाका घटनाहरु समाचार माध्यममा आइरहेका छन् । त्यसमा पनि बलात्कार जस्तो जघन्य प्रकृतिको हिंसाले व्यापकता लिइरहेको हालैका दिनमा घटेका घटनाहरुको उदाहरणबाट हेर्न सकिन्छ । निर्मला पन्त प्रकरण होस वा रुपन्देहीको देवदहमा भएको पाँच वर्षीया अबोध बालिका माथिको हिंसा । समाजमा यस्ता किसिमका घटनाहरु बढिरहनुले हाम्रो समाजको विकासमा चुनौती थपिएको छ ।
हालै मात्र लैङ्गिक हिंसा विरोधी १६ दिने अभियान सम्पन्न भएको छ । नेपालमा २०५४ सालबाट यो अभियान थालिएको हो । अहिले पनि सरकारी र गैरसरकारी तबरबाट धेरै कार्यक्रमहरु भए । यसले समाजमा जनचेतना ल्याउन सघाउ पु¥याएको छ । तर समाजमा यस्ता प्रकृतिका घटनाहरु घटिरहेका छन् । दिनहुँजसो कहिले महिलाले बच्चासहित आत्मा हत्या गरिन्, कहिले बलत्कार भयो, कहिले दाइजोको नाममा हिंसा भयो भन्ने जस्ता सामाचारहरू दिनहुँ सञ्चार माध्यममा आइरहेका हुन्छन् । वर्तमान समयमा बिहान घरबाट काम विशेषले बाहिर हिंडेका छोरी, बुहारी घरमा नआउदासम्म उनीहरू सकुशल घर आउँछन् की आउँदैनन् भन्ने शंका धेरै परिवारमा उब्जिइरहेको छ ।
महिला र पुरुष एउटै समाजका अङ्ग हुन् । यी दुईको मिलनबाट समाजको निर्माण भएको छ । समाजलाई व्यवस्थित तरिकाबाट अगाडि लैजानको लागि महिला र पुरुष दुबैको समान भूमिका रहेको हुन्छ । तर बिडम्बना आजकल दिनहुँ समाचार माध्यममा छाउने महिला हिंसाका घटनाहरूले महिलाहरू किन असुरक्षित छन ? किन दिनहुँ हिंसाको शिकारमा पर्न बाध्य छन ? कसरी यस्ता घटनाहरूमा कमी ल्याउन सकिन्छ ? महिलाहरू सुरक्षित रहन के गर्नु पर्ला ? यसमा दोषी को ? विश्वमा नै महिला हिंसाका घटना बढ्नुको कारण के होला ? महिलाहरू कसबाट बढी असुरक्षित छन् त ? यसमा कमी ल्याउन के गर्नु पर्ला ? जस्ता थुप्रै प्रश्नको भारी थोपरिएको छ । विश्वमा जनसंख्याको आधारमा आधाआधिजसो रहेका महिला र पुरुषमा महिलाहरू किन दिनहुँ हिंसामा पर्ने गरेका छन् ? आफ्नो कामको सिलसिलामा बाटोमा हिंड्दा हिड्दै बलात्कृत हुन्छन् । कुटपिटमा पर्दछन् या अन्य यातना खेप्न बाध्य पारिन्छन् भने कहाँ सुरक्षित छन् त महिला ? विवाह गरेर लोग्नेको घरमा गएका महिलाहरू त्यही विभिन्न निउँमा कुटपिट वा यातना खेप्न बाध्य हुन्छन् भने सुरक्षित कहाँ छन् त ? सन्तान जन्माएकी आमा सन्तान र आफ्नो असुरक्षाको अवस्था देखेर बच्चाको हत्यासहित आत्मा हत्या गर्न बाध्य छन् त्यसको जिम्मेवार को रहने ?
वर्तमान समयमा महिलाहरू नेपालमा मात्र नभएर विश्वका धेरै ठाउँमा विभिन्न किसिमको हिंसामा पर्ने गरेको तथ्य हाम्रो सामु विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भइरहेका छन् । यसमा कतिपय अवस्थामा महिलाहरू नै दोषी रहे पनि धेरै अवस्थामा भने तेस्रो पक्ष जिम्मेवार रहन्छ । यसका धेरै कारण र प्रकारहरू मध्ये केही निम्नानुसार रहेकाछन् ।
१. बलत्कारः
महिलाको इच्छा विपरीत, करकापमा पारी वा बलप्रयोग गरी यौन सम्पर्क गर्ने कार्यलाई बलत्कार भनिन्छ । श्रीमान् श्रीमती बीचमा यौनसम्पर्क राख्ने स्वतन्त्रता भए पनि श्रीमतीको इच्छा विपरीत श्रीमान्ले जबरजस्ती यौन सम्पर्क गरेमा पनि बलत्कार मानिन्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ । १६ वर्ष भन्दा कम उमेरका महिलाको मञ्जुरीमा नै यौन सम्पर्क राखे पनि त्यसलाई बलत्कार मानिन्छ । यो महिला हिंसामा यौनजन्य हिंसा हिंसाको प्रमुख कारण हो । यस्ता हिंसा हुनुमा कतिपय अवस्थामा महिलाकै भड्किलो पनले प्रभाव पारे पनि यसको प्रमुख जिम्मेबार पुरुषहरू हुन्छन् । उनीहरूले आफ्नो यौन संयमतालाई नियन्त्रण गर्न नसक्दा दिनहुँ बलात्कारका घटनाहरू घट्ने गरेका छन् ।
२. कुटपिटः
महिलाहरूको गल्ती बिना नै विभिन्न बहानमा महिलाहरू माथि गरिने हातपात (पिट्नु, लठ्ठिले हिर्काउनु, लुछ्नुु) लाई कुटपिट भनिन्छ । यो महिला हिंसाको अर्को कारण हो । यसमा कतिपय अवस्थामा महिला दोषी भए पनि पुरुष प्रधान समाजको सोंचको कारण महिलाहरू यस्तो हिंसामा धेरै पर्ने गरेका छन् ।
३. दाइजो प्रथा ः
महिला हिंसाको अर्को प्रकार दाइजो प्रथा हो । विवाहमा दाइजो नल्याएको वा कम ल्याएको निहुँमा दिनहुँजसो महिलाहरूले घर परिवार वा आफन्तहरूबाट हिंसा खप्नु परिरहेको अवस्था छ । दाइजोले महिलालाई एक वस्तुको रूपमा तुलना गरेको अवस्था छ । तसर्थ महिलाहरू वस्तु हुनबाट बच्नको लागि आत्मनिर्भर बन्नु र विवाह गर्दा दाइजो रहित विवाह प्रथाको थालनी गर्नु आवश्यक छ । युवा सोंचमा विवाह गर्दा दाइजो बहिस्कार अभियानको थालनी भएमा यस्तो घटनामा कमी आउनेछ ।
४. गर्भपतन ः
गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गरेर गर्भपतन गराउनु जघन्य प्रकारको महिला हिंसा हो । यसले ठूलो सम्भावना बोकेर पृथ्वीमा अवतरण गर्नलागेको शिशुलाई संसारकै स्वरूपदेख्न नपाइकिन समाप्त हुन्छ । यसमा स्त्री शिशुको भ्रूण समाप्त पारिने काम बढी पर्दछ । यस्तो प्रकारको गर्भपतन महिलाले खासमा आफूले चाहेर भन्दा पनि परिवार वा लोग्नेको दबाबमा आएर गर्ने गरेको देखिन्छ । छोरा र छोरीलाई समान रूपमा हेर्नु र सोंचमा परिवर्तन ल्याएर महिला हिंसामा कमी ल्याउन सकिन्छ । गर्भपतनले एकातर्फ महिलाको शारीरिक अवस्थामा कमजोरी पना ल्याउँछ भने अर्कोतिर मानसिक पीडा पनि थप्दछ त्यसर्थ यो महिला हिंसाको एउटा कारण हो ।
५. बालविवाह र बहुविवाह ः
सानै उमेरमा विवाह गर्नु बालविवाह हो भने एक भन्दा धेरै श्रीमती विवाह गर्नु बहुविवाह हो । यो पनि महिला हिंसाको कारण हो । सानै उमेरमा विवाह गर्दा महिलाहरू शारीरिक, मानसिक र सामाजिक रूपमा परिपक्व भइसकेका हुँदैनन् । उनीहरूले दैनिक जीवन यापनको लागि गर्नु पर्ने सामान्यभन्दा सामान्य काम पनि गर्न नजानेको अवस्था हुन्छ । त्यसैले महिलाहरूलाई यही कारण बनाएर हिंसा गर्ने गरेको पाइन्छ । त्यसै गरी एउटै केटा मान्छेले एक भन्दा बढी श्रीमतीहरू ीववाह गरेर पनि महिला हिंसा गरिरहेको हुन्छ । बहुविवाहले विशेषगरी महिलाहरूलाई मानसिक हिंसामा बढी पार्ने गरेको हुन्छ । शारीरिक हिंसाको अवस्था पनि कमी हुँदैन । यसमा कमी ल्याउनको लागि महिलाहरू शारीरिक, मानसिक, आर्थिक, शैक्षिक, सामाजिक हैसियतमा परिपक्व भइसकेपछि एकनिष्ठ विवाह गर्नु जरुरी छ ।
त्यसै गरी महिला हिंसाका अन्य प्रकारहरूमा केटी जिस्क्याउने, अश्लील शब्दहरू प्रयोग गर्ने, खराब नियत राखेर महिलाको शरीर छुने, खराब नियत राखेर महिलाहरूसँग यौनजन्य कुराकानी गर्ने आदि जस्ता महिला हिंसाका प्रकार वा कारणहरू रहेका छन् ।
नेपालमा जनसंख्याको आधारमा जनगणना २०६८ को नतिजा अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या ७ लाख ९६ हजार ४ सय २२ बढी छ । त्यसैले जनसंख्याको आधारमा महिलाहरू पुरुषहरू भन्दा शक्तिशाली छन् । तर व्यावहारतः महिलाहरूको अवस्था निकै पछाडि रहेको छ । आफ्नो नाममा घर जग्गाहुने महिलाको संख्या १९.७१ प्रतिशत मात्रै रहेको छ । परिवारको मुली महिला रहेको परिवार संख्या २५.७३ रहेको छ । नेपालमा रहेका ७५३ स्थानीय तह मध्ये ७३५ स्थानीय तहमा पुरुष प्रमुख (मेयर वा अध्यक्ष) र जम्मा १८ तहमा मात्र महिला प्रमुख (मेयर वा अध्यक्ष) रहेका छन् भने उप प्रमुखमा ५३ पुरुष र ७०० जना महिला रहेका छन् । यो तथ्याङ्कबाट महिलाहरूको उपस्थिति निर्णायक तहमा कम छ । वर्तमान अवस्थामा महिलाहरू आर्थिक, राजनीतिक, समाजिक हैसियतमा निकै पछाडि रहेको कारणले गर्दा बढी मात्रामा हिंसामा पर्ने गरेका हुन् । निर्मला काण्ड होस कि रुपन्देहीको अबोध बालिका काण्ड नै किन नहोस् । घटना जहाँ सुकै घटोस् त्यो जघन्य अपराध हो । अपराधीलाई अक्षम्य कारवाही हुनुपर्दछ । महिलाहरू विश्वकै जुनसुकै ठाउँमा नै किन नहुन आफ्ना दैनिक जीवनयापनका कामहरू निर्धक्कसँग बिना डर त्रास गर्न पाउनु पर्दछ ।
विश्व एकग्राम बनिरहेको वर्तमान समाजका दुई प्रमुख अङ्ग महिला र पुरुष दुबै समाजरूपी एकै रथका दुई पाङ्ग्रा हुन् । महिला एउटा पाङ्ग्रो हो भने पुरुष अर्को पाङ्ग्रो हो । दुबै पाङ्ग्राको समान अवस्था रहेमा मात्र सामाजिक रथ समानान्तर गतिमा दौडिन सक्छ । एउटा पाङ्ग्रो कमजोर भएमा समाजिक रथ समानान्तर गतिमा दौडिन सक्दैन । एक पक्षलाई दबाएर वा हिंसामा राखेर समाजलाई अगाडि लैजान सकिदैन । हिंसा महिला होस् वा पुरुष कुनै पनि हुनुहुँदैन । तर पनि महिला भएकै कारणले अहिले नेपाल, भारत लगायतका विभिन्न स्थानमा भइरहेका घटनाहरू आगामी दिनमा घट्नु हुँदैन । त्यसको लागि विश्वमा नै कडा कानुन बनाएर पीडित पक्षालाई न्याय र पीडक पक्षलाई कडा भन्दा कडा कारवाही होस । आगामी दिनमा महिला हिंसाका घटनाहरू देख्न, सुन्नु र भोग्नु नपरोस् । आम महिलाले निर्धक्कसँग आफ्नो जीवनयापन गर्ने अवस्थाको सिर्जना होस । कुनै पनि महिलाले म महिला भएकै कारणले गर्दा असुरक्षित छु भन्ने सोचाइ बोकेर समाजमा पाइला चाल्नु नपरोस । महिला हिंसाको सदैको लागि अन्त्यहोस् । समाजमा हिंसको भय नरहोस र समज विकास गतिशील रुपमा अगाडि बढोस ।
[email protected]

ताजा अपडेट
सम्बन्धित समाचार