गीतकार ईन्स्पेक्टर

सीता डोटेल/
पाल्पा। मानिसले आफूमा निहित प्रतिभालाई यदि उचित अवसर र मौका पायो भने सँगसँगै लैजान सक्दो रहेछ भन्ने कुरा नेपाल प्रहरीमा सेवारत रही गीतसंगीतमा होमिएका गीतकार ईन्स्पेक्टर भोजराज पाण्डेले चरितार्थ गरेका छन् । नेपाल प्रहरी जस्तो अत्यन्त व्यस्त रहनु पर्ने संगठनको अधिकृत स्तरको सरकारी जागिरेले व्यस्तताका बीच समय निकालेर गीत रचनामार्फत् प्रहरी अधिकृतको अलावा आफूलाई एउटा सफल गीतकारको रूपमा समेत उभ्याउन सफल भएका गुल्मेली गीतकार ईन्स्पेक्टर पाण्डेय अहिले पनि कुनै न कुनै बखत गीत कोर्ने गर्दछन् ।
उनको पहिलो गीत ‘‘बिते कति रात’’ धेरै नेपाली स्रोता तथा दर्शकमाझ लोकप्रिय बनेको छ । म्युजिक भिडियोसमेत बजार ल्याएका गीतकार पाण्डेको यस गीतमा अहिलेकी लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको छ । चर्चित कलाकार शाखा खड्का र अमन श्रेष्ठको मुख्य भूमिका तथा नवीन श्रेष्ठको संगीत रहेको यस गीत दर्शकहरूको रोजाइमा पर्न सफल भएको छ । विशेष गरी लाखौंलाख नेपाली युवाहरू रोजगारको सिलसिलामा विदेशिनु पर्ने र आफ्नो प्रेमी वा प्रेमिका वा आफन्तजन उसको अभावमा कसरी दिन रात बिताइरहेका छन् भन्ने कुरा यस गीतले व्यक्त गरेको छ । रोजगारको अभावमा आफूबाट टाढा हुन बाध्य प्रेमी र प्रेमिका बीचको प्रेम अभावमा काटिएका पीडादायी रातहरूलाई यस गीतले उजागर गरेको गीतकार पाण्डेयले बताए ।
सानैदेखि गीत, कविता लेख्न भन्न मन पराउने गीतकार पाण्डेले जागिरे जीवन घरपरिवार र जागिरको दौरान आफन्तीको मायामा उब्जिएका भावनालाई गीत मार्फत व्यक्त गरेका छन् । प्रेयसी म्युजिक प्रा.लि. ले उ m गीतलाई म्यूजिक भीडियोसहित युट्युव मार्फत बजारमा ल्याएको हो ।
चर्चित संगीतकार दीपक शर्माले संगीतबद्ध गरेको र उदियामान गायक बिक्रम राईको स्वरमा स्वरबद्ध रहेको उनले रचना गरेको दोश्रो गीत ‘घुम्टो ओढी नबस है’ मा नेपाली स्थान विशेष र गाउँबेशीहरूमा प्रख्यात रहेका शब्दहरूलाई टपक्क टिपेर गीतमार्फत नेपाली श्रोताहरूमा पस्कने काम उनले गरेका छन् । नेपाली गीतहरूमा देखिने गरेको मौलिक शब्दको खडेरीलाई सम्बोधन गर्दै उक्त गीतमा पाण्डेयले पश्चिम नेपालमा चल्तीमा रहेका शब्द र प्रसिद्ध स्थानहरूको चयन गरेका छन् । विशुद्ध नेपाली मौलिक शब्दहरूलाई उन्ने काम गरिएको यस गीतमा काली तीर, राङ्के भीर र टारीखेत जस्ता गाउँले शब्दहरूको समिश्रण रहेको छ भने टिपिकल डान्सिङ भावसमेत गीतमा पाउन सकिन्छ । हाल अडियोका रूपमा बजारमा आएका यो गीत धेरै श्रोताहरूले मन पनि पराएका छन् । प्रविधिको विकासको दुनियाँमा छिट्टै नै भिडियोको रूपमा पनि यस गीतलाई नेपाली संगीत बजारमा ल्याउने तयारीमा रहेको निरीक्षक पाण्डेय बताउँछन् ।
जागीरकै दौडान विभिन्न ठाँउमा रहेर देशको सेवा गरेका पाण्डेय २ महिना अगाडि पाल्पाको ईलाका प्रहरी कार्यालय रामपुरमा प्रमुखको रूपमा आएका हुन् । प्रहरी निरीक्षक पाण्डेयले पछिल्लो पटक आफू कार्यरत पाल्पाको सेरोफेरोलाई समेटेर ‘रामपुरमाथि राम्चे वनमा कोइली चरी डुल्छ’ नामक गीत रचना गरेका छन् ।
जागीरको सिलसिलामा रूपन्देही, तनहुँ जिल्ला लगायत लामो समय काठमाडौंमा सेवामा तल्लिन रहेका पाण्डेय भन्छन्– ‘चाहेको खण्डमा असम्भव केही छैन ।’ राष्ट्र र जनताको सेवाको निम्ति अहोरात्र खटिई त्यस बीचमा अलिकति समय निकालेर गीत रचनाको माध्यमबाट आफूलाई गीतसंगीतबाट समाज सेवामा समेत प्रवेश गराएका छन् । प्रायः साँझको समयमा गीत लेख्न र गुनगुनाउन मन पराउने पाण्डेय कति पटक त गीत कोर्दाकोर्दै फोन आएपछि फिल्डमा जानुपर्ने अवस्था आएको भेटमा बताए । कार्यक्षेत्रको दौरान कानून कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने खरो स्वभावका उनले रचना गरेका गीतहरूमा भने अत्यन्त मार्मिक र मन मुटु छुने गरी आफ्ना भावनाहरू अभिव्यक्त गरेका छन् ।
प्रविशा अधिकारीको स्वरमा र नवीन श्रेष्ठले संगीतबद्ध गरेको उनको तेश्रो गीत ‘आँखाभरि आँशु लिई’ अडियो बजारमा आएको छ । अत्यन्त मार्मिक र आफ्नो आफन्तजनको बिछोडमा एउटी नारीले के–कस्ता पीडाका भाव व्यक्त गर्दछिन् भन्ने कुरा उक्त गीतको रचनामा पाइने बताउँछन् गीतकार पाण्डेय । विदेशमा रोजगारीको सिलसिलामा रहेको आफ्नो सहारा माथि विपत्ती पर्दा स्वदेशमा रहेका आफन्तजनहरूलाई पर्ने पीडाभावले ओतप्रोत उक्त गीतलाई प्रेयसी म्युजिक प्रा.लि. ले भिडियोको रूपमा छायांकन गरी बजारमा ल्याउने काम गरिरहेको उनले बताए । आगामी भदौ पहिलो हप्तामा युट्युव मार्फत नेपाली दर्शकहरूले आँखा भरी आँशु लिई गीत सुन्न, हेर्न सक्ने निरीक्षक पाण्डेयले बताए ।
उनले रचना गरेका ‘आंधी र हुरी ठण्डी र गर्मी भन्दैन क्यै गरी’ यो प्रहरी गीत हो । संगीतकार दिपक शर्माले संगीत भर्नेछन् भने केही समयपछि रेकर्डिङ हुने गीतकार पाण्डेले जानकारी दिए । ‘धोका दियौ तिमीले माया गर्छु भनी’ साथै ‘प्यासको भोको म देखेनौ र मलाई’ र पछिल्लो लेखन रहेको ‘रामपुर माथि राम्चे वनमा कोइली चरी डुल्छ’ नामक गीतहरू ट्युनिङ पश्चात मिक्सिङको क्रममा रहेका छन् र ती गीतहरूमा पुराना संगीतकार नविन श्रेष्ठकै संगीत रहने निरीक्षक पाण्डेयले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार