एक महिने धार्मिक साउने मेला सकियो

गुल्मी ।धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार प्रसार गर्न गुल्मीको ऐतिहासिक तपोभूमि रेसुङ्गामा लागेको एक महिने धार्मिक मेला सकिएको छ । गुल्मीको सदरमुकाम तम्घासबाट अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म साउने धार्मिक मेलाको आयोजना गरेको थियो । एक महिनासम्म दैनिक धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पूजा आयोजना गरिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए । धार्मिक स्थल रेसुङ्गा तथा यस क्षेत्रमा रहेको पोखरीमा नुहाउन तथा पूजाआज गर्न साउन भर श्रद्धालु भक्तजनहरूको भिडभाड लाग्ने गर्दछ ।
नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मीलगायत छिमेकी जिल्लाहरू बाट पनि श्रद्धालु भक्तजन आउने गरेको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष नवराज भुसालले बताए । साउनभर सञ्चालन हुने मेला अन्तर्गत साउन १ गते, साउने औंशी, एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ । एक महिने मेलामा धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गमा पूजाआज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रूपन्देहीलगायतका नेपालका विभिन्न ठाउँबाट श्रदालु भक्तजनहरू अबलोकन तथा पूजाआजा गरेको रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।
धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडीको यात्रापछि उक्त स्थानमा पुग्न सकिन्छ । केही वर्ष पहिलेवाट तपोभूमि रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गा सबै महत्वले भरिपूर्ण भए पनि पोखरीसम्म पुग्ने बाटो पक्की भए अझ बढी पर्यटक आउने स्थानीय बताउँछन् । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरूमा दैनिक पूजा हुने गर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार