बिरामी उपचारको १२ लाख मिनाहा

कपिल ज्ञवाली/ बुटवल । उपचार बापतको १२ लाख रूपैयाँ तिर्न नसकेपछि अस्पतालमै बन्धक बनाइएका सुरज विकले ढिलै भए पनि न्याय पाएका छन् । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विकले जेनस अस्पताललाई तिनुपर्ने बापतको रकम मिनाहाका लागि अस्पताललाई निर्देशन दिएका थिए ।
अस्पतालले आफ्नो बेड संख्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने प्रावधानलाई टेकेर मन्त्रीले सो निर्देशन दिएका थिए । बरालले अस्पतालले गरेको उपचार र अहिलेसम्मको विवरणसहित अस्पताललाई मन्त्रालयमा हाजिर गराएका थिए । ‘अस्पतालको विवरण हेरेपछि कूल बेडको १० प्रतिशत बेडको बिरामीलाई छुट नदिएको पाएँ, यो नीति कार्यान्यन शुरुवात हो’, बरालले भने– ‘अस्पतालले राम्रो कामको थालनी गरेकोमा धन्यबाद दिन्छु ।’
मन्त्री बरालले बुटवलको जेनस अस्पताललाई भविष्यमा यस्तो गल्ती नदोहो¥याउन पनि अस्पताललाई निर्देशन दिएका हुन् । अस्पतालले संचालन अनुमति लिनेबेला १० प्रतिशत छुट अनिवार्य गर्नुपर्ने प्रावधान रहेको छ । बिहीबार सामाजिक विकास मन्त्रालयमा मन्त्री, अस्पताल प्रशासन र स्वास्थ्य महाशाखाका अधिकारीहरूका बीचमा सम्झौता कार्यान्वयन गर्ने र अस्पतालले पनि बिज्ञप्ती निकालेर उपचार बापतको १२ लाख रूपैयाँ सुरजबाट नलिने घोषणा गरेको हो । मन्त्रालयले नीजि हस्पिटलहरूले प्रावधान अनुसारको उपचार गरे वा नगरेको बारेमा मन्त्रालय कडाइका साथमा अघि बढ्ने मन्त्री बरालको भनाइ छ ।
अस्पतालकी सञ्चालक डा. शारदा सिंहले अबदेखि १० प्रतिशत उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएकी छन् ।
‘हामीले मापदण्ड र सबै प्राबधान अनुसार नै अघि बढ्छौ, सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छौं’, उनले भनिन् ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले सहमतिका लागि अस्पताल सकारात्मक रूपमा अघि बढेको बताए ।
‘मन्त्रीज्यूको पहलमा मेरो रकम छुट भएकोमा म खुसी छु मेरो घरमा पूजा भएकाले मन्त्रालयको मिटिङमा आउन सकिन,’ उनले फोनमा भने । मोटरसाइकल दुर्घटनामा परेपछि ०७४ जेठ १४ गते बुटवलको जेनस अस्पताल भर्ना भएका नवलपरासी भर्तापुर–१, मिठ्ठाका २२ वर्षिया सुरज विक उपचार शुल्क तिर्न नसकेपछि अस्पतालमै राखिएका थिए र उनलाई भदौ १५ गते शुक्रबार उद्धार गरी घर फर्काइएको थियो । बाँकी पैसा अस्पताललाई तिर्ने कागज गराएर विकलाई घर फर्काइएको थाहा पाएपछि मन्त्रालयले सो कदम चालेको हो । विक परिवारको सबै सम्पत्ति बेचे पनि १२ लाख नपुग्ने अवस्था रहेकोले सञ्चारमाध्यमको सहयोगमा उनको उद्धार सम्भव भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार