बालबालिकाहरूको संरक्षण र संवद्र्धन गरौं

हालैका केही समयमा बालिकाहरूको बलात्कार र हत्या गर्ने क्रम बढेर गएको छ । यो दुःखद पक्ष हो । बालबालिकाहरूको संरक्षण तथा संवद्र्धन गरिनु पर्छ । शरीरमाथि आफ्नो हक र अधिकार सुरक्षित हुनुपर्छ । मानव आफ्नो ज्ञान, विद्या, बुद्धि, विवेक,संवेदनशीलता, दया, माया, करुणा, सद्भाव जस्ता गुणका कारण प्राणी जगतमा सर्वोत्कृष्ट प्राणी कहलाउँछ । तर, विडम्बना के छ भने एक्काइसौं शताब्दीमा आएर पनि मानव दानवीय प्रवृत्तिमा संलग्न छ । हत्या, हिंसा, आतंकवाद, लुटपाट, आगजनी, अपहरण, चोरी, डकैती, बलात्कार जस्तो दुष्कृत्यमा संलग्न छ । नसा गरेर, कुसंगतमा परेर, नैतिक सुदृढ चरित्रको अभावमा विशेष गरेर पुरुषहरू अनैतिक कृयाकलपामा संलग्न छन् । केटाहरूलाई सानैबाट घरबाट नै मातापिताले उच्च नैतिक संस्कार दिनु जरुरी छ । रोग, भोक, अशिक्षा, चेतनाको पिछडिएको समाज, दुर्गम भूभाग,धार्मिक अन्धविश्वास, छोरीभन्दा छोरालाई बढी महत्व दिने मानसिकता, बहुविवाह, बालविवाह जस्ता कारणले आज पनि समाजमा जरो गाडेको छ । यो पंक्तिकार पनि पाल्पाको पहाडी दूर्गम गाउँमा जन्मिएको होे आजभन्दा ६९ वर्ष अघि । त्यसबेला पहाडका गाउँघरमा ‘छोरो पाल्नु मत्याएर, छोरी पाल्नु अत्याएर’ भन्ने चलन व्यापक थियो । पहाडमा आम नागरिकहरू कृषि र पशुपालन गरेर आफ्नो आजीविका चलाउँछन् । परिवारका सबै सदस्यहरूले मिलेर सक्दो सेवा परिवारलाई दिनुपर्छ । दिइन्छ पनि । यस पंक्तिकारको घर बुटवल बहुमुखी क्याम्पस नजिक छ । गरीब छात्रछात्राहरूलाई पढ्न सुविधा होस् भने स–साना कोठाहरू बनाएर २०२८ सालदेखि सस्तो मूल्यमा कोठाहरू दिंदै आएको छ । अमूल्य ४७ वर्षहरू बिते आज पनि छात्र छात्राहरू बस्छन् ,पढ्छन् ।
यो पंक्तिकारले बाल्यावस्थामा सन् १९५८ देखि सन् १९६८ सम्म भारतमा बसेर अध्ययन गरेको हो । त्यहाँ भारतका मातापिताहरूले आफ्ना छोराछोरीहरूलाई कडा अनुशासनमा राखेर पढाउने गर्थे । अचम्म । यहाँ एस.एल.सी. गरेपछि छात्रछात्राहरू आफै एक्लै उच्च शिक्षा आर्जन गर्न बुटवल आउँछन् । कुनै पनि मातापिता वा अभिभावकले लिएर आएर कोठाको धारापानीको, खानपिनको, पठनपाठनको चाँदोपाँचो मिलाई दिने गरेको पाइएन । यो त्रुटिपूर्ण कार्यशैली यहाँ छ । त्यसैले गाउँघरका किशोर किशोरीहरूलाई सहरको वातावरण र हावापानी, संगतले बाटो बिराउन सक्ने प्रबल सम्भावना रहेको पाइन्छ । यस पंक्तिकारले कैयनपटक त्रुटिपूर्ण कार्यशैली, बोलीबचन, व्यवहारगर्ने छात्रछात्राहरूलाई अभिभावक बनेर अनुशासनमा राख्ने सत्प्रयास गरेको छ । ४७ वर्षको समयमा १५–२० छात्राहरू मात्र आए । उनका पिताले “छोरीले क्याम्पस पढ्छे भनेपछि विवाह गराउन सजिलो पर्छ भनेर ल्याएको ” भन्थे । प्रायः सबै छात्राहरूले शिक्षा अधुरै छाडेर विवाह गरे भनौं विवाह गर्न बाध्य पारिए । यसरी छोरीहरू माथी अन्याय गरिन्छ । ‘‘यत्र नार्यस्तु पुज्यन्ते रुमन्ते तत्रः देवता’’ मनुले लेखेका छन् । जहाँ नारीहरूको सम्मान हुन्छ, त्यहाँ ईश्वरको पनि बास हुन्छ । नेपालमा रक्सी खाएर पत्नीमाथि हिंसा गर्ने पुरुषहरूको अभाव छैन ।
नेपालमा ४ वर्षदेखि ९० वर्षका वृद्धासम्म यौन हिंसाको शिकार हुने गरेका छन् । बलात्कारपछि सबुत मेटाउन पीडकहरूले पीडितको हत्या समेत गर्ने गरेका छन् । उच्चपदस्थ नोकरशाह, नेताको पहुँच भएका छोराहरूको जघन्य दुष्कृत्यको शिकार बन्छन पोखराकी सुमिता, नमिता कञ्चनपुरकी पन्त । फक्रिन नपाउँदै निमोठिएर,कुल्चेर फालिन्छन् कोपिलाहरू यहाँ । उच्छृङ्खला, दण्डहीनता फस्टाएको छ । छाडातन्त्र मौलाएको छ । यसतर्फ सरकार गम्भीर हुनुपर्छ । जस्तो सुकै पहुँचवाला भएपनि अपराधीहरूलाई छाड्न हुन्न । कानुनको सम्मान गर्ने भावना प्रत्येक मानिसको मन, मस्तिष्कमा हुनुपर्छ । पहाडमार गाउँघरमा प्रत्येक घरमा सकेको काम परिवारका सबै सदस्यहरूले गर्छन् । यसबाट बालबालिकाहरूमा सहकार्य गर्ने भावना फस्टाउँछ । परिश्रम गर्ने बानी, अनुशासन, आज्ञाकारिता मौलाउँछ । तर, सहर बजारको आकर्षणमा बाँधिएका गरिब परिवारका बालबालिकाहरू श्रम शोषणको शिकार बनेका छन् ।
नेपाल सरकारले सन् २०२० सम्ममा बाल श्रम शोषणको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । संयुक्त राष्ट्र संघले सन् १९८९ मा बालअधिकार सम्बन्धी महासन्धि पारित गरेपछि विश्वमा बालअधिकारको संरक्षण र संवद्र्धन गर्ने लहर नै चलेको पाइन्छ । नेपालले उक्त बालअधिकार सम्बन्धी महासन्धि १४ सितम्बर सन् १९९० मा अनुमोदन गरेको (२९ भाद्र २०४७) पावन दिन पारेर प्रत्येक वर्ष भाद्र २९ गते बाल दिवस मनाउने गरेको छ । २९ भाद्र २०७५ का दिन नेपालले बाल दिवस मनाउन शुरु गरेको २८ वर्ष पुगेर २९ औं वर्षमा प्रवेश गरेको छ । यसअघि मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको जन्ममिति पारेर भाद्र ४ गते बालदिवस मनाइन्थ्यो । नेपालका सबै बालबालिकाहरूको संरक्षण र संवद्र्धन गर्न बालबालिकाहरूको हक र अधिकारको प्रत्याभूति नेपालको नयाँ संविधान ‘नेपालको संविधान–२०७२’ को भाग ३ को धारा ३९ मा क्रमबार सुव्यवस्था गरिएको छ । धारा ३९ को उपधारा (१) मा भनिएको छ – ‘प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुनेछ ।’ उपधारा (२) मा लेखिएको – ‘प्रत्येक बालबालिकालाई परिवार राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गिण व्यक्तित्व विकासको हक हुनेछ ।’ उपधारा(३) मा लेखिएको छ – ‘प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।’ उपधारा (४) मा लेखिएको छ – ‘कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।’ उपधारा (५) मा लेखिएको छ– कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।’ यस्तै उपधारा (६) मा लेखिएको छ – ‘कुनै पनि बालबालिकालाई सेवा, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा साँस्कृतिक वा धार्मिक प्रचलनको नामा कुनै पनि माध्यम वा दुव्यवहार, उपेक्षा वा शारीरिक वा मानसिक वा यौनजन्य वा अन्य कुनै पनि प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।’ उपधारा (७) मा लेखिएको छ – ‘कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मनसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।’ उपधारा (८) मा लेखिएको छ ‘प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ ।’ उपधारा (९) मा लेखिएको छ – ‘असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित विस्थापित एवम् जोखिममा परेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।’ उपधारा (१) मा लेखिएको छ – ‘माथिका उपधाराहरू (४) (५) (६) (७) विपरितका कार्य कानुन बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कर्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।’
यसरी संविधानले बालअधिकारको संरक्षण र संवद्र्धन गर्ने सत्प्रयास लिखित रूपमा गरेको पाइन्छ । यसको सफल, व्यवहारिक प्रयोग भए मात्र बालबालिकाको सही संरक्षण र संवद्र्धन हुनेछ । लिखितको व्यवस्था मात्रले खासै केही उपलब्धि हासिल हुन्न ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार