खुल्ला बास्केटबल प्रतियोगिता–सम्पन

मणिग्राम। बास्केटबल तर्फ जिल्लाकै सर्वाधिक पुरस्कार राशीसहित रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा सञ्चालित “अलुम्नाई एशोएिशन राममणि एवम् फ्लायर्सकप दोस्रोे खुल्ला बास्केटबल प्रतियोगिता–२०७५” आज (आइतबार) सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधि सह–आयोजक फ्लायर्स गु्रपको समूह “ए” ले जितेको छ, भने सैनामैना बास्केटबल ग्रुप उपविजेता बनेको छ ।
अलुम्नाई एशोसिएशन राममणि बहुमुखी क्याम्पसका अध्यक्ष गणेश पाठकको सभापतित्वमा भएको समापन कार्यक्रममा विजयी तथा उपविजयी र सहयोगी सबैलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले पुरस्कृत गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख घिमिरेले खेलकुदको विकाशका लागि पूर्व विद्यार्थी र स्थानीय युवाको प्रशंसा गर्दै नगरपालिकाले पनि यथेष्ट बजेट र कार्ययोजना लिएको जानकारी दिनुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले क्याम्पसको सर्वपक्षीय विकाशका लागि पूर्व विद्यार्थीले समेत सघाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्यस्तै क्याम्पस प्रमुख मोहनराज शर्माले क्याम्पसमा चौथो श्रृंखलाको जिल्लास्तरीय फूटबल सँगै बास्केटबलको दोस्रो श्रृंखला सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै प्राज्ञिक विकाश पनि उत्तिकै अघि बढेको जानकारी दिनुभयो ।
गत भाद्र ११ गतेदेखि सञ्चालित प्रतियोगिताको आज (आइतबार) भएको फाइनलमा विजयी हुँदै फ्लायर्सले नगद तीस हजार रूपियाँ सहित शील्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
त्यस्तै प्रतियोगिताको उपविजेता सैनामैना बास्केटबल ग्रुपले नगद बीस हजार रूपियाँ सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजयी समूहका टिम क्याप्टेन श्याम थापा र उपविजयी समूहका टिम क्याप्टेन सुमित छन्त्याल सहितको टिमलाई प्रतियोगिता समापनसँगै पुरस्कृत गरिएको थियो ।
फ्लायर्स गु्रपका कार्यवाहक अध्यक्ष दुर्गा रानाको संयोजकत्व तथा अलुम्नाई एशोसिएशनका सचिव होमप्रसाद पौडेलको सञ्चालन एवम् उपाध्यक्ष विजेश न्यौपानेको स्वागतमा भएको कार्यक्रममा रेफ्रीहरू सम्राट भट्टचन, मनोज गुरूङ्, दिलबहादुर गुरूङ्, र उत्कृष्ट खेलाडी फ्लायर्स गु्रपका प्रकाश गुरूङ्लाई विशेष सम्मानित गरिएको थियो ।
विभिन्न कलेज र क्लब गरी करीब १ दर्जन टिमको सहभागिता रहेको प्रतियोगिता समापनका अवसरमा एन.एम.वि. बैंकका मणिग्राम शाखा प्रबन्धक युवराज पाठक, युवा समाजसेवी रमेश डुम्रे, दिपक भट्टराई, क्याम्पसका सह–प्राध्यापक गोपाल पन्थी, क्याम्पसको कर्मचारी संघका अध्यक्ष उमेशकुमार शाही लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार