तरकारी खेतीबाटै लखपति

  • ‘२ पाथी जौं—मकैै उब्जिने बारीमा तरकारी रोप्दा १५ लाख आम्दानी’
  • कपिल ज्ञवाली/
    बुटवल। गुल्मी छत्रकोट गाउँपालिकाका कृषकहरू अन्नबाली छाडेर तरकारी खेतीमा आकर्षित भएका छन् । छत्रकोट ४ श्रृङ्गा रुक्सेका किसान रामकृष्ण कंडेलले आफ्नो बारीमा जम्मा चारपाथी जौ स्याहारेको इतिहास सुनाउँछन् ।
    अहिले उनले त्यही बारीबाट १५ लाख वार्षिक आम्दानी गर्ने गरेका छन् । कंडेलले ४५ रोपनीको बारीमा थरीथरीका तरकारी तथा फलफूल लगाएर व्यवसायिक बनेका हुन् ।
    उनी भन्छन्– ‘चार वर्ष अघिसम्म बारीमा मकै, गहुँ, कोदो, जौं रोप्दा घरमा खान पनि पुग्दैन थियो अहिले टमाटर, सिमी, बोडी, तितेकरेला, सिस्नो, भुटुक, खुर्सानी, अमिलो, सुन्तला रोपेकोले पैसाको कुनै दुःख छैन ।’
    ४ वर्षदेखियता व्यवसायिक कृषिकर्म थालेपछि गतसाल १२ लाख आम्दानी गरेका थिए । उनी गुल्मी जिल्लामा सबैभन्दा बढी तरकारी उत्पादन गर्ने किसानका रूपमा पुरस्कृत भैसकेका छन् ।
    ‘अन्नबाली लगाउँदा भन्दा अहिले तरकारीबाट मैले ९५ प्रतिशत बढी आम्दानी गरेको छु, यही बारीबाट गतसात १२ खाद कमाए, यो पटक १५ लाख कमाउने लक्ष्य छ’, कंडेलले सुनाए– ‘बाहिरका मान्छे काममा लगाउन परेको छैन, घरपरिवार सदस्यकै सहयोगबाट सहजै १२—१५ लाख कमाउन सकिन्छ ।’
    उनले आफूले विदेशिएका युवालाई पनि घर फर्केर खेतीकिसान गर्न सुझाव दिए ।
    उनीमात्रै होइन गुल्मी छत्रकोट गाउँपालिकाका किसानहरू आत्मनिर्भर बनिसकेका छन् । बजार र उत्पादित बस्तुका भाउको बारेमा किसानलाई कुनै चिन्ता देखिँदैन, बारीमै पुगेर उत्पादित वस्तु खरिदको काम किसानको सारथीको रूपमा काम गरिरहेको पैचो पसलले लिइरहेको किसानहरू बताउँछन् ।
    ‘हामीलाई कुनै चिन्ता छैन, तरकारी र फलफूल उत्पादन गरे बजारमा लैजान गाडी घरमै आउँछ,’ स्थानीय रमेश परियारले सुनाए ।
    छत्रकोट १ का हुंगाका २५ बर्षिय भुवन खरालले बारीभरी २२ हजार खुर्सानी रोपेका छन् । उनले ९ रोपनीमा टमाटर र १२ रोपनीमा खुर्सानी रोपेर खुर्सानी कृषकको रूपमा पहिचान बनाएका छन् ।
    ‘बार्षिक १० हजार तिर्नेगरी लिजमा जग्गा भाडामा लिएर मैले एक्लैले बारीभरी खुर्सानी रोपेको छु यसबाट मनग्ये आम्दानी हुन्छ,’ खरालले भने ।
    छत्रकोट १ कै लक्ष्मीनारायण न्यौपानेले आफूहरूको खेतीपातीमा सरकारले कुनै प्रकारको सहयोग नगरेको गुनासो सुनाउँछन् । कृषकलाई प्रोत्साहन र अनुदानको नीति ल्याउनुपर्ने ६२ बर्षिय न्यौपानेको उनको भनाइ छ । ‘हुने खानेले नै सरकारले दिने अनुदान हत्याउँछन्, हाम्रो बारेमा सरकारले कुनै पनि सोच बनाएन, दुखसुख गरेर काम गरेका छौं,’ उनले भने ।
    स्थानीय रमेश परियारले पहिलोपटक व्यवसायिक रूपमा तरकारी खेती थालेको बताए । उनको बारीमा आँप, कटहर, खुर्सानी, टमाटर, काँक्रो भरिभराउ छ । छत्रकोट १ हुंगाका २५ बर्षिय लक्ष्मण न्यौपानेले ६ हजार ५ सय टमाटर र १० हजार काउली रोपेका छन् । उनले गतवर्ष १५ लाखको तरकारी बेच्दा ९ लाख बचत भएको बताए ।
    छत्रकोट १ का वडाध्यक्ष धातानन्द भण्डारी भन्छन्– ‘छत्रकोटका किसानहरूकै पक्षमा आफूहरूले नीति बनाएको र किसानको आम्दानी हेरेर पेन्सन पनि दिने योजना छ ।’
    ४ वर्षदेखि पहाडी क्षेत्रका किसानको सारथीको रूपमा काम गरिरहेको पैचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले पैचोमा ४ सय जनाले प्रत्यक्ष रोजगारी पाएको र अहिलेसम्म २२ करोड बराबरको लगानी बिस्तार गरिएको बताए । ‘पैंचोका १८ शाखा र ३६ वटा संकलन केन्द्र संचालनमा छन्, किसानहरूलाइ व्यवसायिक बनाउने आफूहरूको मुख्य प्राथमिकता हो,’ उनले भने । कृषकले उत्पादन गरेका बस्तुहरूले बजार नपाएर कुहिने र मूल्य नपाउने अवस्थाको अन्त्यका लागि गरिएको प्रयास सकारात्मक मान्न सकिन्छ । आफ्नै पौरखमा बाँचेका किसानलाई राज्यले सही ढंगले अनुदान, मल बिउ उपलब्ध गराउन सक्ने हो भने किसानहरू स्वरोजगार र आत्मनिर्भर बन्न थप टेवा पुग्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार