नेपाली हिन्दू नारीहरू तथा तीज पर्व : एक परिचर्चा

मानव सभ्यताको विकाससँगै विभिन्न जात–जाति समूहहरूमा आ–आफ्नै किसिमको मनोरञ्जन गर्ने, चाडपर्व मान्ने, तथा खानपिन गर्ने बानीको विकास भएको पाइन्छ । हाम्रो मुलुक आर्थिक दृष्टिकोणले अन्य मुलुकको तुलनामा धेरे पछि परेतापनि सभ्यता, संस्कृति, तथा चाडपर्व मान्ने तथा मनाउने सन्दर्भमा विश्वमा नै अग्रणी रहेको कुरा यहाँ बसोवास गरिरहेका विभिन्न जात–जाति, जनजाति तथा अन्य मानव समूहले आ–आफ्ना धर्म, संस्कृति तथा चाडपर्व मनाइरहेकोले प्रष्ट हुन आउँछ । यसै सन्दर्भमा यहा नेपालकै महत्वपूर्ण चाड तीज जुन हिन्दु नारीहरूले भाद्र महिनाको तृतीया तिथिमा मनाउने गर्छन् । यसको पछाडि आफ्नै किसिमको कारण र महत्व रहेको छ । यसलाई धार्मिक दृष्टिकोणले हेर्दा सतीदेवीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न प्रत्येक जन्ममा संकल्प गरेको हुनाले अर्को जन्ममा पार्वतीको रूपमा जन्म लिई निराहार व्रत बसी भगवान शिवलाई पतिको रूपमा प्राप्त गरेको किंवदन्ती रहेको पाइन्छ । यसले विवाहित दम्पती बीचको सत्य तथा आन्तरिक सम्बन्ध गहिरो हुने कुरा प्रमाणित हुन आउँछ ।
हाम्रो हिन्दू नारीहरूले हरितालिका तीज मनाउने प्रमुख कारण यो तीजको दिन भगवान शिव र पार्वतीको पुनःमिलन भएको कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ । पार्वतीले भगवान शिवलाई प्राप्त गर्न कठोर तपस्या गरी पृथ्वीमा झण्डै १०७ पटक जन्म लिएकोे कुरा धर्मशास्त्रमा लेखिएको छ । यसरी यो दिन भगवान शिव र देवी पार्वती पति पत्नीको रूपमा आएकाले यो तीजको महत्व हिन्दू धर्मावलम्बीहरूका लागि आफ्नै किसिमको छ ।
हिन्दू अविवाहित नारीहरूले राम्रो उदाहरणीय सुयोग्य वर (पति) पाउने आशामा तीजमा व्रत बसी भगवान शिवजीको मन्दिरमा गई पूजा अर्चना गर्दछन् भने विवाहित नारीहरूले आफू सौभाग्यवती हुने आशामा पतिको सु–सस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बसी भगवान शिवको पूजा गर्दछन् । तीज नेपाली हिन्दू महिलाहरूद्वारा प्रत्येक वर्ष भाद्र महिनाको तृतीया तिथिमा मनाउने गरिन्छ । किनभने तीजलाई नेपालमा धार्मिक सामाजिक तथा सांस्कृतिक चाडको रूपमा लिई नेपाली हिन्दु नारीहरूले पुरै दिन व्रत बसी आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाउँछन् ।
नेपाली हिन्दु नारीहरू तीजको दिन गरगहना तथा विशेषगरी राता साडी कपडाले सुसज्जित भै आफ्ना वुवा आमाको घर अर्थात माइती घर पुग्दछन् र आफ्ना पहिल्यैका साथी भाइहरूलाई भेटी मनको दुखेसो आदि नाँच गानको माध्ययमबाट पनि पोख्दछन् भन्ने कुरा नेपाली समाजमा व्याप्त छ । जेहोस् तीज चाडको महत्वलाई अझै विश्लेषण गर्दा यो अति नै प्रचलित रूपमा नेपाली समाजमा व्याप्त छ । यो नेपाली महिलाहरूको चाड भएता पनि यसमा पुरुषहरू समेत संलग्नभै तीज चाडको आफ्नै किसिमको रमाइलो र आनन्द लिंदै नाँचगानमा संलग्न हुन्छन् ।
यसरी माथि उल्लेख गरे अनुसार तीज पर्वको महत्व पति शिव तथा पत्नी (देवी) पार्वतीको भक्तिसँग सम्बन्धित र यसैको यादगारमा आज पनि विवाहित दम्पत्तीले भगवान शिव र पार्वतीको सम्झनामा दुबै भगवान शिव तथा पार्वतीको पूजा गरी तीज पर्व मनाउने महत्व रहेको पाइन्छ । यसरी हिन्दु नारीहरूले तीजको व्रत रहने क्रममा आफ्नो सुहागको रक्षा गर्नका लागि पतिको चिरायु र दीर्घायुको कामना गर्दछन् ।
हाम्रो छिमेकी देश भारतमा तीज तीन किसिमले मनाइन्छ जस्तै हरियाली तीज जसलाई छोटी तीज पनि भनिन्छ, साउन महिनामा मनाइन्छ, दोस्रो कजरी तीज जसलाई बडी तीज पनि भनिन्छ, हरियाली तीजको १५ दिन पछि पर्दछ र तेस्रो जसलाई हरितालिका तीज भनिन्छ भदौ महिनाको तृतीया तिथिमा मनाइन्छ यो हरितालिका तीज खासगरी नेपाल, भारत र संसारका अन्य देशमा बसोबास गरिरहेका हिन्दु नारीहरूले नै मनाउँदछन् ।
हावापानीको दृष्टिकोणवाट पनि भदौ महिना मनसुन हावाको असरले पानी पर्ने महिना भएकाले नेपाली हिन्दु नारीहरू पानी परेको बेलामा नाँच्ने, गाउने र पिङ खेल्ने आनन्द र मज्जा बेग्लै किसिमको हुन्छन् त्यसैले यो पर्व यो समयमा नै मनाइन्छ ।
तीज पर्वको महत्वले गर्दा पति पत्नी बीचको सम्बन्ध अझै बलियो हुने गर्दछ किनभने पतिले आफ्नो पत्नी निराहार, केही पनि नखाइकन आफ्नै पतिको आयु बृद्धि गर्ने व्रत लिंदा यो देखेर पतिको प्रेम आफ्नो पत्नीप्रति अझै प्रगाढ र गहिरो हुन जान्छ र आफ्नो पत्नी÷श्रीमतीलाई अझै बढी माया प्रेम गरी उपहार, आदि गिफ्टद्वारा खुशी पार्ने गर्दछन् र उनीहरूको जीवन आनन्दित सुखमय र खुशीयालीपूर्ण हुन जान्छ ।
विशेषगरी हिन्दु समुदायमा तीज पर्व मनाउने प्रमुख कारणहरू यस प्रकार रहेका छन् ः
१. हाम्रा हिन्दू नारीहरू एकदमै धार्मिक रूपले ओत–प्रोत भएकाले उत्साही भई तीज चाड पर्व मनाउने गर्दछन् ।
२. महिलाहरू दिन रातभरी खाली पेट निराहार रही व्रत बसेकोले स्वास्थ्यको दृष्टिकोणबाट राम्रो हुने आशाले पनि तीजको महत्व बढी छ र महिलाहरूले यो चाड मनाउने गर्दछन् ।
३. तीज भन्ने शब्द वर्षायाममा माटोबाट निस्कने रातो कीरावाट आएको हो र यो रातो कीरा खेती–पाती, कृषि गरिने जमीनमा अन्नको लागि राम्रो मानिन्छ भन्ने सोचाइ छ ।
४. मनसुन मौसमका लागि स्वागत गर्न हरियाली तीज मनाउने प्रचलन आएकोले यो पर्वको आफ्नै किसिमको महत्व रहेको पाइन्छ ।
५. यो तीजको दिन भगवान शिव र पार्वती पती पत्नीको रूपमा पुनःमिलन भै आएकाले हिन्दु नारीहरूले पनि भगवान शिव र पार्वतीको पूजा अराधना गरी आफ्नो पतिदेवको दीर्घायू र सु–स्वास्थ्यको कामना गर्दै तीज पर्व मनाउने गर्दछन् ।
तीजको अन्तिम दिनलाई ऋषिपञ्चमी भनिन्छ । यो दिन हिन्दू नारीहरूले तीजलाई समापन गर्न पवित्र विरुवाको ३६० पटक दतिवन गरी यसको नदी, माला, ताल, तलैयामा ३६० पटक जल आफ्नो शरिरमा छर्दछन् जसले गर्दा विगतमा गरिएका पाप जस्तै ः पाखा सरेको बेलामा भुलचुकले लोग्ने मानिस आदिलाई छोइएमा पाप नष्ट हुन्छ र पुनः ती महिला चोखिन्छिन्, धार्मिक हुन्छिन् भन्ने मान्यता रहेकोले धेरैजसो विवाहित हिन्दु नेपाली नारीहरूले यो ऋषिपञ्चमी पर्र्व पनि धुमधामसँग व्रत बसी मनाउने गर्दछन् ।
तर आजकाल नयाँ पिढीहरूमा ऋषिपञ्चमी र तीजको महत्व अलि कम भएको हो कि भन्नेतर्फ पनि नेपाली समाज चिन्तित भएको पाइन्छ किनभने नवयुवतीहरूमा पश्चिमेली संस्कृतिको असरले आफ्नो नेपाली सामाजिक संस्कृतिलाई ध्यान नदिई यस्ता तीज आदिमा लिने व्रत आदिलाई छोडेको पनि पाइन्छ । तर नेपाली नवयुवती दिदी बैनीहरूमा मेरो हार्दिक अनुरोध के छ भने कहिल्यै पनि आफ्नो संस्कृति र सामाजिक परम्परालाई छोड्नु हँुदैन । यसले हामीलाई कमजोर पार्दछ र हाम्रो संस्कृति नै लोप हुन जाने, हामी अनुशासनविहीन हुने, र हाम्रो परिचय हराउने जस्तो कुसंस्कृतिको विकास हुन सक्ने संभावना रहन सक्छ । त्यसैले यस्ता किसिमका अवस्थाहरू आउन नदिन हामी सबै नेपाली हिन्दु विवाहित महिलाहरू, अविवाहित नवयुवतीहरूको भूमिका अपरिहार्य रहन्छ । जसले तीज पर्वको महत्वलाई हाम्रो समाजमा पूर्ण रूपमा प्रचार प्रसार गरी अझै धूमधामसँग मनाउने काम गर्नुपर्दछ भन्ने मेरो सोेचाईं रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार