वैभवमाथि बाढीको वितण्डा

कतिपय नेपालीलाई लाग्छ होला, जो विहार र उत्तरप्रदेश कटेर अलि पर गएका छैनन्‘लाई भारत भनेको त्यही र त्यत्ति मात्रै होला । हैन, हैन । महाभारत छ भारत । सिङ्गै युरोप बराबर र उस्तै विविधताले भरिपूर्ण । जति प्रदेश छन्, उतिनै भेष, भाषा, सँस्कृति, खान–पान, र रहन–सहन छन् त्यहाँ । धेरै सभ्य, सुसँस्कृत, सुशिक्षित र सम्पन्न राज्य पनि छन् । केरला दक्षिणपूर्वी राज्य हो त्यही भारतको । जसलाई एशियाको युरोप पनि भनिन्छ, मानिन्छ । आजभन्दा पचास÷साठीवर्ष पहिलैदेखिको शतप्रतिशत शिक्षित हो त्यो राज्य । शिष्टता र शालीनतामा विशिष्ठता हासिल गरेको राज्य भने पनि हुन्छ । तीनदशकसम्म कम्युनिष्ट सरकार चल्यो । हो, त्यही राज्यमा गत साउनको अन्त्य र यही भदौको पहिलो हप्ताभरि बाढीले वितण्डा मच्चायो । करिब ५ सयजना मलयालीले अकालमै ज्यान गुमाए र १५ लाख जति विस्थापित हुनाले उद्धार शिबीरमा बस्न बाध्य भए । यस्ता दुःखद समाचार सुन्दा आङ् सिरिङ्ग भयो । धन्न छिटै आइएछ, भन्ने लाग्यो । गत साउन ११ (जुलाई २७) गते परेको यो वर्षको पहिलो चन्द्रग्रहणका बेला रामेश्वरममा थियो हाम्रो पौनेदर्जन जति नेपालीको टोली । हाम्राजस्ता नेपाली टोली अरू पनि थिए धेरै । त्यसपछिको एकहप्ता उतै बित्यो । कन्याकुमारी र त्रिवेन्द्रम(केरलको राजधानी)तिर घुम्दा र फर्कने रेल कुर्दा । अलिकति पनि ढिलो हुन गएको भए, फँसिने रहेछ, त्यही बाढीमा ।
साउन १४ (जुलाई ३०) गते बिहान कन्याकुमारीबाट त्रिवेन्द्रम आउँदाखेरी नै सीमसीम पानी परेकै थियो । त्यही झरीमै पनि घुमियो त्रिवेन्द्रम् । ३० वर्ष पहिले पुग्दाको कोभल्लम बीचको त्यो बालौटे बगर, जहाँ विदेशीहरू नाङ्गै लडीबुडी खेल्थे, पुरै हराभरा भएछ अहिले । त्यतिखेर एउटा मात्र अशोक तटबिहार नामक पाँचतारे होटल थियो । जसलाई हेरेर रक्केष्टल होटल बञ्जराहिल्स हैदराबादको याद आउँथ्यो । पहरै पहराका बीचका खोच र टुप्पामा हुनाले । अहिले धेरै भएछन् र अतिक्रमणको शिकार भएजस्तो लाग्यो समुद्र पनि । समुद्रकै छालसँग रमाउन पाइने बाग बगंैचा र बोटिङ्ग(जलबिहार)को आनन्द लिने ठाउँ बढेछन् । चाहे जता गए पनि पकेटमारी होला, लुटिन र ठगिन पर्ला भनेर डराउन नपर्ने । शान्त र सभ्य । भड्किलो र उत्ताउलोपन कतै देख्न नपाइने । जुनसुकै पर्यटकीय स्थलमा जाँदा र बजारमा डुल्दा वा घुम्दा पनि नग्नतामा मग्न थिएन । भद्रताभित्रको अभद्रता नियाल्न खोज्नु छुद्रता होला । कथित आधुनिक फेसन र दुव्र्यसनको दुर्गन्ध देखिएन । महिला र पुरुषहरूमा नाङ्गिने र बाङ्गिने प्रतिस्पर्धा गरेको देख्न पाइएन । बाग् बगैंचामा निर्मित कलात्मक कृतिमा महिलाहरूका शारीरिक सौन्दर्य एवं पर्यटक आमन्त्रणका चित्ताकर्षक र उत्तेजक प्रस्तुतिलाई हेर्ने र अथ्र्याउने आँखा आ–आफ्नै होलान्, हुन्छन् । खजुरा हो र कोणार्कको मन्दिरलाई जुन रूपमा लिन पनि सकिन्छ । चट्याङ्बाट बचाउनका लागि निर्मित, मन्दिरका टुँडालमा कुँदिएका अनगिन्ती यौन आसन र कलाका चित्रलाई हेरेर कात्तिके कुकुरको सम्झना गर्ने कि तत्कालीन कलाको तारिफ ? हेर्ने र सोच्नेका आँखामा भर पर्छ ।
विकास र व्यवस्थापनमा अब्बल केरलामा रेलबाट होस् वा अन्य सवारी साधनमा जताजाँदा पनि हरियै देखिनु र नाङ्गा बगर नभेटिनुमा वर्षात्(मनसुन)को मौसम भएर मात्र हैन रहेछ । ११ महीना पानी परिरहने हुनाले मौसमानुसारका मसलाको उत्पादन खुबै गरिने रहेछ । समथर भू–भाग, माथिमाथि सबै नरियलका बोट, त्यसमुनि केराका घारी र तल भुँइमा मसलाको उत्पादन । एउटै जमिनबाट एकै पटकमा त्यसरी हुने रहेछ तीनथरि खेती, तब पो हुन्छ उन्नति र समृद्धि । नरियल, केरा र मर–मसला, केरलाका मुख्य उत्पादन रहेछन्, निर्यात् गरिने । खाली जमिन कतै देख्न नपाइने । धान रोपाई पनि ठ्याक्कै हाम्रैजस्तो । अनि भारतका सर्वश्रेष्ठ प्रशासक, योजनाविद, भूगर्भविद, वैज्ञानिक, प्राविधिक, चिकित्सक, कूटनीतिज्ञ आदि विश्वभरिका सम्पन्न र विपन्न मुलुकमा छरिएकाहरूमध्ये आधाजति केरलाका मात्रै होलान् । त्यस्तो वैभवता र समृद्धिले सम्पन्न राज्यलाई पनि प्रकृतिले स्थिर हुन दिएन, सहेन । अस्थिर र विपन्न बनाउन मूसलधारे वर्षा झा¥यो, बाढीको वितण्डा पठाएर अप्ठ्यारोमा प¥यो । शताब्दीकै ठूलो वर्षा र बाढी हो रे त्यो । प्रकृति पनि कति निष्ठूर र क्रूर हुन सकेको हो, कुन्नि ! तर अरूजस्तो राज्य हैन केरल, सम्हालिन्छ छिट्टै । किनकि त्यहाँ धेरै बदमासी हुँदैन, हुँनै दिइदैन, हुने सम्भावना पनि छैन । मानवीय र सहयोगी भावनाले ओतप्रोत छन् सबै । व्यवस्थापकीय क्षमता पनि छ उत्तिकै । भ्रष्टाचार नभएपछि सुधार्न त्यतिधेरै समय लाग्दैन । उद्यमी, मेहनती, इमान्दार र परिश्रमी छन् सबै ।
बिहार र उत्तरप्रदेश त भारतका सबभन्दा बढी जनसँख्या भएका र बदनाम राज्य हुन् । नेपालका दक्षिणी छिमेकी परे । आँठ र साँध जोडिएको छ । अनि त्यहाँका फोहर र कचडाजति नेपालतिर छिरे र पिर्नुसम्म पीरे । पीडाले थला परेका नेपालीमा कालो छाला देख्दा वित्तिकै हेर्ने नजरमा पनि भ्रम पर्न गएको छ । त्यही भ्रमको सिकार तराई÷मधेसी मूलका नेपालीहरू पनि हुनपर्दा पहाडी मूलका नेपालीले हामीलाई हेपे, चेपे भनेका हुन् । अनुहार उस्तै हुँदैमा व्यवहार पनि नभए हुन्थ्यो । तर भाषा, भेष र सँस्कृतिले तान्दो रहेछ । गोरखपुर र छपराबाट छिरेकालाई आफ्नो ठान्ने र आफ्नै देशको पहाडबाट अलिकति तल झरेकालाई पराई मान्ने । परवेज टाँडा र मिर्जादिलशाद बेगहरू मधेसी हुने र मानिने, तर पुस्तौंदेखि मधेसमा बसेका पौडेल, पोख्रेल, नेपाल, पन्थी, पराजुली, देवकोटा, अर्याल आदि थर भएका बाहुन र क्षेत्री, ठकुरी, मगर, गुरुङहरू मधेसीमा नगनिने ? द्वन्द्वको खेती गर्नेका लागि मलिलो भयो यो विभाजन । त्यसैमा मलजल गरेर मालामाल हुनेहरू मौलाएका छन्, डलर फलाएका छन् । यदि नेपालको दक्षिणी छिमेकमा बिहार र उत्तरप्रदेशका बदलामा भारतकै केरलजस्तो सुसभ्य र सुसम्पन्न राज्य पथ्र्यो भने नेपालको तराईको स्तर धेरै माथि हुन्थ्यो, जहाँ पुग्न अझै कति दशक लाग्ने हो थाहा छैन ।
त्यही भारतको उत्तरी सीमामा पर्ने विहार र उत्तरप्रदेशमा आउने रेल दक्षिणबाट छुट्दा कति उपेक्षित, अपमानित र अपहेलित रहेछ भनेर बुझ्न चाहेमा आफै भोग्न पाइन्छ यात्रा गर्दासाथ । केरल, कर्नाटक, तामिलनाण्डु, आन्ध्राप्रदेशतिर चल्ने स्थानीय(लोकल) रेलमा घुस्दा वित्तिकै जति शान्त, सफा र शिष्ट व्यवहार भोग्न पाइन्छ, उत्तिकै असभ्य, अस्लील, अशान्त, छाडा, अराजक, अस्तव्यस्त, फोहर र दुर्गन्धित हुन्छ गोरखपुर आउने रेल । राप्तीसागर सुपरफाष्ट एक्सप्रेस रेल केरलको राजधानी त्रिवेन्द्रमबाट छुटेर गोरखपुर आउँछ हप्तामा ३ पल्ट र यता गोरखपुरबाट पनि जान्छ त्यता । साउन ६ (२२ जुलाई) गते विहान गोरखपुरबाट छुट्ने त्यही रेल २३ घण्टासम्म ढिलो चल्नाले तिरूपतिका लागि छुट्ट्याइएको हाम्रो समय सकियो । त्यो रेलमा दक्षिणतिरका मान्छेहरू कमै यात्रा गर्दा रहेछन् । बिहारी, उत्तरप्रदेशी र नेपाली यात्रुले भरिने त्यो रेललाई नेपालका तराईबाट काठमाण्डौतिर भैंसी ओसार्ने ट्रकजस्तो ठान्दा रहेछन् दक्षिण भारतका बासिन्दाले । मान्छे र जनावरमा अन्तर भेट्नै गाह्रो राप्तीसागरभित्र । दक्षिणतिरका पेसेञ्जर रेलले बुझेको समयको महत्व, शिष्टता र सफाईका बारेमा सिक्नका लागि उत्तरप्रदेश र विहारलाई दशकौं लाग्छ । नेपालका बारेमा त कुरै गर्न पर्दैन । बल्ल त अहिले रेलको खेल चलेको छ । लीक बनेर चल्ने र चढ्न पाइने हो कहिले, किन र के लेख्ने हो अहिले ?
तर एउटा कुरामा भने गज्जबको प्रगति भएछ । उत्तर प्रदेश र विहारका मान्छेहरू आधाजति शान्त भएको र चुप लागेको पनि देख्न पाइने रहेछ यदाकदा । मोबाइल फोनलेचाहिँ कमालै गरेछ । रेलमै बेट्री चार्ज गर्ने प्लग हुनाले राप्तीसागर सुपरफाष्ट एक्सप्रेसमा यात्रा गर्नेहरूमध्ये आधाजतिलाई मोबाइलले ठेगान लगाई दिएछ । इयरफोन कानमा लगाएर फिल्म हेर्ने, गीत सुन्ने, कुराकानी र च्याट गर्नेहरू बढेछन् । नत्र तीनदिन बिताउन पनि प्रलय हुन्थ्यो त्यो रेलमा । रिजर्वेशन गरेको डब्बाभित्रको त्यो उकुस्मुकुस् र ठेलम्ठेलमा ।
भारतमा चल्ने अरू रेलमा नियम कानुन लागे पनि उत्तर प्रदेश र बिहारतिर आउने र त्यहाँबाट जानेमा लाग्दो रहेनछ । छुट दिएजस्तो लाग्यो, लाग्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार